इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाका महिला जनप्रतिनिधिलाई नगर र वडाले उपेक्षा गरेको भन्दै महिला वडा सदस्यहरुले सामूहिक रुपमा विभिन्न मागसहित नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन ।
वडाको कुनै पनि निर्णय पारदर्शि नभएको र वडाको योजना तर्जुमा समेत बिधिवत नभई आफूखुसी गर्ने वडा अध्यक्षहरू विरुद्ध नगरप्रमुख केदार भण्डारीलाई प्रत्येक निर्णयमा अर्थपूर्ण सहभागिताको मागसहितको ध्याकार्षण पत्र बुझाएका हुन ।
एउटै निर्वाचन प्रक्रियाबाट जितेर आएको भएपनि वडाअध्यक्षहरुले आफूखुसी गर्ने, बैठकमा सोधपुछसमेत नगर्ने, निर्णयमा मात्रै सही गर्न लगाउने र महिला सदस्यहरूलाई उपेक्षा गरेको आरोपसहित इनरुवाका महिला वडा सदस्यहरुले नगरप्रमुख भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको जनाएका छन ।
नगरका १० वटै वडाका निर्वाचित महिला सदस्यहरुले सामूहिक रुपमा ध्यानाकर्षण गराउँदै नगरप्रमुखको कार्यकक्षमै पुगेर वडाको बैठक पारदर्शी गर्नुपर्ने, प्रत्येक सदस्यहरुको नेमप्लेटसहित टेबुल र कुर्सीको व्यवस्था गर्नुपर्ने, बैठक बोलाउँदा प्रस्तावसहित तीन दिन अगावै पत्र दिनुपर्ने, बैठकमा आफूहरूको पनि उपस्थिति अनिवार्य हुनुपर्ने, बैठक पुस्तिकामा हस्ताक्षर मात्रै गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने माग अघि सारेका छन् ।
वडा अध्यक्षहरूले वडाको संवेदनशील गतिविधि, विकास निर्माण, योजना तथा कार्यक्रम कार्यान्वयनको ’boutमा जानकारी नदिने, मासिक बैठकमा हस्ताक्षर गर्न मात्र बोलाउने अवस्था रहेकाले आफूहरूलाई भूमिकाविहीन बनाएको गुनासोसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
भूमिकाविहीन नभई जनप्रतिनिधिको भूमिका निर्वाहमा जिम्मेवारी दिनुपर्ने, महिला वडा सदस्यहरूलाई योजना तर्जुमा सम्बन्धी तालिम दिनुपर्ने, नगरमा महिला वडा सदस्यहरूका लागि महिला जनप्रतिनिधि सञ्जाल कार्यकक्षको व्यवस्था गर्नुपर्ने, बैठक बोलाउँदा कम्तीमा तीन दिन अगावै एजेण्डासहितको जानकारी पत्र दिनुपर्ने लगायतका मागसहित नगरप्रमुख भण्डारीलाई पत्र बुझाएको महिला जनप्रतिनिध सञ्जाल इनरुवा संयोजक सविना सिंग्देलले जानकारी दिइन ।
सहसंयोजक रन्जु पौडेलका अनुसार महिला सदस्यहरुलाई कार्यवाहक दिदा सुविधा दिनुपर्नेमा नबोलेकोले वडा अध्यक्षहरू एकलौटी गर्न थालेपनि ध्यानाकर्षण बत्र बुझाइएको हो ।
नगरप्रमुख भण्डारीले सबै महिला सदस्यहरूलाई वडाका समस्या सोधेर वडामा रहेको समस्या समाधान गर्ने र महिला सदस्यहरूको सञ्जाललाई आफूले न्यायोचित हुने गरि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नगरप्रमुखले सबै महिला वडा सदस्यहरूले माग जायज भएकाले सोहीअनुसार वडागत रुपमा समस्या सम्बोधन गर्ने बताए ।