इनरुवा । सुनसरीमा बालबालिकामा सर्ने महामारीको रुपमा रहेको दादुरा रोगको बिरामी भेटिएको छ ।
सुनसरीको बर्जु गाउँपालिकाको वडा नम्बर २ का एकजना ७ महिने बच्चामा दादुरा पुष्टि भएको हो ।
अति छिटो सर्ने संक्रामक रोग मानिने दादुरा बर्जुमा फेला परेको विषय स्वास्थ्य कार्यालय सुनसरीले पुष्टि समेत गरेको छ । कार्यालय प्रमुख सागर प्रसाईले ७ महिने बच्चामा दादुरा पुष्टि भएको बताए ।
प्रसाईले बच्चाको शरीरमा बिमिरा र ज्वरो आएको जानकारी पश्चात परीक्षण गर्दा दादुरा पोजेटिभ पाइएको बताए । उनले ७ महिनाको बच्चामा दादुरा पुष्टि हुनुले संक्रमण फैलिएको हुन सक्ने आशंका उब्जाएको बताए ।
प्रसाईका अनुसार कुनै पनि एउटै एरियामा एकै समयको सेरोफेरोमा वा एकै पटक ५ जना दादुरा रोगी फेला परे त्यसलाई महामारी ठानिन्छ ।
जसका आधारमा बर्जुमा एक जनामा संक्रमण पुष्टि भैसकेको र आशंकामा थप ३ जनाको स्याम्पल परीक्षण गरिएकाले सो विषयलाई स्वास्थ्य कार्यालय सुनसरीले विशेष चासोका रुपमा हेरेको प्रसाईले बताए ।
प्रदेश एकका स्वास्थ्य महाशाखाका प्रमुख समेत रहेका प्रसाईले विश्व स्वास्थ्य संगठनको टोलीले बर्जुको २ नम्बर वडामा बिरामीको नजिक रहेका र आशंका गरिएकाहरुको स्याम्पल परीक्षणको लागि नमूना संकलन गरेको बताए ।
उनले क्षेत्र, जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको टोलीले दादुरा भेटिएको बर्जुको वडाको वस्तुस्थिति जानकारी लिएको समेत बताए । प्रसाईले गाउँपालिका सँगको समन्वयमा सबै विद्यालयहरुमा दादुरासँग सम्वन्धित जानकारी बटुलिने काम भोलिबाटै सुरु गर्न लागिएको समेत बताए ।
प्रसाईका अनुसार एकजना दादुरा रोगीले १२ देखि १८ जना सम्मलाई रोग सार्न सक्ने हुन्छ । तसर्थ, उक्त विषयालाई उच्च प्राथमिकता साथ हेरिएको छ । गम्भिरतापूर्वक उक्त विषयलाई हेरिएको बताएका स्वास्थ्य प्रमुख प्रसाईले नमूना संकलन गरिएको स्याम्पल परीक्षण रिपोर्टका आधारमा थप रणनीति तय गरिने बताए ।
स्वास्थ्य कार्यालय सुनसरी प्रमुख प्रसाईका अनुसार दादुरा ५ वर्ष मुनिका बालबालिकामा बढी लाग्दछ । यसले छिटै महामारीको रुप लिन सक्दछ । जसले गम्भिर प्रकारका जटिलता निम्त्याउनुका साथै मृत्यु समेत गराउन सक्छ ।
यसैबिच स्वास्थ्य कार्यालय सुनसरीले बर्जुमा दादुरा पुष्टि भएसँगै पछिल्लो एक महिना भित्र ५ वर्ष मुनिका बालबालिकामा बिमिरा र ज्वरो जस्ता लक्षण देखा परेको भए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न जिल्लावासीमा अनुरोध गरेको छ ।