इनरुवा । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा एउटै एजेण्डा बन्यो इनरुवा–कौवाखोच सडक निर्माण ।
सोही सडक निर्माणको नाममा नेपाली कांग्रेसबाट सिताराम मेहता दुई पटक संघीय सांसदमा निर्वाचित भएर गए भने तत्कालिन नेपाली कांग्रेस सुनसरीका सभापति राजिब कोइराला प्रदेशसभामा साढे तीन वर्ष प्रमुख प्रतिपक्षी दलको नेता र बाँकी समय सत्तापक्षका मुख्य नेता बने ।
मेहताको दुई कार्यकाल र कोइरालाको एक कार्यकालमा सो सडक निर्माणको स्थानीयहरुको चाहना पुरा हुन सकेन । सुनसरीको दक्षिण क्षेत्रका बासिन्दाको लागि लाईफलाईन र सदरमुकामसँग जोड्ने एकमात्रै बाटो भएकोले सो बाटोको निर्माणलाई स्थानीयले मुख्य चुनावी मुद्दा बनाएका थिए ।
दश वर्षको अवधीमा पनि उनीहरुको भावना इनरुवा–कौवाखोच सडक निर्माणको माग पुरा हुन नसकेपछि गत मंसिरमा भएको निर्वाचनमा स्थानीयले आफ्नो जनप्रतिनिधि नै फेरे ।
मेहता र कोइराला पुनः उम्मेदवार बनेका थिए तर स्थानीयहरुले दशवर्षसम्म आफूहरुको माग पुरा गर्न नसकेको भन्दै विकल्प खोज । जनताले नेकपा एमालेका केन्द्रीय नेता भीमप्रसाद आचार्यलाई प्रतिनिधिसभा र रामप्रसाद मेहतालाई प्रदेशसभामा निर्वाचित गराएर आफ्नो असन्तुष्टी जाहेर गरे ।
आचार्य र मेहता निर्वाचित भएको पनि चार महिना वितिसकेको छ तर स्थानीयको चाहनाअनुसार अझै सो सडक खण्ड निर्माणको काम सुरुवात हुन सकेको छैन । सो सडक खण्ड निर्माणको लागि ठेक्का लागिसकेको छ । ठेक्का लिएर काम नगर्ने विषयमा ख्याती कमाएको भूमी कन्ट्रक्सनले सो ठेक्का पाएको छ । तर उसले अहिलेसम्म कामको सुरुवात गर्न सकेको छैन ।
ठेकेदार कम्पनीले निर्माणको कामको सुरुवात नगर्दा स्थानीयहरुलाई फेरि अझै कति समय कष्टकर यात्रा गर्नु पर्ने हो भन्ने चिन्ताले सताउन थालेको छ ।
यसक्रमा इनरुवा नगरपालिका वडा नं–१० जल्पापुरका स्थानीयहरुको दिनचर्या नै बन्न थालेको छ । जिर्ण बनिसकेको इनरुवाबाट देवानगंज गाउँपालिकासम्म जोड्ने कौवाखोज सडक निर्माणको लागि दवाव दिन सडक जाम गर्ने ।
जिर्ण सडकमा बाक्लै सवारी साधन गुड्दा धुलो उडेर घरमा बस्नै नसक्ने स्थिति र स्वास्थ्य समस्या देखिन थालेपछि उनीहरुले दवाव र तत्कालिन समाधानका लागि सडक जामलाई आफ्नो दैनिकी बनाएका हुन ।
लामो समयदेखि धुलो खाँदै आएको र स्थानीय, प्रदेश तथा संघीय सरकारले आश्वासन मात्र दिएको कारण स्थानीहरुले आइतबार बाध्य भएर उक्त सडक जाम गरेको तर्क गर्ने गरेका छन ।
यस अघि इनरुवा नगरपालिका वडा नं–९ का स्थानीयहरुले उक्त सडक पटकपटक जाम गर्दै आएका थिए ।
सडक जाम भएपश्चात जनप्रतिनिधिहरू गएर आश्वासन दिए तर सडक बनाउन कुनै पहल नगरेको उक्त सडलाई जनप्रतिनिधिहरूले चुनावी एजेण्डाको रुपमा मात्र लिएको स्थानीयहरुको गुनासो छ ।
सडक जाम भएपछि जनप्रतिनिधिहरूले सडकमा पानी छर्किन लगाएर गायब हुनेगरेको स्थानीयहरुको गुनासो छ ।
कौवाखोज सडकको अवस्था अहिले यस्तो दयनीय अवस्थामा पुगेको छ कि सो सडक हुँदै ठूला सवारी साधनको त कुरै छौडौं, साइकल, सिटी रिक्सासमेत चलाउन समस्या हुने गरेको स्थानीय सुनिल शर्मा बताउँछन ।
धुलोको कारणले मानव जीवनमा असर परिरहको र सम्बन्धित निकाय मौन भएको कारणले पटक–पटक सडक जाम गरेर सम्बन्धित निकायलाई घचघच्याउने प्रयास गरिरहेको शर्माले जानकारी दिए ।
उक्त सडकलाई आफ्नो प्रमुख चुनावी एजेण्डा बनाएर ‘आफ्नो कार्यकालमा जसरी पनि पुरा गर्ने’ प्रतिबद्धता गर्दै भोट आएका पूर्व राज्य मन्त्री सिताराम मेहतालाई दुई–दुई पटक यसै क्षेत्रका जनताले निर्वाचित गराएका थिए ।
मेहताले यो कौवाखोज सडक बनाउन त के मर्मत सम्भारमा समेत ध्यान नदिएकै कारणले २०७९ को प्रतिनिधि सभा सदस्य पदमा पराजय भोग्नुपरेको स्थानीय बताउँछन् ।
सिताराम मेहता १० वर्षसम्म सांसद रहँदा समेत यो सडक अझै बन्न सकेन । मेहता १० बर्षसम्म सांसद रहँदा बन्न नसकेको सडक बनाउन एमाले नेता भीम प्रसाद आचार्यले पहल गर्छन कि भन्ने आश गरेका स्थानीय अहिले निरास हुन थालेका छन ।
मेहतालाई दुई–दुई पटक सांसद बनाएर पठाउँदा नगरेका कामहरू एमाले नेता आचार्यले गर्छ भन्ने आशाका साथ सुनसरी निर्वाचन क्षेत्र नं–२ का जनताले आचार्यलाई जिताएर पठाए । तर आचार्यले पनि उक्त सडकको ’boutमा खासै चासो नदेखाएको स्थानीयहरुको गुनासो छ ।
स्थानीय भन्छन“ जे का लागि पुरानो फालेर नयाँ ल्यायौं त्यो पनि काम नलाग्ने रैछ ।,‘ चुनावभन्दा अगाडि ठुल्ठुला सपना देखाएर अनुहार देखाउन पनि आएका छैनन ।
स्थानीयहरु आफूहरुले पुरानाले गरेनन भनेर नयाँलाई प्रतिनिधि बनाएको भन्दै नयाँ पनि पुरानैको शैलीमा प्रस्तुत हुन थालेपछि अब कसप्रति आशा र विश्वास गर्नु भन्दै निराशा ब्यक्त गर्न थालेका छन ।