कृष्ण बहाब, सुनसरी । सुनसरीको चर्चित क्षेत्र क्षेत्र नम्बर ३ बाट आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पुनः नेकपा एमालेबाट भगवती चौधरी र नेपाली कांग्रेसबाट विजयकुमार गच्छदारबीच प्रतिष्पर्घा हुने लगभग निश्चित जस्तै बनेको छ ।
एमालेले चौधरी र कांग्रेसले गच्छदारको नाम प्रतिनिधिसभा सदस्यको रुपमा सर्वसम्मतिमा एकल रुपमा गरेको छ ।
नयाँ निर्वाचनको बिषयमा लिएर राजनीतिक जोडघटाउ सुरु भईरहँदा एउटा पुरानो निर्वाचनका विषय भने ओझेलमा परेको छ ।
२०७४ सालको निर्वाचनमा लगातारका सांसद विजयकुमार गच्छदारले सो निर्वाचन पनि जितेका थिए । गच्छदारले ३२१ मतान्तरले चौधरीलाई पराजित गरेका थिए । सो विषयको विवाद अहिले पनि न्यायिक प्रक्रियामै छ । पुरानै विषय न्यायिक प्रक्रियामा रहेकै बेला नयाँ उम्मदवारीको विषयले चर्चा पाएको हो ।
तत्कालिन समयमा गच्छदारको जितलाइ सहज मानिएको थिएनन । सत्तामा रहेका गच्छदारले मतगणनाको क्रममा निकै ठूलो लबिङ गरे । सुनसरीकै अन्य क्षेत्रको सहज गणना भएको बेला गच्छदारको निर्वाचन क्षेत्रको गणनामा भने निकै हानथाप भयो । प्रहरी बाक्लै परिचालन भयो । विवाद चुलियो । तर, प्रहरीको बाक्लो उपस्थितिको बीच परिणाम घोषणा भयो त्यतिबेला ।
विवादित बनेको सो निर्वाचन परिणामको विरुद्ध चौधरी सर्वोच्च अदालतमा पुगिन् । गच्छदारले निर्वाचन आचारसंहिताविपरीत लतपतिएको र बदर मतसमेत रुख चिन्हमा गणना गर्न लगाएको, मतगणनाको १९ औँ लटमा नौवटा अर्धकट्टीसहितको मतपत्र पाइएको, निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्न नदिएको लगायतको आरोप लगाउँदै चौधरीले पुनः मतगणना गर्नुपर्ने मागसहित ११ पुस, २०७४ मा सर्वोच्चमा मुद्दा हालिन् ।
मुद्दा परेको तेस्रो दिन अर्थात् १४ पुसमा संवैधानिक इजलासले कारण देखाऊ आदेश जारीसमेत गरेको थियो । तर, त्यसपछि भने सो मुद्दामा कुनै ‘डेभलपमेन्ट’ भएन । मुद्दा पटक–पटक पेसी चढ्यो । इजलास बस्यो । तर, फैसला भने आएन ।
०७४–सीआर–००२७ नम्बरको सो मुद्दा प्रक्रियागत विवरण हेर्दा १४ पुस ०७४ देखि २७ पटक तारेख र १३ पटक पेसीमा चढेको छ । बेलाबेला बस्ने संवैधानिक इजलासमा पेसी तोकिएको समयमा समेत ‘हेर्न नभ्याइने’ मा परेको देखिन्छ । हेर्न नभ्याइने सूचीमा पर्ने यही मुद्दालाई आउँदो असोज २६ को पेसी तारेख दिइएको छ । तर, त्यति बेला पनि यो मुद्दा समाधान हुन्छ भन्ने भरपर्दो आधार भने देखिँदैन ।
‘सर्वोच्च अदालतले शक्तिको भरमा गरेको मतगणनाको रिजल्ट उल्ट्याउँछ भन्ने लागेर मुद्दा हालेको थिएँ । तर, त्यहाँबाट पनि पार लाग्ने स्थिति छैन’, चौधरीले भनिन्, ‘अब त अर्को चुनाव आइसक्यो । फैसला गरेर पनि हुन्छ र?’
फेरि चुनावी मैदानमा चौधरी र गच्छदार !
निर्वाचनको मत परिणामलगत्तै सर्वोच्चको ढोका ढकढक्याउन पुगेकी थिइन् चौधरी । गच्छदारले सत्ताको दुरुपयोग गरेर निर्वाचन जितेको उनको आरोप थियो । तर, आरोपमाथि सर्वोच्चले ०७४ को प्रतिनिधिसभाको मत परिणाम’bout कुनै फैसला दिएको छैन ।
०७४ को मत परिणामको विवाद रहिरहेकै बेला भगवती चौधरी र विजयकुमार गच्छदार पुनः प्रतिनिधिसभाको चुनावी ‘रेस’ मा देखिएका छन् । गत चुनावमा एक आपसमा प्रतिस्पर्धामा उत्रिएका चौधरी र गच्छदारलाई योपटक पनि उनीहरूको पार्टीले उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
सर्वोच्च अदालतले निसाफ गर्न नसकेपछि पुनः आफू निर्वाचनको प्रतिस्पर्धामा होमिएको चौधरीले बताउँछिन् । गत शनिवार एमालेको क्षेत्रीय कमिटीको बैठकले चौधरीलाई प्रतिनिधिसभाको लागि सर्वसम्मत उम्मेदवार चयन गरेको छ । २०७० र २०७४ सालको निर्वाचनमा उम्मेदवार बनेकी चौधरी २ पटक नै गच्छदारसँग पराजित भएकी थिइन । चौधरीलाई यो पटकसमेत गरेर तेस्रो चोटी एमालेले उम्मेदवार बनाउने तयारी गरेको छ ।
भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका विजयकुमार गच्छदारलाई यो पटक पनि कांग्रेसले मैदानमा उतार्ने भएको छ । गत शनिवार बसेको नेपाली कांग्रेसको क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदरका लागि सर्वसम्मत रूपमा गच्छदारलाई सिफारिस गरेको छ ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर भएपछि गच्छदारको सांसद पद अहिले निलम्बनमा छ । विशेष अदालतले दस लाख धरौटीमा छोडे पनि मुद्दा नटुङ्गिएकाले सांसद पद अझै निलम्बनमा छ ।
पद निलम्बनमा परेका व्यक्ति भए पनि पुनः निर्वाचनमा उठाउने तयारीलाई कांग्रेसले गच्छदार निर्दोष रहेको सन्देश दिन चाहन्छ । गच्छदारले समेत अदालतमा रहेको आरोपलाई जनताको आदेशबाट निर्दोष हुन चाहेको बताएका छन् ।
गच्छदारले आफूमाथि एमाले सरकारले विनाकारण मुद्दा लगाएको दाबी गर्दै आएका छन् । शुक्रबार गृह जिल्ला हुँदै निर्वाचन क्षेत्र आएका गच्छदारले आफूले फेरि निर्वाचन जित्ने दाबी गरेका थिए । भेटघाटको क्रममा उनले भने, ‘मेरो जनधार राम्रो छ । मै चुनाव जित्छु र न्यायपालिकाले मलाई न्याय पनि दिन्छ ।’