इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवा ४ हनुमान चौकबाट निर्माण सुरु गर्ने गरी हालै शिलान्यास गरेको इनरुवा–देबानगञ्ज सडक देवानगञ्जबाट निर्माण प्रारम्भ भएको छ ।
आफ्नो पहलमा सो राजमार्ग कोशी प्रदेश सरकारले बजेट बिनियोजन गराएको भन्दै शिलान्यास लगत्तै इनरुवा ४ हनुमान चोकबाट निर्माण सुरु हुने दावीसहित तामझाम गर्दै शिलान्यास कार्यक्रम गरिएपनि बुधवारबाट देवानगञ्जबाट निर्माण प्रारम्भ भएको हो । सोही सडकको बुधवार एक कार्याक्रमकाबीच देवानगञ्जबाट निर्माण कार्यको शुभारम्भ गरिएको हो ।
एउटै सडक दुई ठाँउमा शिलान्यास गरिएको विषयमा प्रदेश सरकार भौतिक योजना मन्त्रालयका कर्मचारीहरुले नेपाली कांग्रेसका नेता तथा सुनसरी क्षेत्र नम्बर ४ का सांसद ज्ञानेन्द्र बहादुर कार्कीले उक्त सडकको शिलान्यास एकोहोरो रुपमा जवरजस्ती इनरुवामा गराएको बताएका छन ।
तर सडकको जिरो पोइन्टबाट निर्माण कार्यको थालनी हुनुपर्ने र शिलान्यासपनि देवानगञ्जमै हुनुपर्ने चौतर्फी अवाज उठेपछि पूर्वाधार विकास कार्यालय, विराटनगरले बाध्य भएर अर्को एक कार्यक्रमको आयोजना गर्दै देवानगञ्ज ६ राजगञ्ज सिनुवारीबाट निर्माण कार्यको शुभारम्भ गरेको हो । उक्त नयाँ सडकको बुधवारदेखि निर्माण कार्य सुरु भएको छ भने स्थानीयले समेत खुसी हुँदै साथ दिएका छन् ।
यस अघि कार्कीद्वारा गरिएको उल्टो शिलन्यासको आजदेखि औचित्य समाप्त भएको स्थानीयहरुले बताएका छन् । यस अघि कार्कीको शिलान्यास इच्छा पुरा गराउन सुनसरी क्षेत्र नम्बर २ को विकासे आयोजनालाई क्षेत्र नम्बर ४ मा जोडेर इनरुवा स्थित हनुमान चोकमा शिलान्यास गराइएको थियो । तर उक्त कार्यक्रमको क्षेत्र नम्बर २ का स्थानीयदेखि संघसम्मका प्रतिनिधिहरुले बहिष्कार गरेका थिए ।
कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार विकास कार्यालय, विराटनगर अन्तरगतको उक्त बहुवर्षे योजनाको १० किलोमिटर सडक यो आर्थिक वर्षमा ठेक्का लागेको हो ।
कार्यालयका प्रमुख शुसिल श्रेष्ठका अनुसार यो ठेक्काको कार्य ३ वर्षमा पुरा गर्नुपर्ने छ । जम्मा ३२ करोडको उक्त कार्य गर्न ठेकेदारले यस आर्थिक वर्षमा ५ करोड पाउने छन् ।
निर्माण कार्यको शुभारम्भ कार्यक्रमा अध्यक्षता गरेका देवानगञ्ज गाउँपालिका पालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले यो इनरुवाबाट निर्माण कार्य सुरु भएको भए १० वर्षसम्ममा पनि देवानगञ्जसम्म पुग्ने थिएन भनि दावी गरे ।
