इनरुवा । उद्योग वाणिज्य संघ इनरुवामा निर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम निर्वाचन भएको एक महिनासम्म नहुँदा व्यापारीहरु असन्तुष्ट बनेका छन ।
संघको निर्वाचन भएको एक महिना बितिसक्दासमेत निर्वाचन समितिले निर्वाचित भएका संघका पदाधिकारी तथा कार्य समितिका सदस्यहरुलाई प्रमाणपत्र नदिएपछि असन्तुष्ट बनेका हुन ।
उद्योग वाणिज्य संघ इनरुवाको २०७९ माघ २६ गते भएको निर्वाचनबाट अध्यक्षमा विरेन्द्र साहसहितका पदाधिकारी तथा कार्य समितिका सदस्यहरु निर्वाचित भएका थिए ।
दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष विरेन्द्र साहले औपचारिक कार्यक्रमको आयोजना गरि सपथग्रहण तथा पदभार समारोहको आयोजना गर्न आमन्त्रण गरिएका प्रमुख अतिथिले समय दिन नसकेकाले ढिलाइ्र्र भएको बताए ।
उनले भने, ‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रमुख अतिथिका लागि निमन्त्रणा गरिएको थियो । उहाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा व्यस्त भएकाले आउन सक्नु भएको छैन । उहाँले समय दिनेसाथ सपथ ग्रहण कार्यक्रम गर्ने छु ।’
साहले उद्योग वाणिज्य संघ इनरुवाको विधानमा सपथ ग्रहण गराउनु पर्छ भन्ने लेखिएको छैन । विधानमा नभएको सपथग्रहण गराउन आवश्यक पनि छैन । आउँदो शुक्रवार निर्वाचन समितिले निर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यहरुलाई प्रभाणपत्र दिने कार्यक्रम राखिएकाले साथीहरुको असन्तुष्टी सम्बोधन हुनेछ ।
संघको निर्वाचनबाट उपाध्यक्षमा गिरीराज अटल, सचिवमा मनोज जैन, सहसचिवमा गौतम झा, कोषाध्यक्षमा उमेशकुमार गुप्ता निर्वाचित भएका थिए ।
यसैगरि कार्य समिति सदस्यमा अमरेन्द्रकुमार मेहता, किरण श्रेष्ठ, प्रविण श्रेष्ठ, प्रितम अटल, विक्रमकुमार पोद्धार, विरेन्द्रकुमार साह, शिवकुमार यादव, सिताराम चौधरी, महिला सदस्यमा निराकुमारी पोखरेल र रितादेवी साह निर्वाचित भएका थिए ।