इनरुवा । जिल्ला समन्वय समिति सुनसरीको प्रमुख पदको लागि करिब आधादर्जन दाबेदार भएपनि मुख्य दावेदारको रुपमा इनरुवा नगरपालिकाका पूर्व मेयर एवम नेपाली कांग्रेस इनरुवाका सभापति राजन मेहतालाई हेरिएको थियो ।

जिल्ला भरीमा स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आउने कांग्रेसका जनप्रतिनिधिहरुमा उनी जत्तिको प्रभावशाली अन्य नेताहरु नआएकोले उनलाई जिसस प्रमुख पदमा निश्चित भएको नेताको रुपमा हेरिदै आएको थियो ।

पार्टीका केन्द्रीय सदस्यदेखि जिल्लाका नेताहरुले पनि इनरुवा नगरपालिकाको मेयर पदमा पुनः दोहो¥याउने उनको चाहनालाई थामथुम पार्दै जिल्ला समन्वय समितिको नेतृत्वमा पठाउने भन्दै उनलाई इनरुवा २ को वडा सदस्यको उम्मेदवार बनाएका थिए ।

उनी सदस्य पदमा निर्वाचित भएदेखि नै उनलाई मुख्य दावेदार र केन्द्रीय नेताहरुको आर्शिवाद रहेको दावेदारको रुपमा हेरिएको थियो ।

हुन त उनीसँगै अन्य दावेदारहरुले पनि आफ्नोतर्फबाट लविङ अगाडि बढाईरहेका थिए । जसमा इटहरी उपमहानगरपालिकामा वडाध्यक्ष पदमा निर्वाचित मणिराम श्रेष्ठ, दुहवीबाट निर्वाचित सदस्य शम्भु विश्वास, भोक्राहा नरसिंह गाउँपालिकामा वडाध्यक्षमा निर्वाचित हारुन अन्सारी, इनरुवा १ बाट सदस्यमा निर्वाचित कमला खतिवडा रहेका छन ।

तर मेहतासहितका दावेदारीलाई चुनौति दिने गरी पार्टीका जिल्ला उपसभापति पंकज महतो बराहक्षेत्र उपमहानगरपालिकाको कार्यपालिका सदस्य पदमा निर्वाचित भएर आएपछि राजनीतिक अनुमान र जोडघटाउको गणित तिब्र भएको छ ।

ठूलो निर्माण कम्पनीको सञ्चालक र पार्टीको जिल्ला उपसभापतिमा निर्वाचित महतो बराहक्षेत्रको कार्यपालिकामा मात्रै सिमित हुने गरी कार्यपालिका सदस्यमा निर्वाचित नभएको उनी निकटहरु बताउँछन ।

उनी शिर्ष नेताहरुको चाहनामै समन्वय समितिको नेतृत्व गर्ने योजनासहित कार्यपालिका सदस्यमा निर्वाचित भएको बताईएको छ ।

पार्टीभित्र कोइराला खेमा निकट भनिएपनि उनी दुबै समूहसँग निकट सम्बन्ध बनाएर अगाडि बढेका समन्वयकारी नेताको रुपमा चिनिन्छन । पार्टीको जिल्ला अधिवेशनमा उनी उपसभापति पदमा कोइराला खेमाबाट उम्मेदवार बनेका थिए ।

यद्यपि उनी संस्थापन पक्षका नेता, सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एवम सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अर्का केन्द्रीय नेता विजयकुमार गच्छदारको समेत निकट रहेका नेता हुन ।

महतोका ब्यवसायी पार्टनर समेत रहेका मन्त्री कार्की निकट नेता, कोशी गाउँपालिकाका अध्यक्ष एवम पार्टीको क्षेत्रीय सभापति अयूब अन्सारीसमेतको साथमा उनी कार्यपालिकामा निर्वाचित भएकोले उनको जिसस प्रमुख पदको दावेदारी बलियो रहेको कांग्रेसभित्र विश्लेष्ण हुन थालेको छ।

सुनसरीका प्रभावशाली नेता केन्द्रीय सदस्य एवम प्रदेश सभा संसदीय दलका नेता राजिब कोइराला, संघीय सांसद सिताराम मेहता र जिल्लामा संस्थापन पक्षको नेतृत्व गरिरहेका नेता सञ्जय श्रेष्ठ अहिलेसम्म पूर्व नगरप्रमुख मेहताको पक्षमा उभिएकोले उनको दावेदारी पनि कमजोर छैन ।

केही दिन अघि मात्रै उनले काठमाडौ गएर सञ्चारमन्त्री कार्की, नेता गच्छदारसहितका प्रभावशाली नेताहरुलाई भेटेर आश्वासन लिएर फर्किएका छन ।

यता सञ्चारमन्त्री कार्कीलाई आफ्नै निर्वाचन क्षेत्रबाट वडाध्यक्ष जितेका हारुन अन्सारीलाई जिसस सभापति बनाउन क्षेत्रबाट दवाव थियो । तर उनले वडाध्यक्ष छाड्दा पुनः निर्वाचन गराउँदा पार्टी पराजित हुन्छ कि भन्ने आशंका र पार्टीको संगठन विग्रिने भयले कार्की अन्यौलमा थिए । उनको ठाँउमा पूर्व मेयर मेहता नै रोजाईमा पर्ने विश्लेषण गरिएको थियो ।

अब कार्कीकै निर्वाचन क्षेत्रबाट अर्को दावेदार आएकोले अब कार्कीसहितका नेताहरुको छनौटमा पूर्व मेयर मेहता र उपसभापति महतो मध्येकै एक हुने निश्चित जस्तै छ । दुबैलाई पार्टीभित्रको दुबै खेमाको समर्थन रहेकोले दुई मध्ये एक जिसस सुनसरीको सभापति हुने भने लगभग निश्चित रहेको कांग्रेसकै नेताहरु बताउँछन ।

कांग्रेसका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘पूर्व मेयर मेहतालाई मननपराउने नेता र समूहको दृष्टि उपसभापति महतो ति जाने पक्का छ ।’

अघिल्लो लेखमाजन्मदिन मनाउने खर्चले इनरुवाका गरिब दलित बालबालिकालाई आखाँ शिविर
अर्को लेखमाप्रधानाध्यापकदेखि कार्यालय सहयोगीसम्म महिला मात्रै भएको इनरुवाको विद्यालय नमुना बन्ने बाटोमा अग्रसर

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्