इनरुवा । मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले आचारसंहिता बिपरित टाँगिएका तुल ब्यानर हटाउन निर्देशन दिएको छ ।
आचारसंहिता उल्लंघनका उजुरी बढ्न थालेको भन्दै मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाले अनुगमन समितिलाई त्यस्तो निर्देशन दिइएको हो ।
क्षेत्र नम्बर २ र ४ केन्द्रित डाकिएको सर्वदलीय बैठकमा जिल्लाभरको प्रचारप्रसारलाई मध्यनजर गर्दै आचारसंहिता उल्लंघन गरेको पाइए आवश्यक कार्वाही थाल्ने गरी परिचालिन हुन अनुगमन समितिलाई निर्देशन दिइएको हो ।
मूख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद अधिकारीले भेलामा उपस्थित दलीय प्रतिनिधिहरुलाई आचारसंहिता बिपरित गरिएको पार्टीगत चुनावी प्रचारप्रसार सामग्री स्वयं हटाउन आग्रह गर्दै त्यसो नगरेको खण्डमा अनुगमन समितिले कार्वाही थाल्ने स्पष्ट पारे ।
भेलामा मूख्य निर्वाचन अधिकृत अधिकारीले चुनावको मिति नजिकिंदै जाँदा आचारसंहिता उल्लंघनका घट्नासमेत बढ्दै गएको भन्दै त्यसतर्फ विशेष सचेत हुन आग्रह गरेका थिए ।
बैठक सुनसरी ४ का कांग्रेस उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्कीले आचारसंहिता उल्लंघन गरेको विषयमा एमालेले दिएको उजुरी केन्द्रित देखिएपनि आचारसंहिता उल्लंघनमा कडाई गरिने निर्णय गर्दै टुङिगएको थियो ।
बैठकमा उपस्थित सुनसरी एमालेको निर्वाचन संयोजक लक्ष्मी गौतमले मन्त्री जस्तो ओहदामा बसेको व्यक्तिबाट आचारसंहिता उल्लंघन हुनु दुःखद भएको बताईन ।
गौतमले निर्वाचन अधिकृतको कार्यालयले अनुगमनमा चासो दिई समान रुपले व्यवहार गरिनु पर्ने उल्लेख गर्दै ठूलालाई छुट र सानालाई कडाई गर्ने गरिएको पाइएकाले समान व्यवहार गरिनु पर्ने सुझाव राखिन ।
उता नेपाली कांग्रेस सुनसरी सभापति केदार भण्डारीले निर्वाचन क्षेत्र नम्बर ४ का पार्टीका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीबाट आचारसंहिता उल्लंघनको कार्य नभएको भन्दै विपक्षीले बखेडा झिकेको जवाफ दिए । भण्डारीले एमालेले आफ्नो पार्टीबाट आचारसंहिता उल्लंघन हुँदा नदेख्ने तर अरुलाई मात्र आरोप लगाउनु जायज नभएको तर्क गरे ।
यसैबिच सो सर्वपक्षीय भेलाले निर्वाचन क्षेत्र नम्बर २ को मत गणना मूख्य निर्वाचन अधिकृतको कार्यालय रहेको शिक्षा तालिम केन्द्रमा र क्षेत्र नम्बर ४ को मत गणना भगवती माविमा गर्ने सहमति समेत जुटाएको छ ।