इनरुवा । पार्टीभित्रको असन्तुष्टीका कारण समस्यमा देखिएका सुनसरी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पार्टीभित्रको आन्तरिक असन्तुष्टी मिलाउँदै आफ्नो चुनावी माहौल तताउँदै अघि बढेका छन ।
स्थानीय तहको टिकट वितरण र पार्टीको १४ औं गाउँ÷नगर जिल्ला अधिवेशनको क्रममा समर्थन गर्ने विषयलाई लिएर उत्पन्न मतभेद लामो समयदेखि असन्तुष्टीको रुपमा रहँदै आएको थियो ।
पार्टीभित्रको सोही असन्तुष्टीका कारण सिताराम मेहताको चुनावी अभियान दरिलो हुन सकेको थिएन । तर पछिल्लो समयमा विहान दिउँसो निर्वाचन क्षेत्रका विभिन्न भुगोलमा घरदैलो गर्नुका साथै बेलुका पार्टीको आन्तरिक मतभेदलाई समाप्त पार्न लागि परेका मेहता एकपछि अर्को गरी असन्तुष्टहरुलाई मिलाउँदै आफ्नो चुनावी अभियानमा सहभागि गराउँदै अघि बढ्न थालेपछि उनको चुनावी अभियानको माहौलसमेत तत्दै गएको छ ।
विशेष गरेर सुनसरी २ को महत्वपूर्ण भुगोलको रुपमा रहेको देवानगञ्ज गाउँपालिकामा रहेको चरम असन्तुष्टीलाई उनले समाधान गर्नसकेकोले अहिले मेहताको पक्षमा २०७४ सालको जस्तै जनलहर देखिन थालेको स्थानीय युवा रामकृष्ण मेहता बताउँछन ।
उनी भन्छन, ‘पार्टीभित्रकै असन्तुष्टीले चुनावी माहौल तात्न सकेको थिएन तर अब सबै विवादहरु मिलेर पार्टी एक ढिक्का भएर चुनावी अभियानमा लागेको छ । अहिले २०७४ साल जस्तै स्थितिमा यो क्षेत्रमा नेपाली कांग्रेस पुगेको छ ।’
आन्तरिक मतभेदलाई समाधान गरेर उत्साहका साथ चुनावी अभियान चलाईरहेका मेहता अहिले बाह्य क्षेत्र र समुहरुलाई आफ्नो साथमा लिएर चुनावमा जित सुनिश्चित पार्ने गरी लागेपरेका छन।
अहिले उनी एका विहानै आफ्नो घरमा विभिन्न दलका स्थानीय नेता कार्यकर्ताहरुलाई घरमै बोलाएर आफ्नो चुनावी अभियानमा साथ दिन आग्रह गर्दै आफ्नो पक्षमा ल्याउने पहल तिब्र बनाएका छन । अहिले सिताराम दिनमा दर्जन बढी विभिन्न पार्टी र संघसंस्थाका नेताहरुसँग भेटघाट गरिरहेका छन ।
उनका एक सहयोगी भन्छन, ‘पार्टीभित्रको विवाद मिलाएर एक ढिक्का भईसकेको छ अब २०७४ सालको भन्दा बढी मतान्तरले जित्ने योजनामा अन्य दलका नेता कार्यकर्ताहरुसँगको छलफललाई तिब्र रुपमा अगाडि बढाईरहनु भएको छ ।’