इनरुवा । इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०७९।०८० को लागि अनुमानित ७४ करोड बराबरको बजेट पेश गरेको छ ।

सार्वजनिक वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरको अनुमानित वार्षिक बजेट ७३ करोड ९३ लाख ३९ हजार ४ सय १० रहेको छ ।

उपप्रमुख बिनिता कुमारी मेहताद्वारा प्रस्तुत बजेटमा संघीय समानिकरण अनुदान १९ करोड ४७ लाख, संघीय शसर्त अनुदान २७ करोड ३६ लाख, संघीय समपुरक अनुदान चालु तर्फको अनुदान ५० लाख र संघीय विशेष अनुदा ७० लाख उल्लेख छ ।

त्यसैगरी प्रदेश समानिकरण अनुदान १ करोड ८ लाख ८९ हजार, प्रदेश समपुरक अनुदान १ करोड, प्रदेश शसर्त अनुदान २३ लाख ९४ हजार, संघीय राजश्व बाँडफाड १२ करोड ४६ लाख ३८ हजार, प्रदेश राजश्व बाँडफाड(सवारी कर) ८६ लाख ३३ हजार ४ सय दश, प्रदेश सरकार समपुरक अनुदान १ करोड २६ लाख ८५ हजार रहेको छ ।

वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मेहताले नगरको समुन्नत बिकास लक्षित योजना तथा कार्यक्रम बजेटमा समावेश गरिएको बताइन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा नगरको बजेटका प्राथमिकतामा ६ बुँदा समावेश गरिएको छ । जसमा शैक्षिक क्षेत्रलाई गुणस्तरीय एवं प्रविधिमैत्री बनाइने, नगर क्षेत्रको आधारभूत पूर्वाधार निर्माण गरिने, फोहोरमैला व्यवस्थापन, प्रकोप न्युनिकरण तथा वातावरण संरक्षणलाई जोड दिइने उल्लेख छ ।

यस्तै व्यवसायिक कृषि, पशुपालन तथा आज आर्जनका कृयाकलाप विस्तार गरिने, संस्थागत क्षमता अभिवृद्धिका लागि जनशक्ति विकास तथा सेवा प्रवाहकालागि आधारभूत पूर्वाधार निर्माण गर्ने र मापदण्ड अनुसारको भौतिक पूर्वाधार विकास र नीतिगत सुधारमा ध्यान दिइने विषय नगरको प्राथमिकतामा समावेश छ ।

व्यापारिक,व्यवसायिक, कृषिजन्य तथा पर्यटकीय क्षेत्रलाई सुदृढ र व्यवस्थित गरी आर्थिक कृयाकलाप विस्तार गर्ने उद्येश्य बोकेको इनरुवाले २०७९।८०को नीति तथा कार्यक्रममा गौरबको आयोजनाका रुपमा इनरुवा १ मा रहेको शिव मन्दिर र इनरुवा २ को दुर्गा मन्दिरलाई समावेश गरेको छ ।

त्यसैगरी दलित विपन्न तथा सिमान्तकृत परिवारका विद्यार्थीलाई डाक्टर, इन्जिनियर, नर्स लगायतका प्राविधिक शिक्षा अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले नगर प्रमुुख छात्रवृती कार्यक्रमलाई अघि बढाउने उल्लेख छ । जसलाई समेत नगरले गौरबको अयोजना नाम दिएको छ ।

यसैगरी उपप्रमुख शैक्षिक प्रोत्साहन कार्यक्रमलाई समेत नगरको गौरबको आयोजना नाम दिइएको छ । जस कार्यक्रम अन्र्तगत लक्षित वर्ग र समूदायका १० कक्षा उर्तीण छात्राहरुलाई प्रोत्साहन वापत साइकल उपलब्ध गराइने बताइएको छ ।

सहज स्वास्थ्य, सहज उपचार, मातृशिशु कार्यक्रम, दिर्गरोगीलाई घरमै औषधी जस्ता कार्यक्रमलाई अघि बढाइने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
वार्षिक कार्यक्रममा जेष्ठ नागरिक मिलन केन्द्र निर्माण गरिने समेत उल्लेख छ । उक्त कार्यक्रमलाई समेत इनरुवाले नगरको गौरब आयोजनाका रुपमा अघि सारेको छ ।
अपाङ्गता, वैदेशिक रोजगार जाने युवा लक्षित कार्यक्रम, साक्षरता कार्यक्रम, स्थानीय तहमा रोजगारीको अवसर खोजी र निशुल्क शव वाहनको व्यवस्था जस्ता कार्यक्रमलाई नगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेटेको छ ।

कृषि, सहकारी, वन तथा वातावरण, विपद् व्यवस्थापन, सुशासन र संस्थागत विकास, कला साहित्यका साथै जातजाति तथा भाषा संस्कृतिको संरक्षण तथा संवद्र्धन लगायतका सवालमा समेत आवश्यकताका आधारमा यथेष्ट कार्यक्रम र बजेट खर्चिने उपप्रमुखको वक्तव्यमा उल्लेख रहेको छ । कार्यक्रममा बाँकी बकयौता समेत फरफारक गरिने उल्लेख छ ।

वार्षिक नीति तथा कार्यक्रममा खुल्ला जिमखाना संचालनमा ल्याइने, बजार तथा कार्यालय लक्षित सीसी क्यामेरा जडान, सार्वजनिक स्थानमा फ्रि वाइफाइ जडान, इनरुवा ४ मा रहेको कृषि थोक बजारमा आधुनिक संरचना निर्माण गरी प्रदेशकै नमूना बनाइने जस्ता कार्यक्रमलाई समेत नगरले वार्षिक योजनामा समेटेको छ ।

वार्षिक कार्यक्रममा व्यापारिक करमा छुट दिइने, रात्रिकालीन बजारको व्यवस्था मिलाइने, हरित नगरको निर्माण, उचित पार्किङ जस्ता योजना तथा कार्यक्रम समावेश रहेको छ ।

यसैबिच कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख केदार भण्डारीले हौसियर भन्दा पनि मितव्ययी तवरले बजेट निर्माण गरिएको बताए । उनले विगतको घाटा बजेटलाई ख्याल गरी नीति तथा कार्यक्रम तय गरिएको बताए ।

भण्डारीले ठूलो आकारको बजेट ल्याउनु भन्दा पनि उपलब्ध स्रोतसाधन र अनुदानलाई ध्यानमा राखी बजेट ल्याएका बताए ।

भण्डारीले बजेटले नगरका सबै क्षेत्रलाई समेटेको समेत बताए । क्रमागत रुपमा योजना अघि बढाइने बताएका भण्डारीले समृद्ध नगरको परिकल्पना साकार पार्न प्रस्तुत नीति तथा कार्यक्रम फलिफाप सिद्ध हुने बताए ।

भण्डारीले प्रस्तुत नीति, कार्यक्रम तथा बजेट नगर सभाबाट स्विकृत भैसकेको समेत जानकारी दिए ।

बजेट प्रस्तुत कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौला, वडाअध्यक्ष प्रमोद पोखरेल, सुमन थापा, रमेश श्रेष्ठ, बौवालाल मेहता, कार्यपालिका सदस्य रन्जु पौडेल लगायतले बोलेका थिए ।

अघिल्लो लेखमाइनरुवा नगरपालिकाको तीन दर्जन मोटरसाईकल दुरुपयोग
अर्को लेखमासुनसरीका सेवानिवृत्त १ सय ५० कर्मचारी सम्मानित

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्