पक्राउ परेका सबै बच्चासँग कुराकानी र विस्कुट चकलेट खुवाउदै थिए

इनरुवा । पछिल्लो समयमा चर्चाको विषय रहेको बच्चा चार्ने गिरोहको सुनसरीमा सक्रियताको आशंका भईरहँदा जिल्लामा तीन जना भारतीय नागरिक पक्राउ परेका छन ।

सुनसरीको बराहक्षेत्र नगरपालिकाको कालाबञ्जार, इटहरी उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रबाट तीन जना त्यस्ता शसंकित ब्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सबै ठाँउमा स्थानीयहरुले आशंकाको भरमा उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको देखिन्छन । प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकामा बराह क्षेत्र नगरपालिका कालाबञ्जारबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका एक १४–१५ वर्षका बालक छन ।

इटहरी उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाबाट पक्राउ परेका एक–एक जना भने ४०–४५ वर्षका पुरुषहरु रहेको प्रहरीले जनाएको छ ।

कोशी गाउपालिकाको भाण्टावारीबाट मंगलवार साझ स्थानियले चारजनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन ।

सुनसरी प्रहरीलाई स्थानीयले जिम्मा लगाएका तीनै जनालाई तत्काललाई नियन्त्रणमा राखेर छानबिनसँगै उनीहरुको आफन्त खोजीको काम भैरहेको जनाएको छ ।

यद्यपि, प्रहरीले जिल्लामा अहिलेसम्म कहिंकतै उजुरी भने नपरेको जनाएको छ । प्रहरीले हल्ला फैलिए जस्तो अवस्था समेत नपाइएको स्पष्ट पारेको छ ।

प्रहरीका अनुसार हाललाई नियन्त्रणमा रहेका तीनजना उपर ललाईफकाई गर्न खोजेको तथा बच्चाको नजिक पर्न खोजेको भन्ने स्थानीयको समान धारणा देखिएको छ ।

प्रहरीले सोही आधारमा स्थानीयले शंकाको भरमा बच्चा चोर्न खोज्ने व्यक्ति भन्दै पक्राउ गरी प्रहरीलाई बुझाउने गरेको बताएको छ ।

सुनसरी प्रहरीका अनुसार स्थानीयले प्रहरीको जिम्मा लगाएका तीनैजना व्यक्ति भारतीय मूलका छन र उनीहरुको मानसिक अवस्था समेत सुस्त अवस्थामा रहेका छन ।

घटना सम्बन्धमा सूक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले उनीहरुको घर र परिवारको खोजीलाई अगाडि बढाएको छ ।

बच्चा चोरीको हल्ला फैलिएपछि सुनसरीका विद्यालयहरुले सार्वजनिक सूचना नै प्रकाशित भएर अभिभावकहरुलाई सचेत हुन आह्वान गरेका छन । इनरुवाको कश्यप विद्यापीठसहित दुहवीको विद्यालयलेपनि अभिभावकहरुलाई यस्तो अपिल गरेको छ ।

यसैबीच नेपाल प्रहरीको साइबर ब्युरोले भारतबाट जोगीको भेषमा वा माग्नेको भेषमा बच्चा चोरी गर्ने भन्ने बजारमा फैलिएको हल्ला अफवाह मात्र भएको बताएको छ ।

सोमबार एक सार्वजनिक सूचना जारी गर्दै नेपाल प्रहरीको साइबर व्युरो भोटाहिटीले सामाजिक सञ्जालमा फैलाइएको भ्रामक प्रचारप्रति नेपाल प्रहरीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

भारतबाट जोजी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरु नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरुको चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका विभिन्न अंगहरु झिकी बिक्री गर्ने गरेको भन्ने सामाजिक सञ्जालमा फैलाइएको प्रचार भ्रामक रहेको नेपाल प्रहरीका उपनिर्देशक पशुपति कुमार रायले बताएका छन् ।

नेपाल प्रहरीको कुनै पनि कार्यालयमा त्यससम्बन्धी कुनै पनि उजुरी नपरेकोले यस्तो भ्रामक प्रचारमा विश्वास नगर्न सम्पूर्ण नागरिकलाई अपिल गरिएको छ ।

यदी कुनै पनि अपराधसम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन र सामाजिक सञ्जालमा भ्रामक सूचना प्रचार गर्ने जो कोहीलाई पनि प्रचलित कानूनबमोजिम कारबाही गरिने नेपाल प्रहरीले बताएको छ ।

अघिल्लो लेखमाकोशी क्षेत्रमा आउन थाले पाँहुना चरा, सिमसारको संकटले समस्या
अर्को लेखमासुनसरीमा एक दिनमै ६१ फरार प्रतिवादी पक्राउ

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्