४ नम्बर क्षेत्रमा ज्ञानेन्द्र कार्कीलाई चुनौति दिन दुर्गा प्रसाई र मोती दुगडमध्ये एकलाई उठाउने

इनरुवा । सुनसरीमा सत्ता गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा उत्रिने तयारीमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र प्रतिनिधिसभा र प्रदेशसभाका लागि सासंदका उम्मेदवार बन्ने चार दर्जन आकाक्षीहरुले लविङका लागि दौडधुप सुरु गरेका छन ।

निर्वाचनको दिन आउन ९२ दिन बाँक रहँदा एमाले सुनसरी भित्र चार वटा प्रतिनिधिसभा र ८ वटा प्रदेश सभा सांसद पदका लागि उम्मेदवार बन्ने आकांक्षीहरुले जिल्लादेखि केन्द्रसम्म आफ्नो दौडधुपलाई तिब्र बनाएका हुन ।

प्रतिनिधिसभा र प्रदेशसभा गरी १२ पदका लागि अहिले तीन दर्जन आकांक्षी नेताहरुले लविङ तिब्र बनाएका हुन । उनीहरु अहिले तल्लो कमिटीबाट आफ्नो चर्चामा ल्याउन र माथिल्लो नेताहरुसँग लविङ गर्न लागिपरेका हुन ।

एमाले स्रोतका अनुसार सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सांसदका लागि अहिलेका सांसद जयकुमार राई, एमाले स्थायी कमिटी सदस्य भीम आचार्य, प्रदेश १ सभाका सभामुख प्रदिप भण्डारी आकांक्षी देखिएका छन ।

त्यसैगरी प्रदेशसभा १ क तर्फ रमेश बस्नेत र मोतिराज सुनुवार आकांक्षी देखिएका छन । प्रदेशसभा १ ख बाट विजय राई, योग्यराज खड्का, नन्द बस्नेत र गणेश गुरागाई आकांक्षी देखिएका छन ।

त्यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा एमाले सस्थापन पक्ष भित्रका मुख्य नेता खेमराज पोखरेल प्रमुख दावेदारका रुपमा देखिएका छन । उनलाई एमाले स्थायी कमिटी सदस्य भीम आचार्य लगायतका अन्य नेताहरुको समर्थन रहेको बताईन्छ । यसै क्षेत्रका सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीसमेत आकांक्षी देखिएका छन ।

अर्का नेता डम्बर सुवेदी, प्रदेश सांसद लिलम बस्नेत पनि आकांक्षी छन । सुवेदी माओवादीबाट एमालेमा आएका नेता हुन । उनी नेता रामबहादुर बादल निकट नेता हुन ।

यो क्षेत्र स्थायी कमिटी सदस्य भीम आचार्यको समेत गृह क्षेत्र भएकोले उम्मेदवार ब्यवस्थापनमा सकस भए उनी आफै पनि उम्मेदवार बन्ने सम्भावना रहेको बताईन्छ । यो क्षेत्रको प्रदेशसभा क मा रामप्रसाद चौलागाई, द्धारिकलाल चौधरी र राम कोइरालाले आफ्नो दावी प्रस्तुत गरेका छन ।

प्रदेशसभा ख मा भने यसअघि उम्मेदवार बनेका रामप्रसाद मेहता नै उम्मेदवार बन्ने निश्चित जस्तै रहेको एमाले नेताहरुले बताईरहँदा त्यहाँ पनि जिल्ला सचिव पर्शुराम यादव, देबानन्द मेहता र ताहिर अन्सारीको पनि दावी देखिएको छ ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट दुई पटक पराजित भएकी भगवती चौधरीलाई पुनः तेस्रो पटकको लागि निरन्तरता दिने निश्चित जस्तै रहेको एमाले नेताहरु बताउँछन । सो क्षेत्रको प्रदेशसभा क तर्फ लिलम बस्नेत, तैयब हुसैन र रोहित कार्कीको नाम चर्चामा छ ।

तर नेपाली कांग्रेसबाट रुष्ट बनेर अलग बसिरहेको प्रदिप चौधरी समूहलाई साथमा लिएर जाने स्थिति बनेमा सो प्रदेशसभामा चौधरी समूहकै उम्मेदवार बन्ने सम्भावना रहेको एक एमाले शिर्ष नेताले वताए ।

सो क्षेत्रको प्रदेश ख मा रामदेब यादव र वालेश्वर चौधरीको नाम चर्चामा छ । त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मुलुककै चर्चित क्षेत्र बन्ने देखिएको छ ।

त्यहाँ नेपाली कांग्रेसबाट सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दोहो¥याउने निश्चित प्रायः देखिदा एमाले उनको उम्मेदवारीलाई दह्रो चुनौति दिने गरी जिल्ला बाहिरबाट नेता ल्याएर उम्मेदवार बनाउने तयारी गरिरहेको छ।

एमाले स्रोतका अनुसार कार्कीलाई सबै क्षेत्रबाट चुनौति दिन सक्ने गरी बी एण्ड सी मेडिकल कलेज विर्तामोडका सञ्चालक एवम एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाई र देशकै चर्चित ब्यापारी विराटनगर घर भएका मोति दुगड मध्ये एकलाई उम्मेदवार बनाउने तयारी रहेको छ ।

सुनसरी क्षेत्र नम्बर ४ सधै पैसाको प्रभावमा पर्दै आएको क्षेत्र भएको र यहाँ स्थानीय भन्दा सधै बाहिरकै उम्मेदवारले जित्दै आएकोले एमालेले सबै शक्ति परिचालन गर्न सक्ने उम्मेदवार बनाउन लागेको हो ।

त्यहाँ एमालेका पुराना नेता जगदिशप्रसाद कुसियत समेत आकांक्षी रहेका छन । कुसियतले तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले छाडेको क्षेत्रमा उनका उत्तराधिकारी प्रकाश कोइरालालाई हराएर चर्चा कमाएका थिए ।

सो क्षेत्रको प्रदेशसभा क मा तोया खनाल, बद्री नाथ घिमिरे, कमलेश्वरी खेरवार, कोषराज भट्टराईको दावी देखिएको छ भने प्रदेशसभा ख मा इनरुवाका आदिबासी जनजाति समुदायका नेता कालुराम गुरुङको प्रमुख दावेदारी देखिएको छ ।

यद्यपि त्यहाँ गुरुङसँगै २ नम्बर निर्वाचन क्षेत्रका नेताहरु पर्शुराम यादव, ताहिर अन्सारीसमेत आकांक्षी रहेका छन । यसैगरी घुस्की घर भएका एमाले जिल्ला सदस्य अक्रम आलमसमेत आकांक्षी देखिएका छन ।

अघिल्लो लेखमासत्ता गठबन्धनको मुख्य घटक नेकपा एस सुनसरीमा दर्जनौ आकांक्षी
अर्को लेखमागाँजा कारोवारीहरुको नयाँ रुट : हावा भरिएको ट्युबभित्र गाँजा भरेर सप्तकोशीको बाटोबाट भारततर्फ तस्करी

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्