कांग्रेसले अझै गर्न सकेको छैन छलफल, आज साँझसम्म हुन सक्ने

इनरुवा । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचनका लागि सुनसरीबाट प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारको लगभग अन्तिम टुड्डो लगाएको छ ।

नेकपा एमाले सुनसरीले एक नम्बर प्रदेश कमिटीमार्फत केन्द्रीय कमिटीलाई पठाएको उम्मेदवारहरुको नाममा केन्द्रीय सचिवालयको शनिवार बसेको बैठकले केही नाम बाहेक अन्य नाम टुड्डो लगाएको हो ।

एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले केही नामहरु जिल्लाबाटै लगभग टुड्डो लगाएर केन्द्रमा पठाएकाले बाँकी नाम शनिवार बसेको बैठकले अनुमोदन गरेको जानकारी दिए ।

एमालेका एक नेताका अनुसार सुनसरी १ बाट प्रतिनिधिसभा सासंदका लागि जयकुमार राई, प्रदेशसभा १ क बाट रमेशकुमार बस्नेत वा मोतिराज सुनवार र प्रदेशसभा १ ख बाट नन्दकुमार बस्नेत वा विजय राई मध्ये एकजना उम्मेदवार बन्ने निश्चित रहेकाले १ क बाट रमेशकुमार बस्नेत उम्मेदवार भए १ ख बाट विजय राई उम्मेदवार बन्नेछन । बस्नेतको ठाँउमा सुनवार भए अर्कोमा नन्दकुमार बस्नेत उम्मेदवार बन्ने छन ।

सुनसरी २ बाट प्रतिनिधिसभा सासंदका लागि पूर्वमुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य भिम आर्चाय र संविधानसभा सभाषद तथा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारी मध्ये एकजना उम्मेदवार बन्नेछन ।

त्यहाँ जिल्ला कमिटीबाट प्रत्यक्षतर्फ नाम सिफारिस भएका अन्य नेताहरुले आचार्यको पक्षमा समर्थन गरेको बताईन्छ । जसमा ओली समूहकै जिल्लाका प्रभावशाली नेता खेमराज पोखरेलसमेत रहेका छन ।

१० बुँदे पक्षधरको विपक्षमा रहेका ओली पक्षधर नेताहरु भने जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीलाई २ नम्बर निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको अवश्थामा मात्रै चुनावमा एमाले जित हासिल गर्ने दावी गर्दै आर्चाय उम्मेदवार भएको खण्डमा चुनावमा जनताका बिचमा मत माग्न जान नसकिने बताउदै आएका छन।

यस क्षेत्रमा १० बुँदे पक्षधर नेताहरुलाई देशभर उम्मेदवार बनाउनका लागि अध्यक्ष ओलीसँग प्याकेजमा सहमती भए मात्रै भिम आर्चाय उम्मेदवार हुने सम्भावना रहेको भन्दै अन्य अवश्थामा रेवतीरमण भण्डारी उम्मेदवार हुने लगभग पक्का रहेको बताइन्छ ।

यसैगरि २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा २ क बाट रामप्रसाद चौलागाई र २ ख बाट रामप्रसाद मेहता उम्मेदवार बन्नेछन ।

सुनसरी ३ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सासंदका लागि भगवती चौधरी, प्रदेशसभा ३ क तर्फ तैयव हुसैन वा रोहीत कार्कीमध्ये एकजना र ३ ख तर्फ नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेकामध्ये सहमतिका आधारमा एकजना उम्मेदवार बन्ने निश्चित रहेको बताइन्छ ।

स्रोतले भन्यो, ‘अहिलेसम्म टेकचन्द विश्वासकै नाम छ । तर कांग्रेसका प्रभावशाली साथीहरु पनि एमालेमा आउने तयारीमा हुनु हुन्छ । त्यो भयो भने विद्रोही समूहकै सहमतिको आधारमा उम्मेदवार तय हुन्छ ।’

यसपटक विशेष चर्चामा रहेको सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सासंदका लागि जगदिशप्रसाद कुसियैत, प्रदेशसभा ४ क बाट धनबहादुर विश्वकर्मा‐डिबि शाहशंकर) र ४ ख बाट अब्बास अन्सारी उम्मेदवार बन्नेछन ।

