इनरुवा । प्रतिनिधि र प्रदेशसभाका लागि मंसिर ४ गते हुन लागेको निर्वाचनमा सुनसरीबाट सत्ता गठबन्धन दलका चर्चित नेताहरुको नाम सिफारिस भएपछि चर्चित नेताहरु बिच चुनावी भिडन्त हुने भएको छ ।

४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सुनसरीमा सत्ता गठबन्धन कांग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्की, बिजय कुमार गच्छदार र मिन विश्वकर्मा एकल नाम सिफारिसमा परेका छन ।

यसैगरी सत्ता गठबन्धन भित्रकै जसपाका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक रार्ई समेत सुनसरीबाट चुनाव लड्ने तयारीमा छन । यादव सुनसरी ४ बाट र राई सुनसरी १ बाट चुनाव लड्ने दाउमा छन ।

सुनसरी १ बाट कांग्रेसका नेता मिन विश्वकर्मा, क्षेत्र नम्बर ३ बाट नेता बिजय कुमार गच्छदार र सुनसरी ४ बाट ज्ञानेन्द्र बहादुर कार्की लगभग उम्मेद्वार बन्ने पक्कापक्की छ ।

सत्ता गठबन्धनको प्रतिष्पर्धामा रहेको नेकपा एमालेबाट समेत ३ जना हेभिवेट नेताहरु चुनावी मैदानमा उत्रने तयारीमा छन ।

एमालेबाट प्रदेश १ का पूर्व मूख्य मन्त्री भीम आचार्य, प्रदेश १ सरकारका पूर्व उद्योग वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियत र पूर्व बन राज्य मन्त्री भगवती चौधरी मैदान उत्रने निश्चितप्रायः छ ।

आचार्य सुनसरी २, चौधरी सुनसरी ३ र कुसियत निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य तर्फ लड्ने तयारीमा छन । जसमध्ये कुसियत र चौधरीको नाम एकल सिफारिस भैसकेको छ ।

एमाले स्थाई कमिटी सदस्य आचार्यसँगै सुनसरी क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी, प्रभावशाली नेता खेमराज पोखरेल, रामप्रसाद चौलागाई र डम्बर सुवेदी प्रतिनिधि सभा सदस्य तर्फको सिफारिस सुचिमा छन । जसमध्ये आचार्य हावी मानिन्छन ।

सुनसरी २ बाट प्रतिनिधि सभा सदस्य तर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदेश १ का संसदीय दलका नेता राजिब कोइरालासँगै कांग्रेसका अर्का केन्द्रीय सदस्य राजिब ढ्ङगाना र प्रतिनिधि सभा सांसद सीताराम मेहताको नाम सिफारिसमा परेको छ ।

सुनसरी क्षेत्र नम्बर ३ मा पूनः कांग्रेस नेता बिजयकुमार गच्छदार र एमाले नेतृ भगवती चौधरीको चुनावी भिडन्त दोहोरिने सम्भावना प्रवल छ ।

गच्छदारसँग यस अघिका दुई निर्वाचनमा झिनो मतान्तरले हार भोगेकी चौधरी यस पटक भने कांग्रेस भित्रको अन्तरकलह र गच्छदारको गुम्दो शाखको लाभ उठाउने दाउमा छिन ।

गच्छदारको नाम उम्मेद्वारको रुपमा चर्चामा रहेको र स्वयं गच्छदारले आफु नै उम्मेद्वार हुने बताइरहँदा ललिता निवास प्रकरणको मुद्धा किनारा नलागेकाले उनी उम्मेद्वार बन्न पाउने वा नपाउने भन्ने विषय टुङ्गो भने लागिसकेको छैन ।

यता सबैको चासोका रुपमा रहेको सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को भिडन्तलाई अन्य निर्वाचन क्षेत्रको दाँजोमा बढी चासोको रुपमा हेरिएको छ ।

सो क्षेत्रबाट नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की कांग्रेसबाट प्रतिनिधि सभा सदस्य तर्फ चुनाव लड्दै छन् ।
पार्टी क्षेत्रीय कमिटीले सो क्षेत्रबाट उनको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ।

उक्त क्षेत्रबाट एमालेले समेत आफ्नो उम्मेदवारको नाम तय गरिसकेको छ । एमालेबाट जगदिश प्रसाद कुसियत उम्मेदवारको एकल सफारिसमा परेका छन । सुनसरी ४ मा कार्की र कुसियतको चुनावी भिडन्त चासो र चर्चाको विषय बन्न समेत थालिसकेको छ ।

एमालेका नेता कुसियत प्रदेश १ का पूर्व भौतिक तथा पूर्वाधार मन्त्री हुन । कुसियत स्थानीय नेता समेत हुन । लामो समय सो क्षेत्रमा राजनैतिक पकड जमाएका कुसियत जातीय मतका साथै स्थानीयवासीका रुपमा समेत मजबुत मानिन्छन ।
जसले गर्दा यस पटकको सुनसरी ४ को चुनावी प्रतिष्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

कुसियत २०५६ सालको उप निर्वाचनमा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको क्षेत्रबाट निर्वाचित भएका व्यक्ति हुन । उनले सो बेला कोइराला नेतृत्वको मन्त्री परिषदका तत्कालिन गृह राज्य मंत्री काँग्रेस नेता हरि सापकोटा लाई पराजित गरेका थिए ।

यस क्षेत्रबाट कोइराला पुत्री सुजाता कोइरालालाई तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पराजित गरेका थिए । सो बेलामा समेत एमालेका नेता कुसियत यादवका मूख्य निकटतम प्रतिष्पर्धी रहेका थिए ।

कार्की भने कोइराला परिवारको विरासत रहेको निर्वाचन क्षेत्र सम्हाल्न २०७४ सालमा भोजपुरबाट सुनसरी झरेका कांगेस नेता हुन । अघिल्लो चुनावमा एमालेले कमजोर उम्मेद्वार उठाएर कार्कीको जित सहज बनाइएको राजनैतिक वृतमा चर्चा हुने गरेकोले समेत यस पटकको दुई हेभिवेट नेताको चुनावी प्रतिष्पर्धालाई चासोका रुपका हेरिएको छ ।

आन्तरिक किचलो, स्थानीय नेताहरुको महत्वकांक्षा, गुटबन्दी, सिट बाँडफाँड र पार्टी भित्रको बढ्दो असन्तुष्टि सँगै अन्र्तघातको सम्भावना र अर्को पल्ट पूनः लड्न नपाउने भएकाले समेत कार्कीलाई आसन्न मंसिर ४ को निर्वाचन सोचे जत्तिको सहज नहुने राजनैतिककर्मीहरुको अनुमान छ ।

सुनसरीमा गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धन भित्रैबाट एक– एक वटा प्रदेश सभा सांसद भाग वण्डामा पाउने बताइन्छ । जसपाले भने २ र ४ नम्बर क्षेत्रमा प्रतिनिधि सभा सदस्यतर्फ दावी गरी रहेको छ ।

अघिल्लो लेखमाइनरुवामा उराँव समूदायको दशै मानिने करम पुजाका लागि जमरा राखियो
अर्को लेखमाजिल्ला अस्पताल इनरुवामा बिमा नभएका विपन्नको निःशुल्क उपचार

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्