प्रिमियर लिग क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेल सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा चेल्सीले रेनेसविरुद्ध ३-० गोलको जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन टिमो वार्नरले दुई गोल गरे । त्यस्तै टमी अब्राहमले एक गोल गरे ।
खेलको १०औं मिनेटमा वार्नरले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । ४१औं मिनेटमा पेनाल्टीमार्फत वार्नरले व्यक्तिगत दोस्रो गोल गर्दा घरेलु टोलीले आफ्नो अग्रता दोब्बर बनायो ।
पहिलो हाफमा दुई गोल गरेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गरेको हो । ५०औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई ३-० गोलको जित दिलाए ।
जितसँगै चेल्सीले तीन खेलबाट ७ अंक जोडेको छ । चेल्सी तालिकाको शीर्ष स्थानमा छ । पराजित रेनेस एक अंकका साथ तालिकाको पुछारमा छ । यसै समूहको अर्को खेलमा सेभियाले करास्नोडारलाई ३-२ गोल अन्तरले हराएको थियो ।

अघिल्लो लेखमाबाइडन विजयी हुनेमा विश्वस्त, ट्रम्प अदालत जाने
अर्को लेखमाइनरुवाबाट युवती बेच्ने गिरोहका चारजना पक्राउ