४खका उम्मेदवार अब्बास भर्खरै नेपाली कांग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका हुन । उनलाई अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेकै दिन पार्टीले उनको नाम प्रदेश सभा सदस्यको उम्मेदवारको रुपमा सिफारिस गरेको थियो ।

कांग्रेसभित्र कोइराला समूहका प्रभावशाली नेता अन्सारी संस्थापन पक्षको पेलाईबाट राजनीतिमा अवसरबाट बञ्चित हुँदै आउनु परेपछि एमालेमा प्रवेश गरेका हुन । उनलाई चुनावी रुपमा कांग्रेसकै कोइराला समूहको आन्तरिक समर्थन रहेको बताईन्छ ।

शनिवार काठमाण्डौमा बसेको नेकपा एमालेको केन्द्रिय सचिवालय बैठकले सुनसरीबाट प्रतिनिधिसभातर्फको समानुपातिक उम्मेदवारमा रमेश श्रेष्ठ, खम्बसिहं गुरुङ, शत्रुधन यादव, अमृता सुब्बा, निरा खनाल आर्चाय र माया पोखरेलको नाम बन्द सुचीमा निर्वाचन आयोगमा समावेश हुने तय भएको बताइन्छ ।

यसैगरि सुनसरीबाट प्रदेशसभातर्फको समानुपातिक उम्मेदवारमा कालुराम गुरुङ, यसोदा कायस्थ, लक्ष्मी गौतम, अर्जुन गहतराज, महिउद्धिन अन्सारी, बद्री घिमिरे, सविना चौधरी, पर्शुराम यादव र सजिला गुरुङको नाम बन्द सुचीमा निर्वाचन आयोगमा समावेश हुने तय भएको बताइन्छ ।

त्यस्तै नेपाली कांग्रेस सुनसरीबाट आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम अन्तिम तय हुन सकेको छैन ।

निर्वाचन आयोगले समानुपातिक सूची बुझाउँनका लागि आज र भोली दलहरुलाई समय सीमा दिएपनि कांग्रेसले सुनसरीबाट समानुपातिक तर्फबाट उम्मेदवार हुनेको नाममा शनिवार साझसम्म छलफल गर्न सकेको छैन ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव कोइरालाले क्षेत्रीय कार्य समितीले सिफारिस गरि पठाएका दावेदार आकांक्षीहरुको नाम जिल्ला कार्य समिती र एक नम्बर प्रदेश कार्य समितीले जस्ताको त्यस्तै केन्द्रमा पठाएको बताए ।

उनले असोज २ गते साँझसम्म समानुपातिकतर्फको नाम अन्तिम टुड्डो लाग्ने बताए ।
नेपाली कांग्रेसले सुनसरी १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सासंदका लागि आधा दर्जन आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेपनि सो क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईलाई गठबन्धनको सहमतिमा उम्मेदवार बनाउने तयारी रहेको बताइन्छ ।

यसैगरि सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सासंदका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव कोइराला उम्मेदवारका सशक्त दावेदार रहेका छन भने हालका प्रतिनिधिसभा सासंद सिताराम मेहताले अन्तिम पटक उम्मेदवार बन्ने घोषणा गरि आफ्नो दावेदारी प्रस्तुत गरेका छन ।

सुनसरी ३ नम्बर निर्वाचन क्षेत्रबाट कांग्रेसका नेता विजयकुमार गच्छदार कानुनी बाँधा अडचन नआएको अवश्थामा उम्मेदवार बन्नेछन । सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रबाट सूचना तथा प्रविधि मन्त्री तथा हालका प्रतिनिधिसभा सासंद ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार बन्नेछन ।

काग्रेसबाट प्रदेशसभातर्फका प्रत्यक्ष उम्मेदवारको दावेदार आकांक्षी एकै क्षेत्रमा आधा दर्जन बढी रहेकाले कांग्रेसभित्रको समुहगत राजनीतिको भागवण्डाको आधारमा तय हुने बताइन्छ ।

अघिल्लो लेखमाइनरुवामा एपेन्डिसाइटिससहित तिनप्रकारका बिरामीको सफलतापुर्वक शल्यक्रिया गरियो
अर्को लेखमासुनसरीमा मंसिर ४ गते ५ लाख ४४ हजार ९ सय ४१ जनाले मतदान गर्ने

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्