इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू बस्दै आएको इनरुवा ३ मा मंगलबार पैदल घरदैलो गरेका छन ।
ठूलो संख्यामा कार्यकर्ता, समर्थक र सुभचिन्तकहरु सहित घरदैलोमा निस्किएका मन्त्री कार्कीले घर–घरमा पुगेर मतदातालाई हात मिलाउँदै भेट्नुका साथै चिया पसलहरुमा जम्मा भएका स्थानीयहरुसँग पसलमै पसेर हात मिलाउँदै भलाकुसारीसहित मत मागेका थिए ।
नेपाल सरकारको मन्त्री जस्तो ब्यक्ति मतदातालाई भेट्न घर घर र पसल पसलमा पुगेर आत्मीयता साटासाट गर्दा मतदाताहरु उत्साहित भएका थिए ।
इनरुवा ३ कृषि विकास बैंक अगाडिको चियापसलमा आएका मन्त्री हात मिलाएर भलाकुसारी गरेका सञ्जय मण्डलले भने, ‘मन्त्री जस्तो मान्छे, हामीसँग सहज रुपमा हात मिलाउँदै भलाकुसारी गर्नु भयो । उहाँ त साह्रै सहज र भद्र ब्यक्तित्व हुनु हुँदो रहेछ । नेता हुनु त उहाँ जस्तो।’
सोही चियापसलमा चिया पिएर बसिरहेका मन्त्रीका कार्कीको प्रमुख प्रतिष्पर्घीको रुपमा हेरिएका नेकपा एमालेका उम्मेदवार जगदिश कुसियैतका भजिता अजय कुसियैतसँग पनि मन्त्री कार्कीले हात मिलाएर भोट मागेका थिए ।
मन्त्री कार्कीले राजनीतिक प्रतिष्पर्घा आफ्नो ठाँउमा भएपनि आफूहरु सबै एकै क्षेत्रका नागरिक भएकोले भेट्दा मत मागेको बताउँदै राजनीतिक प्रतिष्पर्घा र ब्यक्तिगत सौहार्दता फरक विषय भएको बताए ।
अजय कुसियतले आफूहरु सधै चिया पिउने ठाँउमा उम्मेदवार कार्की आएर आफूसँग हात मिलाएको बताए ।
मर्निङ वाकमा हिडिरहेका मुकुन्द खनालले मन्त्री जस्तो ब्यक्ति सुरक्षाको तडकभडक विना जनतासँग भेट्न आउँदा खुसी लागेको बताए । उनले मन्त्रीहरु निर्वाचनभन्दा अरु समयमा पनि यसरी नै जनतालाई भेट्न र कुरा सुन्न आउने हो भने राजनीतिक संस्कारमा आमुल परिवर्तन आउन सक्ने धारणा राखे ।
सो क्रममा कार्कीले इनरुवा ३ सखुवागाछीदेखि इनरुवा ३ हुलाक एरियालगायतका क्षेत्रका मतदाताहरुलाई भेटघाट गरेर आगामि मंसिर ४ गते हुने निर्वाचनमा विकासको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।
उनले आफू राजनीतिक रुपमा प्रतिष्पर्घा गर्ने भन्दा विकासको काममा प्रतिष्पर्घा गर्दै सुनसरी ४ को ऐतिहासिक विकास गर्ने उद्देश्यसाथ आएको र पहिला कार्यकालमा धेरै विकास गरेको उल्लेख गर्दै पुनः निर्वाचित भए अहिलेको तुलनामा चार दोब्बर बढी विकासका कामहरु गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।