इनरुवा । जिल्ला सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा सञ्चालित समुदायिक र संस्थागत विद्यालयका लागि नगरपालिकाले स्थानीय पाठ्यक्रम समावेश गर्ने निर्देशनअनुसार विद्यालयहरुले स्थानीय पाठ्यक्रमलाई समावेश गरेर पठनपाठनको ब्यवस्था गरेपनि शैक्षिक सत्र सुरु भएको आधाभन्दा बढी महिना वितिसक्दासमेत पाठ्यसामग्री उपलब्ध नगराउँदा विद्यालयहरु अलमलमा परेका छन ।
इनरुवा नगरपालिकाले अघिल्लै जनप्रतिनिधिको पालामा सिविल मिडिया एण्ड रिर्सच सेन्टरले स्थानीय पाठ्यक्रम निर्माण गरि स्विकृत समेत गराएर एकप्रति प्रकासन गरेर २०७९ कार्तिकमै जिम्मा लगाएको भएपनि स्थानीय पुस्तक नछापेकाले समस्या भएको विद्यालयहरुले जनाएका छन ।
सेन्टरका सञ्चालक विरेन्द्र केएमले आफूहरुको जिम्माको काम पाठ्यक्रम निर्माण र पुस्तकको प्रति इनरुवा नगरपालिकालाई हस्तान्तरण गरेको बताउँदै आफूहरुको जिम्मामा छपाईको काम नरहेको बताए । उनले भने, ‘हामीले पाठ्यक्रम तयार पारेर नगरपालिकालाई हस्तान्तरण गरिसकेका छौ अब छाप्ने काम नगरपालिकाले गर्नुपर्छ।’
इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले स्थानीय पाठयक्रम निर्माण भएको तर छपाई नभएकाले त्यसमा आफू लागिपरेको बताए ।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गरी इनरुवा नगरपालिकाले तीन वर्षदेखि नगरभरिका विद्यालयमा स्थानीय पाठयक्रम लागू गर्ने प्रयास गरेको भएपनि कार्यान्वयनमा नआउँदा स्थानीय पाठ्यक्रमको पढाई अझै अन्यौलग्रस्त छ ।
केन्द्रीय पाठयक्रम विकास केन्द्रले तयार गरेको आधारभूत तहको कक्षा १ देखि ८ सम्मका लागि गरेको व्यवस्थाअनुसार नगरपालिकाले स्थानीय पाठयक्रम तयार पारी लागू गर्ने तयारीका लागि १९ लाख रुपियाँ बढी खर्च गरिसकेको छ ।
तर पाठ्यक्रम तयारी अवस्थामा रहँदासमेत नगरपालिकाले पाठ्यपुस्तक छपाईको लागि प्रक्रिया अहिलेसम्म सुरु नगरेका कारण शिक्षक र पढाई तालिकासमेत बनाएर बसेका विद्यालयहरु के गर्ने भन्ने अन्यौलमा रहेका छन ।
त्रिभुवन माविका प्रधानाध्यापक राजेश्वरप्रसाद साहका अनुसार दुई वर्षदेखि स्थानीय पाठ्यक्रम लागु गर्ने हल्ला र मिडियाबाजी भएपनि हालसम्म पाठ्यक्रम र पुस्तक नदिएकाले आफूहरु अन्यौलमा रहेको बताए ।
एउटा विषय स्थानीय लागु गर्ने भनिएकोमा २०७९ मा आफ्नै मनले प्रश्न बनाएर र शिक्षकको बलबुताले भ्याएअनुसार पढाउदै आएको साहको भनाई छ ।
भगवती माविका शिक्षक एवम् नेपाल शिक्षक संघका सुनसरी अध्यक्ष बेनु सिग्देलले विद्यालयमा हालसम्म स्थानीय पाठ्यक्रम र पुस्तक नआएकाले पढाउन समस्या भएको बताए।
उनले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कक्षा १ देखि ८ सम्म एक सय पूर्णांकको स्थानीय पाठयक्रमको विकास गरी लागू गर्न सकिने व्यवस्था गरेको भएपनि इनरुवा नगरपालिकामा त्यसको कार्यान्वयन नभएकोले विद्यालयहरु अन्यौलमा रहेको बताए
सिग्देलका अनुसार कानुनी व्यवस्थाअनुसार कक्षा १ देखि पाँचसम्मको सामाजिक अध्ययन, शारीरिक शिक्षा र सृजनात्मक कला विषयमा २०÷२० प्रतिशत भाग स्थानीय पाठ्यक्रम लागू गर्नसक्ने व्यवस्था छ ।
बाँकी ८० प्रतिशत भने पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रमका आधारमा अध्ययन अध्यापन गराइनेछ । स्थानीय पाठयक्रम र पुस्तकको अभावमा पढाई प्रभावित भएको विषयमा विद्यालय व्यवस्थापन समिति महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका अध्यक्ष जयकृष्ण यादवले तत्काल स्थानीय पाठयपुस्तक छापेर विद्यार्थीको हातमा पुर्याउनका लागि आग्रह गरेका छन । यादवले पुस्तकको प्रति समेत नगरपालिकाले पाएको अवस्थामा प्रशासनको काम ढिलाई गर्नु भनेको बालबालिकाहरु माथि अन्याय गरे सरहको भएकाले नगरप्रमुख भण्डारीलाई ध्यानाकर्षण गराएको बताए ।
स्थानीय पाठ्यक्रममा इनरुवाको पहिचान, कला, संस्कृति र सम्पदा, इतिहास, स्थानीय सीप र प्रविधि, स्थानीय पर्यटन र स्थानीय खेलका विषय समावेस छन् ।
जातजाति, व्यक्तित्व र जनसंख्या, स्थानीय संस्कृति, स्थानीय संस्कार, स्थानीय बोलीचाली र लिपि, स्थानीय कला र सम्पदा पाठ्यक्रममा समावेस छन् ।
स्थानीय पहिचानबाहेक पाठ्यक्रममा स्थानीय व्यवसाय, सीप र प्रविधि, स्थानीय उपचार विधि, स्थानीय खेल, स्थानीय पर्यटन लगायतका पाठ पनि समेटिएका छन् ।
… [Trackback]
[…] Read More Information here to that Topic: barnamalaonline.com/इनरुवा-।-जिल्ला-सदरमुकाम/ […]
… [Trackback]
[…] Read More on to that Topic: barnamalaonline.com/इनरुवा-।-जिल्ला-सदरमुकाम/ […]