इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का एमाले र कांग्रेस दुबै गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार इनरुवा नगरपालिका क्षेत्रकै स्थायी बासिन्दा भएकोले इनरुवाको निर्णायक मतदाताको समर्थन आफ्नो पक्षमा पार्न दुबै पक्षका उम्मेदवारहरु इनरुवामा केन्द्रीत भएका छन ।
आफ्नो गृह पालिकाबाट प्राप्त हुने मतलाई प्रतिष्ठाको मत भएको र इनरुवाकै मतले जितहारलाई निश्चित गर्ने स्थिति भएकोले सबैजना आफ्नो क्षेत्रका मतदातालाई आफ्नो पक्षमा लागेका हुन ।
बिशेष रुपमा नेकपा एमालेका उम्मेदवारहरु प्रतिनिधिसभा सदस्य पदका भीमप्रसाद आचार्य र प्रदेशसभा सदस्य रामप्रसाद मेहताले अहिले आफ्नो केन्द्र नै इनरुवा बनाएका छन । उनीहरु केही दिनदेखि इनरुवाका मतदाताहरुको घरदैलोमा पुगिरहेका छन ।
दुई दिनसम्म इनरुवा वडा नम्बर २ मा घरदैलो गरेका उनीहरुले मंगलबार वडा नम्बर २ का केही भाग र वडा नम्बर १ मा घरदैलो गरेका छन । त्यसअघि उनीहरुले इनरुवा १० र ९ मा घरदैलोसहित चुनावी अभियान गरिरहेका छन ।
उम्मेदवार सहित र उम्मेदवार विना पनि स्थानीय कमिटीले घरदैलो गरिरहेको इनरुवालाई एमाले–जसपा गठबन्धनका उम्मेदवारहरुले बढी समय दिईरहेका छन ।
उनीहरुले अबको केही दिन इनरुवाको वडा नम्बर ५ र ६ मा घरदैलो गरेर आफ्नो गृहपालिकामा आफूलाई अब्बल सावित गर्न लागिरहेका छन । उनीहरुलाई घरदैलोमा स्थानीयहरुले पनि उत्साहका साथ फूल, माला अविर लगाएर विजयको शुभकामना दिनुका साथै उनीहरुको चुनावी अभियानमा नाच गान गर्दै साथ दिईरहेका छन ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भीमप्रसाद आचार्यले आफूले अरु क्षेत्रमा चुनाव लडेर ति क्षेत्रमा उल्लेख्य विकास गरेको भन्दै अब राजनीतिको उत्तरार्धमा आफ्नै गृह क्षेत्रलाई आफ्नो राजनीतिक जीवन समर्पित गर्ने अन्तिम लक्ष्यसहित चुनावी अभियानमा रहेको बताए ।
उनले भने, ‘अब म आफ्नो क्षेत्रमा आएको छु । मेरो केन्द्रीय राजनीतिक पहुँच, मेरो राजनीति शक्ति, स्रोत सबै आफ्नो गृह क्षेत्रको विकासमा लगाउछु । यो क्षेत्रलाई म अब जिल्लाकै नमुना जिल्ला बनाउछु । ३० वर्षदेखि शासन गरेकाहरुले केही गर्न सकेनन, पाँच वर्षमा म उल्लेख्य काम गरेर देखाउछु ।’
प्रदेशसभा सदस्य उम्मेदवार रामप्रसाद मेहताले आफूले रेडक्रसदेखि जल उपभोक्ता समिति र अस्पताल ब्यवस्थापन समितिको सदस्यको रुपमा यहाँका जनतालाई सकेको सेवा गरिरहेको भन्दै अब राजनीतिबाट सेवा गर्ने प्रतिबद्धता लिएर जनतामा गईरहेको बताए ।
उनले भने, ‘म शक्तिमा नरहेपनि जनताको सेवामा समर्पित रहँदै आएको छु । जनताले प्रदेशसभामा अवसर दिए कसैले गुनासो गर्न नसक्ने गरी काम गर्छु ।’