इनरुवा । सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा सहभागि सनातन धर्म पक्षधरले मुलुकमा हिन्दुराज्य अपरिहार्य रहेको बताएका छन ।
नेपालकालागि नेपाली पार्टीको जिल्ला भेलामा सहभागिहरुले हिन्दु धर्म र आस्था माथिको बढ्दो प्रहार रोक्न समेत हिन्दुराज्य आवश्यक रहेको बताए ।
इनरुवामा आयोजित सो पार्टीको जिल्ला भेलाका अधिकांश वक्ताले खुलेयाम हुँदै आएका गौहत्या रोकिनु पर्ने धारणा राखेका छन ।
संविधान विपरित कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन वर्तमान राज्य संयन्त्र चुकेको तर्क राखेका कार्यक्रमका वक्ताहरुले दलका नेता स्वार्थगत राजनीतिमा रुमल्लिएकाले अस्थित्वको रक्षाका लागि जनता जाग्नु बाहेकको विकल्प नभएको बताए ।
डम्बर बहादुर घिमिरेको संयोजकत्वमा आयोजित जिल्ला भेलामा पार्टीका सर्वोच्च नेता सुशीलचन्द्र अधिकारी सहित केन्द्रीय अध्यक्ष सन्तोषानन्द महाराज, केन्द्रीय उपाध्यक्ष पिंकी महासेठ, केन्द्रीय महामन्त्री दिपक महाराज आत्रेय लगायत कोशी र मधेश प्रदेशका पार्टीका अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।
जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने नेपालका लागि नेपाली पार्टी सुनसरीले जनाएको छ ।
आफ्नो पार्टीलाई हिन्दुवादी पार्टी बताउने नेपालकालागि नेपाली पार्टीले जनलहर बटुल्न संगठन विस्तारलाई जोड दिंदै आएको जनाएको छ ।