इनरुवा । इनरुवाबाट भारतमा लगि युवती बिक्री गर्ने गिरोहका चारजनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भारतमा मासिक ६० हजार कमाई हुने लोभ देखाएर मोरङ घर भएका तीन जना युवतीलाई इनरुवा २ टेम्पो स्टेण्डमा बोलाएर बिक्रीका लागि भारत लैजाने क्रममा गिरोहका चारजना पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय इनरुवाका प्रहरी उपरिक्षक कमल थापाका अनुसार पक्राउ पर्नेमा इनरुवा नगरपालिका वडा नं ८ का सचिन मेहता, विराटनगर १७ का बरुणकुमार मण्डल, भारत अरिरिया चहटपुर ७ का दिलिपकुमार साह, भारत अररिया चहटपुर १० का दिलिप यादव रहेका छन ।
प्रहरी उपरिक्षक थापाले चारजना अभियुक्तहरुले भारतमा तीन जना युवतीहरुलाई राम्रो कमाईन्छ, महिनाको ६० हजारसम्म कमाई हुन्छ भन्ने लोभ देखाई कार्तिक १७ गते इनरुवा १ स्थित टेम्पो स्टेण्डमा वोलाएको अनुसन्धानमा खुलेको जनाएका छन ।
इनरुवा आएका युवतीहरुलाई टेम्पो स्टेण्डमा नजिक रहेको मिनी हाइवे होटलमा राती राखेर बिहान कार्तिक १८ गते भारत लैजानका लागि विराटनगरतर्फ जाने सवारी साधनमा राखी लैजाने क्रममा गढी गाँउपालिका स्थित भमरी चौकबाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक थापाले बताए ।
शंकास्पद अवश्था देखिएपछि प्रहरीले चेकजाँच गरी सोधपुछ गर्दा युवतीसहित चारैजना अभियुक्तहरु औरावनीबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इनरुवा ल्याईएको उपरिक्षक थापाले बताए ।
पक्राउ परेका दुईजना भारतीय नागरिक र दुईजना नेपालीलाई मुलुकी अपराध संहिता २०७४ वमोजिम मानववेचविखन तथा ओसारपसार सम्बन्धी अभियोगमा सुनसरी जिल्ला अदालतवाट म्याद थप गरी कारवाही सुरु गरिएको छ ।