इनरुवा । पूर्व नगर प्रमुख राजन मेहताले कार्यकाल सकिएको झण्डै एक वर्ष पुग्न लाग्दा समेत आफूले ब्यक्तिगत प्रयोगको लागि लगेको एउटा कार र स्कुटर पटक–पटकको ताकेता पछि पनि फिर्ता नगरेपछि इनरुवा नगरपालिकाले प्रहरी र प्रशासनलाई गुहारेको छ ।
मेहताले नगर प्रमुखको जिम्मेबारीमा रहँदा व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेको बा १ झ ८८२३ नम्बरको सेन्ट्रो कार र को २७ प १८ नम्बरको हिरो डिलक्स स्कुटी हालसम्म पनि फिर्ता नगरी आफैंले राखिरहेपछि त्यसलाई फिर्ता ल्याउनको लागि नगरपालिकाले जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई आवश्यक सहयोगको आग्रहसहित बोधार्थसहितको पत्र मेहतालाई समेत पठाएको छ ।
नगरपालिकाले जिसस सुनसरी सभापति समेत रहेका पूर्व नगर प्रमुख राजन मेहतालाई सम्बोधन गरी लेखेको पत्रमा कार र स्कुटीको नम्बरसहित उल्लेख छ ।
जसमा आदेशानुसार भन्दै नगरपालिकाको नाममा दाखिला रहेको सवारी साधन फिर्ता गर्न पत्राचार गरिएको छ ।
प्रशासकीय अधिकृत दशरथ राईको हस्ताक्षरमा रहेको नगरपालिकाले आधिकारिक लेटरप्याडमा २०७९ को बैशाख ३ गते चलानी नम्बर १७२२ को पत्र काटेर सवारी साधन फिर्ता गरिदिनु भन्ने आदेशानुसारको व्यहोरा उल्लेख छ ।
यस विषयमा इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले पटक– पटकको मौखिक अनुरोधलाई वेवास्ता गरिएकाले लिखित पत्र पठाइएको बताएका छन । फोन सम्पर्कमा उनले भने, ‘नगरपालिकाको नाममा रहेको सवारी साधन पूर्व मेयरले आफुखुशी प्रयोगमा राखेको पाइएकाले फिर्ताको प्रकृया अघि बढाइएको विषय साँचो हो ।’
राईले पटक–पटकको मौखिक अनुरोध र लिखित ताकेताका बाबजुदसमेत पूर्व नगर प्रमुखबाट सवारी साधन फिर्ता नभएको बताए । पछिल्लो पटक पत्र काटिएको समयसमेत लामो भैसकेको बताएमा अधिकृत राईले पूर्व नगर प्रमुखबाट अलमल गर्ने र आलटाल गर्ने गरेको पाइएकाले अब भने आवश्यक कानुनी प्रकृयाअनुसार अघि बढिने बताए ।
उनले सवारी साधन फिर्ताको विषय नगर सभामा समेत उठेकाले नगरपालिकाले प्राथमिकताका साथ सो विषयलाई अघि बढाउन लागेको जानकारी दिए । उनले नगर प्रमुखको आदेशानुसार सवारी साधन फिर्ताको कानुनी प्रकृया अघि बढाइएको समेत बताए ।
इनरुवा नगरपालिकाले दिएको जानकारीअनुसार पूर्व नगर प्रमुख मेहताले व्यक्तिगत प्रयोजनमा प्रयोगमा ल्याउँदै आएको कार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंले नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
प्राप्त प्रप्तको व्यहोरा अनुसार मन्त्रालयको पत्र संख्या आन्तरिक ०७५।०७६को चलानी नम्बर १४३२ मिति २०७५।१०।०४ गते सेन्ट्रो कार सहित ५ थान मोटरसाइकल इनरुवालाई हस्तान्तरण गरिएको उल्लेख छ ।
जसअनुसार ति सवारी साधन नगरपालिकाका कम्प्युटर अपरेटर महेश खनालले बुझी ल्याएको देखिन्छ । मर्मत सम्भार गरी चलाउन मिल्ने भनी मन्त्रालयले हस्तान्तरण गरेको सवारी साधन नगरपालिकाको अभिलेखमा २०७६।१०।०३ को मितिमा दाखिला रहेको भेटिएको छ ।
सवारी साधन फिर्ताको प्रकृयाको विषयमा नगर प्रमुख केदार भण्डारीले भने, ‘मेयर हुँदा प्रयोग भयो तर कार्यकाल सकिएपछि त फिर्ता हुनु प¥यो नी ! उनले थपे, ‘कार र स्कुटी नगरपालिकाको सम्पत्ति हो । सरकारी सम्पत्ति दुरुपयोग गर्न पाइन्न । कार्यालयले आफ्नो सम्पत्तिको खोजीनिती त गर्छ नै ।’
यता सवारी साधन फिर्ता नगरेको भन्ने सन्दर्भमा पूर्व मेयर राजन मेहताले सेन्ट्रो कार बिग्रिएर काठमाण्डौंमा थन्किएको र मर्मत पश्चात ल्याएर नगरपालिकालाई हस्तान्तरण गरिने बताए । उनले आफुले प्रयोगमा ल्याएका सवारी साधन अविलम्ब नगरपालिकालाई फिर्ता गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
पूर्व नगर प्रमुख मेहताकोे सवारी फिर्ता गर्छु भन्ने भनाईलाई नगरपालिकाको कार्यालयले भने पत्याएको छैन । पटक–पटक ताकेता र जानकारी गराउँदासमेत फिर्ता नभएकाले विश्वास गर्न सकिने अवस्था नरहेको उसले स्पष्ट पारेको छ ।
नगरपालिका स्रोतका अनुसार बिग्रिएको भन्ने गरिएको सेन्ट्रो कार काठमाडौंमा रहेका मेहताका शुभचिन्तकले चलाई रहेका छन । स्कुटी भने घरायसी प्रयोजनमा प्रयोगमा रहेको छ।
नगरपालिकाले सवारी साधन फिर्ता नगरेको भनिएका पूर्व मेयर राजन मेहता हाल जिल्ला समन्वय समिति सुनसरीका सभापति रहेका छन । उनी जिसस महासंघको राष्ट्रिय अध्यक्ष समेत हुन ।