इनरुवा । सरकारले कृषि क्षेत्र नतोकिकन घर जग्गाका लागि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरेपछि मालपोत कार्यालय सुनसरी जिल्लाका सबै पालिकाकालाई पत्राचार गर्दै जग्गा कित्ताकाट हुने गरी कुनैपनि सिफारिस नगर्न आग्रह गरेको छ ।

कार्यालयले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ ले मापदण्ड तोकेपछि मात्रै सो मापदण्डअनुसार मात्रै सिफारिस गर्न भनेको छ ।

मालपोतको पत्रमा सम्बन्धित पालिकाहरुमार्फत वडा कार्यालयहरुलाई समेत जानकारी गराउन आग्रह गर्दै ऐन र नियमावलीअनुसारको बर्गिकरणको कार्यअगाडि बढाएर आफ्नो कार्यालयको काम सुचारु हुने वातावरण निर्माणको लागि आग्रहसहित विभागको निर्णयको प्रतिलिपिसमे पठाएको छ ।

घर जग्गाको नाममा कृषि क्षेत्र क्रमशः घट्दै गइरहेको बेला सरकारले खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषद्ले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ ले तोकेको मापदण्ड अनुसार कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने निर्णय गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यही जेठ २७ गते मन्त्रिस्तरीय निर्णय गरेर कृषि क्षेत्र निर्धारण नभएका कुनै पनि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गर्दै मन्त्रालयले मातहतका मालपोत र नापी कार्यालयलाई त्यस्तो निर्णय कार्यान्वयनका लागि पठाएको थियो ।

सोही परिपत्रअनुसार मालपोत कार्यालय सुनसरीले जिल्लाका पालिकाहरुलाई पत्राचार गरेको हो । नियमावलीअनुसार स्थानीय तहले वर्गीकरण नगरेका जग्गा रोक्का राख्न सकिन्न ।

अहिलेसम्म अधिकांश स्थानीय तहले आफ्नो क्षेत्रको भू उपयोग योजना बनाएका छैनन् । सुनसरीका कुनैपनि पालिकाले अहिलेसम्म जग्गाको बर्गिकरण नगरेको कारण यहाँ मालपोत र नापी कार्यालयको सबै काम रोकिएको हो ।

बैंक, वित्तीय संस्था वा सहकारी संस्थामा धितो बन्धक राख्दा खेतीयोग्य वा गैर खेतीयोग्य क्षेत्रको वर्गीकरण गरेर मात्रै लिखत पारित गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो निर्णय भएसँगै अब कृषियोग्य भूमिको धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाइने भएको छ ।

कुनै व्यक्ति, फर्म कम्पनी वा संस्थाले जुनसुकै प्रकारका लिखतबाट जग्गाको खण्डीकरण गरी हक हस्तान्तरण गर्ने गरी लिखत पास गर्न आएका स्थानीय भूउपयोग परिषद्ले गरेबमोजिम स्थानीय तहबाट सिफारिस भई आएमा खेतीयोग्य जग्गा भए भूउपयोग नियमावली अनुसार गर्नुपर्नेछ ।

गैर कृषि क्षेत्रको भए नियमावलीको अर्को प्रबन्ध अनुसारको क्षेत्रफल भन्दा कम नहुने गरी कित्ताकाट गर्नुपर्नेछ । पुनः नापीको क्रममा कुनै जग्गा ब्लकमा नापजाँच भई हाल साबिक दर्ता गर्दा कित्ता छुट्याउनुपर्ने भएमा साबिक प्रमाण बमोजिम कित्ताकाट हुनेछ ।

तर, साबिकको एक कित्ता हाल साबिक गर्दा हाल कायम रहेको बाटो, कुलोलगायतले सिमाना छुट्याइएको अवस्थामा बाहेक एउटा ब्लकबाट कित्ताकाट हुँदा एकभन्दा बढी कित्ता कायम हुने गरी हाल साबिक गर्न पाइने छैन ।

भूउपयोग नियमावली, २०७९ लागू हुनु अगावै आवासीय प्रयोजनका लागि आधिकारिक निकायबाट प्लानिङ अनुमति पाएका कम्पनी वा निकायले प्लानिङ पर्मिट प्राप्त गरी स्वीकृत नक्सा बमोजिम कित्ता नापी नक्सामा बाटो तथा सार्वजनिक क्षेत्र कायम गरी सकेको भए सोही अनुसार नै कित्ताकाट हुनेछ । त्यसमा कुनै पनि बाधा पर्नेछैन ।

भूउपयोग नियमावली, २०७९ लागू हुनु अगावै प्लानिङ अनुमति प्राप्त गरी स्वीकृत नक्सा बमोजिम कित्ता नापी नक्सामा कित्ताबाट गर्न बाँकी रहेको भए नियमावलीको नियम १२ बमोजिमको क्षेत्रफल कायम हुने गरी मात्रै कित्ताकाट गर्नुपर्नेछ ।

कुनै पनि कित्ता जग्गा कित्ताकाट गरी प्लट मिलान गर्दा तोकिएको क्षेत्रफलभन्दा कम क्षेत्रफल बाँकी नहुने मात्र प्लट मिलान गर्न गराउन सकिने प्रबन्ध गरिएको छ ।

अघिल्लो लेखमाजिसस प्रमुख राजन मेहताले आफै नगरप्रमुख हुँदा राखेको वडा कार्यालय एकमहिना भित्र हटाउन पत्राचार
अर्को लेखमाझुम्का बजारमा सिटी र अटो रिक्सामा यात्रा गर्दा नगद तिर्न नपर्ने

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्