सुनसरी २  : गरीबका नेता उपमा पाएका सितारामलाई साख जोगाउने चुनौती

0
40
Sunsari 2: Sitaram who has been dubbed the leader of the poor is challenged to protect his reputation
rajiw sitaram

इनरुवा । सालको स्थानीय निर्वाचन हुँदै संसदीय राजनीतिमा आएका सीताराम मेहताले ‘जनताका नेता’ को छवि बनाएका थिए । पहिले उनलाई मतदाताले नै खर्च जुटाएर चुनावमा उठाउँथे अनि जिताउँथे पनि । नारा नै बनेको थियो– ‘जनताका नेता, सीताराम मेहता ।’

उनले २०७४ सम्मको निर्वाचन अभियान यसरी नै चलाए । उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी–४ र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट विजयी भए। २०७३ सालमा यातायात राज्यमन्त्री पनि भए ।

आफूले जिताएको नेतासँग मतदाताका केही अपेक्षा हुने नै भए । सबै मतदाता आफ्नो अपेक्षाले महत्व पाएको हेर्न चाहन्छन् । यसमा भने ‘आफ्नो पृष्ठभूमि बिर्सिएको’ आरोप मेहतालाई छ ।
मेहताले लगाएको कृषि क्रान्तिको नारा व्यवहारमा लागू भएन ।

अघिल्ला निर्वाचनमा चुनावी नारा बनेको कौवाखोंच–रामधुनी सडकको स्तरोन्नति हुनसकेन । अहिले ठेक्का लागेको छ बन्छ भनेर स्पष्टिकरण दिएर उनी हिडिरहनु परेको छ ।
यसपटक पनि मेहता सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । नेपाली कांग्रेसका उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

यसपटक निर्वाचित भए पहिला थालेर अधुरो रहेका कामहरु पूरा गर्ने मेहताले बताएका छन् । अब इनरुवा–कौवाखोंच, इनरुवा–सत्तेरझोडा–विराटनगर र देवानगञ्ज–विराटनगर सडक बनाउने उनको दाबी छ ।

२०१० सालमा सुनसरीको इनरुवामा जन्मिएका मेहता १८ वर्षको हुँदा राजनीतिमा प्रवेश गरे । उनी २०२८ सालदेखि नेपाल विद्यार्थी संघमा सक्रिय भए । उनी २०३१ मा नेविसंघको सुनसरी जिल्ला सभापति र २०३५ सालमा नेपाली कांग्रेस सुनसरी जिल्ला सदस्य भए ।

२०५६ सालमा पार्टी विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस (प्रजातान्त्रिक)मा लागेका मेहता सुनसरी सभापति र पार्टी एकतापछि जिल्ला सह–सभापति भए ।
इनरुवा नगरपालिकाका स्थायी बासिन्दा मेहताले चुनावी अनुभव भने २०४९ सालको स्थानीय निकाय निर्वाचनबाट गर्न पाए । त्यो बेला इनरुवा नगरपालिकाको उपमेयर निर्वाचित उनी २०५४ सालमा पराजित भए ।

मेहताले २०७४ को चुनावमा वाम गठबन्धनका उम्मेदवार डम्मरु सुवेदी (हिमाल) लाई ६ हजार १४६ मतले पराजित गरेका थिए । त्यो बेला मेहताले ४१ हजार ४९५ र सुवेदीले ३५ हजार ३४९ भोट पाएका थिए ।
गत स्थानीय चुनावमा सुनसरी–२ मा वडाअध्यक्षहरूले पाएको दलगत मतमा नेकपा (एमाले) अगाडि छ । एमालेले ५० हजार ५२९ र नेपाली कांग्रेसले ४९ हजार ४७८ मत पाएका छन् ।

त्यस्तै, विभाजित भइसकेको जनता समाजवादी पार्टी (जसपा)ले ८ हजार २१२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ हजार ७०५, नेकपा (माओवादी केन्द्र)ले ४ हजार ४०१ र नेकपा (एकीकृत समाजवादी)ले २ हजार ५६३ मत पाएका छन् ।

वडाअध्यक्षका स्वतन्त्र उम्मेदवारहरुले पाएको मत ४ हजार ५३९ छ । २०७४ मा एमाले–माओवादी केन्द्रका साझा उम्मेदवार डम्मरु सुवेदीलाई ६ हजार भन्दा बढी मत अन्तरले हराएका सीताराम मेहता यसपटक सत्ता गठबन्धनका उम्मेदवार छन् । उनी विरुद्ध संघीय मन्त्री र मुख्यमन्त्री भइसकेका एमालेका अनुभवी नेता भीम आचार्य चुनावी मैदानमा छन् ।
स्थानीय चुनावको अंकगणित हेर्दा मेहताका लागि गठबन्धनको आशालाग्दो देखिए पनि जसपाले पाएको मत तान्न आचार्यले तालमेल गरेका छन् ।

दुवै उम्मेदवार एकअर्काको भोट काट्ने र नयाँ तान्ने रणनीति कार्यान्वयनमा छन् । यीमध्ये को सिकन्दर बन्न सक्लान्, अहिल्यै अनुमान लगाउन कठिन छ ।

अघिल्लो लेखमासुनसरी ३  :  चुनावी मुद्धा विक्न छाडेपछि गच्छदार ‘मतदाताको खुट्टा ढोग्दै, इमोस्नल बार्गेनिङ गर्दै’
अर्को लेखमाआफ्नै गृह क्षेत्रबाट आफैंलाई मतदान गरेर तेस्रो जितको खोजीमा भीम आचार्य

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्