इनरुवा । जनप्रतिनिधिहरुको असन्तुष्टीका कारण स्थागित भएको इनरुवा नगरपालिकाको दशौं नगरसभा विविध प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
मेयर केदार भण्डारीका अनुसार दशौं नगरसभाले सभा सम्मेलन, गोष्ठी, भेला, भ्रमण लगायतका कुनै पनि कार्यक्रममा इनरुवा नगरपालिकाको खर्च नगर्ने निर्णय गरेको छ ।
उनले नेपाल सरकारले २० प्रतिसत खर्च कटौती गर्न दिएका निर्देशनअनुसार चालु र सञ्चालन हुन बाँकी रहेका योजना, नीति तथा कार्यक्रममा मितब्ययिता अपनाउँदै कमभन्दा कम खर्चमा भौतिक पूर्वाधारण विकास लगायतका योजना सम्पन्न गर्ने निर्णय भएको जानकारी दिए ।
नगरसभाले इनरुवा रंगशालालाई खेलकुद मापदण्डअनुसारको ंरंगशालामा रुपान्तरण गर्नका लागि नगरपालिकाको सबै साधन स्रोत र सवारी साधन प्रयोग गर्ने निर्णय पनि गरेको छ ।
खेलकुद मापण्दण्डअनुसार मैदानमा एक फिट गिट्टी र बालुवा हालेर माटो पुर्नु पर्ने भएकोले सो कार्यका लागि गिट्टी र इन्धनमा १५ लाख रुपैया बजेट खर्च गर्ने निर्णय नगरसभाले गरेको छ ।
त्यसैगरी इनरुवाका सबै सरकारी विद्यालयहरुमा वर्षाको समयमा पानीले डुबेर पठनपाठनमा समस्या हुने गरेकोले त्यसलाई समाधान गर्न सबै विद्यालयमा माटो पुर्न र आवतजावत गर्ने सडकसमेतको मर्मत गर्न १० लाख रुपैया बजेट विनियोजन गरिएको छ ।
त्यसरी नै गरीब, विपन्न र असहायका लागि घरदेखि घाटसम्म कार्यक्रम अन्र्तगत मृत्यू संस्कारका लागि लाग्ने काजक्रिया खर्चको रकम नगरपालिकाले ब्यहोर्ने र त्यसका लागि १० लाख रुपैया बजेट विनियोजन गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी नगर क्षेत्रभित्र रहेका २२ वटा सामुदायिक र संस्थागत माध्यमिक तहका बिद्यालयमा लागुऔषध दुब्र्यशन ओसारपसार र महिला हिंसाबिरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
शुक्रवार सुरु भएको सभा कांग्रेसबाट निर्वाचित केही जनप्रतिनिधिहरुले असन्तुष्टी जनाउँदै बहिस्कार गरेपछि शनिवारसम्मको लागि बैठक स्थगित गरिएको थियो ।
शुक्रवार र शनिवार असन्तुष्ट जनप्रतिनिधिहरुसँग छलफल गरेपनि पुनः नगरसभा बैठक बसेर सहमतिका साथ निर्णय गरिएको बताईएको छ ।