इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीकातर्फबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका कुञ्जिलाल यादव र प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष मेहता नेपाली कांग्रेस र नेकपा एमालेका असन्तुष्ट मतदाता फकाउँदै आफ्नो पक्षमा चुनावी माहौल बनाउन लागि परेका छन ।
सुनसरी ४ मा नेपाली कांग्रेस र नेकपा एमालेका गठबन्धनभित्रका असन्तुष्ट स्थानीय नेता कार्यकर्ताहरुलाई भेटेर आफ्ना पक्षमा मतदान गर्न आग्रह गर्दै उनीहरु मतदातालाई भेट्न घरदैलोमा पुगिरहेका छन ।
प्रदेशसभा सदस्य उम्मेदवार मेहताले आफ्नो चुनावी अभियानको क्रममा कांग्रेस र एमालेको गठबन्धनबाट रुष्ट धेरै स्थानीय नेता तथा कार्यकर्ताहरु जोडिन आईपुगेको भन्दै उनीहरुको भावनालाई संवोधन गर्दै आफुहरु जनताको घरदैलोमा गईरहेको बताए ।
उनले भने, ‘अरु पार्टीका असन्तुष्ट साथीहरु आफैले सम्पर्क गरिरहनु भएको छ । हामीलाई अहिले उहाँहरुलाई भेट्न भ्याई नभ्याईछ । यद्यपि हामी उहाँको कुरा सुन्दै घरदैलो अभियानलाई समेत अगाडि बढाईरहेका छौ ।
नेपाली कांग्रेसबाटै विद्रोह गरेर लोसपाबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका कुञ्जिालाल यादवले भने, ‘ सुनसरी ४ मा कांग्रेसभित्रै बाहिरका उम्मेदवार बनाएकोमा धेरै असन्तुष्टी छ ।
अहिले हामी कांग्रेसका असन्तुष्ट नेता कार्यकर्ताहरुको साझा उम्मेदवार बनिरहेका छौ । हामीसँग जोडिने साथीहरुको संख्या दिनदिनै बढ्दो क्रममा छ ।’
उनले आफूहरुको चुनावी अभियान लोसपाका कार्यकर्ताहरुसँग नेपाली कांग्रेस र नेकपा एमालेका असन्तुष्ट कार्यकर्ताहरुले चलाईरहेको बताउँदै आफूहरुको जितलाई कसैले रोक्न नसक्ने विश्वास ब्यक्त गरे ।