झुम्का । सुनसरीको झुम्का रहेको क्षेत्रीय कारागारमा कैद सजाय भुक्तानी गरिरहेका र पुर्पक्षका लागि थुनामा रहेका करिब ७ सय बढी कैदी थुनुवालाइ्र्र छाला रोगको समस्या देखिएको छ ।
जिल्ला अस्पताल सुनसरी इनरुवाका मेडिकल सुपरिडेन्टेड डा. देवराज घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीसँगको सहकार्यमा कारागारमा गरिएको तीनदिने स्वास्थ्य परिक्षणका क्रममा अधिकांश कैदीबन्दी थुनुवाहरुमा छालाको संक्रमण फेला परेको हो ।
डाक्टर घिमिरेले भने, ‘स्वास्थ्य जाँच गराएका कैदीमा छाला सम्बन्धी दाद र लुतोको संक्रमणले धेरैको शरीरमा समस्या देखिएको छ । समुहमा बस्ने भएकाले छाला रोगको सक्रमण एकअर्कामा सर्दै फैलिने भएकाले कैदीहरु छाला रोगबाट सक्रमित हुन पुगेका हुन ।’
४० जना चिकित्सकसहितको टोलीले तीनसम्म गरेको स्वास्थ्य जाँचका क्रममा कैदीहरुमा शरीर चिलाउनेदेखि दाद र लुतोसम्मका समस्या देखिएको छ ।
त्यसैगरी मानसिक समस्या, हाडजोर्नी, हर्निया, आँखा र सुगर प्रेसरका रोगी मेत स्वास्थ्य जाँचका क्रममा पाइएको घिमिरेले बताए ।
कारागार प्र्रमुख भिमप्रसाद भट्टराईले बताएअनुसार सबैमा समान स्वास्थ्य पहुँचको उद्देश्य अनुरुप निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याइएको हो ।
कैदीबन्दीको स्वास्थ्य जाँचको लागि कारागार प्रशासनले दुई चरणमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको थियो ।
प्रमुख भट्टराईले तीन दिनसम्म संचालित स्वास्थ्य शिविरबाट कारागारको ए र बी ब्लकमा रहेका १ हजार ६ सय ८० जना कैदीबन्दी लाभान्वित भएको बताए।
जाँचका क्रममा बिशेषज्ञ सेवा, जनरल मेडिसिन सेवाका साथै छाला रोग, हाडजोर्नी, नाक कान घाँटी, भिडियो एक्स रे र सर्जरी सहितको सेवा उपलब्ध गराइएको भट्टराईले बताए । स्वास्थ्य जाँच गराउनेहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको उनले जनाए ।
भट्टराईले कारागारले कैदीबन्दीलाई लक्षित गरी यसअघि समेत स्वास्थ्य जाँचको बन्दोवस्ती मिलाउँदै आएको जानकारी दिए । जसलाई उनले निरन्तरता दिने समेत बताए । जेलर भट्टराईले कैदीहरुको मनोरञ्जनदेखि खेलकुद जस्ता गतिविधिमा समेत कारागार कार्यालयले ध्यान दिदै आएको बताए ।
कारागारामा आयोजना गरिएको स्वास्थ्य शिविरको सुनसरीका प्रजिअ हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक प्रभप्रसाद ढकाल र सशस्त्र प्रहरी नायब उपरीक्षक बलराम प्रसाईले संयुक्त अनुगमन गरेका थिए ।