इनरुवा । इनरुवाका संस्थापकहरुको सालिक स्थापनाका लागि इनरुवा नगरपालिकाले सवै राजनीतिक दलको सर्वदलीय धारणा लिने भएको छ ।
इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीका अनुसार इतिहासका निर्माताहरुको सालिक नगरक्षेत्रमा राख्नका लागि उहाँहरुकै परिवारबाट प्रस्ताव आएपछि नगर कार्यपालिकाबाट निर्णय लिनु अगाडि नगरक्षेत्रमा रहेका सवै राजनीतिक दलको साझा धारणाका आधारमा निर्णय गरिने बताए ।
उनले इनरुवा स्थापनाका निम्ती अगुवाई गरि महत्वपुर्ण योगदान दिनु भएका दिलबहादुर श्रेष्ठ सानेबाबु, होमबहादुर श्रेष्ठ ठुलेबाबुको सम्मानका लागि स्थापना गरिने सालिक जथभावी राख्दा भोलीका दिनमा असन्तुष्ट रहेका कुनै राजनीतिक दल वा समुहले तोडफोड, मानमर्दन गरेको खण्डमा राख्नुको औचित्य माथि प्रश्न उठने भएकाले सर्वदलीय सहमतिका आधारमा निर्णय गर्न लागिएको स्पष्ट पारे ।
शालिक भनेको इतिहास, योगदान र राजनीतिसँग जोडिएका बिषय भएकाले नगरपालिकाले मात्रै एक्लै हल्का फुल्का रुपमा निर्णय गरेर स्थापना गर्दा भोली विवाद आउने अवश्था रहने भएकाले एकपटक सवैको राय सल्लाह सुझाव सहमति लिएर सर्वसम्मतिका आधारमा निर्णय लिए दिगो भरपर्दो हुने भएकाले सर्वदलीय बैठकमा एजेण्डा लैजाने लागिएको मेयर भण्डारीले बताए ।
मेयर भण्डारीले जनस्तरमा जाने राजनीतिक दलले आवश्यकता र औचित्यका आधारमा लिने निर्णयले नगरपालिकालाई सहज हुने बताए ।
सुनसरी जिल्लाको सदरमुकामलाई इनरुवामा स्थापना गर्न राणाकाल, पञ्चायकालमा राजा र राणाहरुसँग प्रत्यक्ष रुपमा प्रस्ताव लैजाने दिलबहादुर श्रेष्ठ सानेबाबु, होमबहादुर श्रेष्ठ ठुलेबाबुको सम्झना र सम्मानका लागि परिवारका तर्फबाट क्याविनेट श्रेष्ठ, सुसन श्रेष्ठ र कविन श्रेष्ठले सालिक निर्माण गरि पार्क बनाउने प्रस्ताव गरेका छन ।
श्रेष्ठ परिवारले आफ्नै खर्चमा स्थापनाका लागि पहल थालिएको प्रगना भालाभलेनी मौजे झोडाका जिमिन्दार धनबहादुर श्रेष्ठका छोरा दिलबहादुर श्रेष्ठ सानेबाबु, होमबहादुर श्रेष्ठ ठुलेबाबुले इनरुवालाई प्रशासनिक केन्द्र, राजनीतिक केन्द्र, आर्थिक व्यापार व्यवसायको केन्द्र, विकासको केन्द्र, शिक्षाको केन्द्र, स्वास्थ्यको केन्द्र बनाउनका लागि अगुवाई गरेका थिए ।
हालको इनरुवाको मुख्य बजारमा व्यापारीहरुलाई २ कठ्ठा १० धुरका दरले जग्गा उपलध गराएर व्यापार व्यवसाय संचालन गर्न श्रेष्ठ परिवारले विभिन्न स्थानबाट इनरुवामा बोलाएर ल्याएका थिए ।