इनरुवा । सुनसरी क्षेत्र नम्बर २ बाट नेकपा एमाले–जसपाको तर्फबाट संयूक्त रुपमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको उम्मेदवार बनेका भीमप्रसाद आचार्य र रामप्रसाद मेहता क्षेत्रका निराश जनताको आशा जीवित राख्ने बैकल्पिक शक्तिको रुपमा स्थापित हुने रणनीतिका साथ जनताको माँझ आक्रामक रुपमा पुगिरहेका छन ।
निरन्तर एउटै पार्टीका उम्मेदवार निर्वाचित हुँदै आएको सो क्षेत्रमा विकासको काम र नयाँ नेतृत्वको विकास हुन नसकेको लगायतका विषयलाई लिएर निराश बनेका जनताहरुको लागि उपयूक्त विकल्प बन्ने योजनाको साथ उनीहरु जनतामाँझ आक्रामक रणनीतिका साथ पुगिरहेका छन ।
एउटै भुगोलमा यो बिचमा चार पटकसम्म पुगिसकेका उनीहरु मौन अवधी सुरु हुनु भन्दा अघिसम्म पनि यो क्रमलाई तिब्रता दिएर निराश र असन्तुष्टहरुलाई निराशालाई आशामा बदल्न आग्रह गर्दै भेटघाट गरिरहेका छन ।
यो क्षेत्रबाट नेकपा एमाले अहिलेसम्म जित्न सकेको छैन । यसपटक यो क्षेत्रमा राम्रो पकड रहेको जसपासँग गठबन्धन गरेको एमालेले स्थानीय तहमा प्राप्त गरेको मतको आधारमा कांग्रेस गठबन्धनभन्दा धेरै अगाडि रहेकोले सो मतको रक्षा गर्दै निराश मतदाताहरुमा आशा छर्दै पहिलो पटक यो क्षेत्रमा जित निकालेर इतिहास बनाउने रणनीतिमा छन ।
यसको लागि एमाले र जसपाले उम्मेदवारसहित, उम्मेदवार बाहेक घरदैलो मात्रै गरिरहेका छैनन । प्रभावशाली दुबै दलका नेताहरुको अलग–अलग टिम बनाएर गाउँ गाउँमा रहेका निराश र असन्तुष्टहरुलाई फकाईरहेका छन ।
जसपाका केन्द्रीय सदस्य दिलिपचन्द साहु भन्छन, ‘यसपटक हामी फरक रणनीतिले विपक्षीलाई ठूलो मतान्तरले पराजित गर्ने रणनीतिका साथ संयूक्त रुपमा अगाडि बढेका छौ । निराश र असन्तुष्ट मतदाताहरुमा आशाको सञ्चार गर्दै एकपटक आफूहरुका उम्मेदवारलाई परिक्षण गरेर अवसर दिन आग्रह गरिरहेको र उनीहरुमा पनि आशाको सञ्चार भईरहेको छ ।’
उनी २०७४ सालको निर्वाचनभन्दा अहिलेको स्थिति फरक भएको रहेकोले परिणाम पनि फरक हुने तर्क गर्छन। साहु भन्छन, ‘यो पटक धेरै युवा सचेत मतदाताहरु थपिनु भएको छ । उहाँहरु एउटै ब्यक्ति र पार्टीले जित्दा पनि काम हुन नसकेकोमा चिन्तित हुनु हुन्छ ।
अहिले हामीले विकल्पमा हामीलाई मत दिनु भन्नु भन्दा पनि गाउँ गाउँका युवाहरु आफै विकल्पको खोजीमा एमाले–जसपाका उम्मेदवारलाई हेरेर स्वस्फुर्त रुपमा अभियानमा सहभागि भईरहनु भएको छ ।’
रामप्रसाद मेहता यसअघिको निर्वाचनमा उम्मेदवार हुँदा विजयी हुनेको मतभन्दा बढी मत बदर भएर जनमत हुँदा हुँदैपनि प्राविधिक रुपमा पराजित भएका नेता भएकोले उनको प्रति यस क्षेत्रका जनताको बढी चिन्ता देखिन्छ ।
देवानगञ्जका मतदाता रामविलास मेहता भन्छन, ‘रामप्रसादजीलाई मतदाताले विश्वास गरेपनि मत हाल्न नजाँदा उहाँ पराजित हुनु भयो । यसपटक उहाँप्रतिको सेम्पेथी अझै बढेको छ । जनता मत बदर नहुने गरी जिताउन यसपटक सचेत छन ।’
अर्का मतदाता हरिकृष्ण साह भीम आचार्य केन्द्रीय राजनीतिमा पकड भएको पूर्व मन्त्री र मुख्यमन्त्री समेत रहिसकेको ब्यक्तित्व भएकोले विकासको कारण निरास बनेको जनता उनको उम्मेदवारीले केही न केही भएपनि परिवर्तन हुने आशाका साथ उनको पक्षमा उभिएको बताउँछन।