इनरुवा । नेपाली कांग्रेसले औपचारिक रुपमा निर्णय नगरिसकेपनि जिल्ला समन्वय समिति सुनसरीको प्रमुख पदको लागि तीन जना कांग्रेस नेताहरुको प्रवल दावेदारी देखिएको छ ।

इनरुवा नगरपालिकाको मेयर पदमा दोहो¥याउन चाहेका पूर्व मेयर एवम पार्टीका इनरुवा नगर सभापति राजन मेहतालाई मेयर पदको दावेदारी छोडाउन जिल्लाका प्रभावशाली नेताहरुले नै जिल्ला समन्वय समिति प्रमुख बनाउने सर्तमा इनरुवा वडा नम्बर २ बाट सदस्य पदमा उम्मेदवार बनाएका थिए ।

उनी स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेसको बहुमत आउनु अघिदेखि नै जिसस प्रमुख पदको प्रमुख दावेदारको रुपमा रहँदै आएका थिए । सोही अनुसार उनले आफ्नो लविङ पनि अगाडि बढाउँदै आएका छन ।

मेहतासँगै केन्द्रीय सदस्य राजिब कोइराला, संघीय सांसद सिताराम मेहता र संस्थापन पक्षका जिल्ला नेता सञ्जय श्रेष्ठसहितको टोली काठमाडौ गएर शिर्ष नेताहरुसँग भेटघाट र लविङ गरेर फर्किसकेको छ । सो टोलीले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, विजयकुमार गच्छदारसहितका प्रभावशाली नेताहरुलाई भेटेर फर्किएको छ ।

सुनसरी क्षेत्र नम्बर २ को संघीय र प्रदेश निर्वाचनमा जातीय रुपमा नेताहरुलाई सहज बनाउन पनि मेहता समूदायका नेतालाई अगाडि बढाउनु पर्ने स्थितिका कारण उनको पक्षमा यो क्षेत्रमा उम्मेदवारका आकांक्षीहरुको जोड राजनको पक्षमा देखिन्छ ।

मेहतासँगै अन्य केही दावेदारहरुको नाम चर्चामा रहीरहेको बेला पार्टीका जिल्ला उपसभापति पंकज महतो बराहक्षेत्र नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भएर आएपछि अहिले चर्चा झनै चुलिएको छ ।

सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्र जहाँ नेपाली कांग्रेसले सबै चार पालिकामा जितेको स्थितिमा सोही क्षेत्रबाट जिसस प्रमुख हुनु पर्ने माग त्यहाँबाट उठ्दै आएको छ । स्वयम कार्की पनि सोही क्षेत्रबाट जिसस सभापति बनाउँदा आफ्नो निर्वाचन क्षेत्रमा आफू झनै बलियो हुने सोचाईमा छन ।

सोही कारण पंकज महतो निर्वाचित नभएर आउँदासम्म भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष हारुन अन्सारीको चर्चा चलाईएको थियो । अन्सारीको दावी अहिले पनि कायमै छ । उनी संस्थापन पक्षका स्थानीय नेता भएकोले संस्थापन पक्षले उनलाई अगाडि बढाउने अनुमान गरिएको थियो ।

तर उनी वडाध्यक्ष भएको र सो पद छाड्दा भोली हुने निर्वाचनमा पार्टी पराजित पनि हुन सक्ने सम्भावनाका कारण अन्सारीको नामलाई खुलेर नेताहरुले अगाडि बढाउन चाहेको देखिदैन । यद्यपि उनका भाई अबुल हुसैन भने काठमाडौमा बसेर दाईको पक्षमा राजनीतिक लविङ गरिरहेका छन ।

तर उपसभापति पंकज महतो कार्यपालिकामा निर्वाचित भएर आएपछि भने स्थिति फेरिएको छ । सञ्चारमन्त्री कार्कीको राईट हेण्डको रुपमा मानिने कोशी गाउँपालिकाका अध्यक्ष एवम नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापति अयूब अन्सारी महतोको ब्यवसायीक पार्टन र निकट सम्बन्ध रहेको कारण उनको आगमनलाई बलियो दावेदारीको रुपमा हेरिएको छ ।

पार्टीभित्रको कोइराला खेमासँग समेत निकट सम्बन्ध रहेका महतो अहिले जिल्लामा दुबै पक्षलाई मिलाएर हिड्न सक्ने समन्वयकारी भूमिकामा देखिएका छन । कार्कीसँगै गच्छदार र राजिब कोइरालासँग समेत निकट सम्बन्ध रहेका पंकजको जिसस प्रमुख पदमा दावेदारीसँगै अहिले कुनैपनि नेताले खुलेर कसैको नामलाई ग्रिन सिग्नल दिन सकेका छैनन ।

पंकजको इन्ट्रीपछि कोइराला पनि खुल्न सकेका छैनन । पंकजले कोइरालालाई भेटेर आफ्नो दावेदारी प्रस्तुत गरिसकेका छन । जसमा कोइरालाले ’ठिकै छ तपाई पहिला निर्वाचित भएर आउनु भएको थिएन, अब निर्वाचित हुनु भयो छलफल गरौला’ भनेको उनी निकटहरु बताउँछन ।

पंकज निकटहरु मन्त्री कार्की, गच्छदार र कोइरालासहित पार्टी सभापति केदार भण्डारीको समेत ग्रिन सिग्नलपछि कार्यपालिका सदस्य बनेको दावी गर्छन । कोइराला जिल्ला सभापति हुँदा महतोले उनकै टिममा रहेर कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

पार्टीमा लामो समयसम्म कोषाध्यक्ष र अहिले उपसभापतिको जिम्मेवारीमा रहेका महतोले अहिलेसम्म पार्टीका तर्फबाट कुनै पनि लाभको पद नलिएकोले पनि नेताहरुको चाहनामै उनी दावेदार बनेको कांग्रेसभित्र चर्चा छ ।

अघिल्लो लेखमायो मन त मेरो मधेसी हो ! – सुविद गुरागाई
अर्को लेखमासुनसरीमा कांग्रेसका उम्मेदवार विरुद्ध बागी विद्रोही र असहयोगी नेता कार्यकर्ताको सुची तयार गर्न खोजी सुरु

१ प्रत्रिक्रिया

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्