इनरुवा । बैदेशिक रोजगारीको क्रममा हुने ठगीमा पीडितलाई न्याय र ठग्नेलाई कारवाहीको प्रक्रियाको विषयमा आइतवार सुनसरी सदरमुकाम इनरुवामा प्रहरीलाई अभिमुखिकरण गरिएको छ ।

सुरक्षित आप्रवासन परियोजना (सामी)ले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत अनुसन्धान, उजुरी र मेलमिलाप लगायतका शाखाहरुमा कार्यरत प्रहरी अधिकृतदेखि जवानसम्मका कर्मचारीहरुलाई बैदेशिक रोजगारका क्रममा ठगिमा पर्ने सर्वसाधारण र पीडकबिरुद्धको कानूनी उपचारसहितको न्याय प्रदान गर्न निर्माण गरिएका ऐन कानून र प्रक्रियाको विषयमा जानकारी गराईएको थियो ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले बैदेशिक रोजगारीमा जानु नेपालीहरुको बाध्यता भएकोले बाध्यतामा परेकाहरुलाई परिवन्दमा पारी ठगी गर्ने काम कानूनीमात्रै नभई ठूलो सामाजिक अपराधसमेत भएकोले त्यसमा पीडितले छिटो न्याय पाउने र पीडकले फेरि यस्तो गर्न सोच्नु पर्ने स्थिति सृजना गर्ने गरी कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने बताए ।

उनले कानून कार्यान्वयनमा प्रहरी र जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण भूमिका हुने भएकोले दुई निकायले यस विषयलाई प्राथमिकतामा राखेर अगाडि बढाउनु पर्ने भन्दै पालिकाको तर्फबाट हुने सबैखाले पहलका लागि आफू तयार रहेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले बैदेशिक रोजगारीको क्रममा हुने ठगीको विषयमा जिल्ला प्रशासन कार्यालयमा प्रदत्त अधिकार र कारवाहीको प्रक्रियाको विषयमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

सो क्रममा उनले बैदेशिक रोजगारीमा सर्वसाधारणहरु बाध्यताबस जाने भएकोले उनीहरु ठगीमा पर्दा त्यसले सिंगो परिवारलाई नै आर्थिक, सामाजिक रुपमा समस्यामा पार्ने भएकोले त्यस्ता विषयहरुलाई फास्ट ट्रयाकबाट अगाडि बढाउनु पर्ने आवश्यकतामा जोड दिए ।

जिल्ला प्रहरी कार्याल्य सुनसरीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापाले बैदेशिक रोजगार विभाग र प्रहरीबीच बैदेशिक रोजगारीका क्रममा हुने ठगीका पीडितहरुलाई न्याय दिने र दोषीमाथि कारवाही गर्ने गरी अनुसन्धान लगायतका विषयमा गरेको द्धिपक्षीय सम्झौताको विषयमा सहभागि प्रहरी कर्मचारीहरुलाई जानकारी गराए ।

उनले विभागसँग भएको सम्झौता र प्रचलित कानूनको कार्यान्वयनमा प्रहरीको ठूलो भूमिका हुने भएकोले पीडितहरुले न्यायको अनुभुति र पीडकले कारवाहीको अनुभति गर्न पाउने गरी कारवाही प्रक्रियालाई छिटोबाटोबाट अगाडि बढाउनु पर्नेमा जोड दिए ।

मेयर भण्डारीको सभापतित्वमा भएको अभिमुखिकरणमा हेल्वेटास नेपालका कार्यक्रम अधिकृत देवनारायण चौधरी र परियोजनाका जिल्ला कार्यक्रम संयोजक धिरज भट्टराईले बैदेशिक रोजगारीमा जानेहरुमाथि हुने ठगीका प्रकृति, न्यायका लागि हुने पहल, सुरक्षा निकायसँगको सहकार्य र आफूहरुको अभियानको विषयमा प्रष्ट्याएका थिए ।

अघिल्लो लेखमाइनरुवावासीको इनरुवा–दुहवी सडक चारलेनमा विस्तार गर्न माग
अर्को लेखमासुनसरीका उराँव युवालाई व्यवसायीक खेलाडी बनाउदै उराँव प्रतिष्ठान

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्