उनले आफूहरु यस क्षेत्रका जनप्रतिनिधिहरु हातेमालो गरेर यो सडकको निर्माण कार्य देवानगञ्जबाट सुरु गरेको दावी गर्दै सडक निर्माणपछि देवानगञ्जको समग्र विकासमा धेरै ठुलो सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा सुनसरी क्षेत्र नम्बर २ का प्रदेश सांसद रामप्रसाद मेहताले सो सडक देवानगञ्जबाट निर्माण कार्य सुरु गराउन निकै संघर्ष गरेको अनुभव सुनाए । उनले भने, ‘केन्द्रको बल लगाएर देवानगञ्जबाट सुरु गर्नु पर्ने सडक इनरुवा ४ मा शिलान्यास गरेर जस लिन खोजिएको थियो तर सत्यको सधै जित हुन्छ भने जस्तै जे योजना थियो सोहीअनुसार देवानगञ्जबाट निर्माण सुरु गरियो ।’
उनले विकास निर्माणका कामहरुलाई योजनाअनुसार नै निर्माण गर्न सहजिकरण गर्नु पर्ने भन्दै जस लिन होडबाजी गर्दा योजना तुहिने स्थिति उत्पन्न हुने भएकोले कसैले पनि त्यसो नगर्न सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार विकास कोशी प्रदेश मन्त्री दुर्गा प्रसाद चपागाईले आफुलाई भ्रममा राखेर इनरुवामा शिलन्यास गरिएको खुलासा गरे । उनले भने, ‘कुनै पनि आयोजना उद्योगम बिन्दुबाटनै सुरु गर्नु पर्छ । त्यसै स्वरुप आज देवानगञ्जबाट नै कामको शुभारम्भ गरिएको छ ।’
सुनसरी दक्षिणीभेग अभियन्ता वीरेन्द्र केएमले यसअघि नै देवानगञ्जमै हुनुपर्ने शुभारम्भकार्य ढिलै भएपनि आजबाट निर्माणकार्य सुरु भएर दक्षिणीभेगको जीत भएको बताएका छन् ।
‘यो देवानगंजको जीत हो, अब देवानगंजका बासिन्दा सचेत भइसकेका छन् ।’ उनले भने – ‘कुनै नेताले आफ्नो पावर लगाएर देवानगंजको आयोजनालाई जर्वजस्ती इनरुवामा शिलान्यास गराएपनि अन्ततः त्यो गलत ठहरिएको छ ।’
देवानगंज गाउँपालिकाको वडा नम्बर ६ अर्थात् रासीको चमैनिया पोखरीबाट सुरु भएको उक्त बाटो सोही पालिकाको इट्टाभाट्टा क्षेत्र हुँदै, गौतमपुर हुँदै, जल्पापुर ठूलो मदर्सा हुँदै, साबिक बबिया वडा ८ हुँदै, खत्वे टोल, यादव टोल, साहु टोल हुँदै, जयनारायण भुजा मिल हुँदै, रामजानकी मन्दिर हुँदै, कुसुम गाछी हुँदै हालको इनरुवा ६ मा रहेको शसस्त्र क्याम्प हुँदै हनुमान चौकबाट राजमार्गमा जेडिनेछ । यो पुरै एरिया सुनसरी २ हो र यसमा ५०० मिटर मात्र सुनसरी ४ को क्षेत्र पर्छ । पुर्वाधार कार्यालयाका अनुसार यस बाटोको जिरो पोइन्ट देवानगञ्ज ६ हो ।
यो बाटोको रेखाङ्गकन तत्कालीन संविधानसभा सदस्य सिताराम मेहता मार्फत भएको थियो । २०७२ सालमा मेहता भौतिक योजना राज्यमन्त्री भएपछि मन्त्रालयले उक्त बाटोको डिपिआर गराएको थियो ।
त्यसपछि लोसपा नेता राजेन्द्र महतो उपप्रधानमन्त्री तथा शहरी मन्त्री बनेपछि उनका स्वकीय सचिव सन्तोष मेहताले उक्त सडकलाई राष्ट्रिय योजनाको सडकसँग जोडाएका थिए।
त्यसपछि उक्त योजना प्रदेश सरकार मातहतमा हस्तान्तरण भएको थियो । बहुबर्षे योजना अन्तरगत तत्कालिन प्रदेश सांसद राजीव कोइरालाको पहलमा यस आर्थिक वर्षबाट बजेट छुट्याईएको थियो ।