विराटनगर । प्रदेश नम्बर–१ का विभिन्न जिल्लामा डेंगी संक्रमण बढ्न थालेको छ । तराईका जिल्लाहरूमा डेंगी रोगका संक्रमित फेलापर्ने क्रम बढेको हो ।

प्रदेश १ मा सुनसरी जिल्ला अहिले संक्रमणको उच्च जोखिममा देखिएको छ ।सुनसरीका इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, इनरुवा नगरपालिका र बराहक्षेत्र नगरपालिकामा डेंगीका संक्रमित थपिने क्रम बढ्दै गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईं अघिल्ला वर्षहरूमा झैँ धरानमा डेंगीको संक्रमण तीव्र गतिमा फैलन सक्ने देखिएको बताउँछन् ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार देशैभर डेंगु संक्रमण बढिरहेको बेलामा सुनसरीमा पनि ५० जना डेंगु संक्रमित फेला परेका छन् ।

उनका अनुसार इटहरी उपमहानगरपालिकामा २३, धरान उपमहानगरपालिकामा १५, बराहक्षेत्र नगरपालिकामा ११ र इनरुवा नगरपालिकामा १ जना डेंगु संक्रमित रहेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिए ।

पहिले धरानमा महामारीकोरुपमा फैलिएको डेंगु यस पटक इटहरीमा संख्याको हिसाबमा बढी देखिएको छ ।

मोरङको विराटनगरमा समेत डेंगीका बिरामी भेटिन थालेका छन् । केही हप्ताअघिसम्म काठमाडौंबाट आएका मानिसमा डेंगी पुष्टि हुने गरेकामा अहिले स्थानीय पनि संक्रमित भएका पाइएको छ ।

विराटनगर महानगरपालिकाका अनुसार लामखुट्टे र कीटजन्य रोगको संक्रमण देखिएसँगै औषधि छर्ने काम सुरु गरिएको छ ।

महानगरको सहरी स्वास्थ्य महाशाखाले विराटनगर समेत डेंगीको जोखिममा रहेकाले सावधानी अपनाउन महानगरवासीलाई आग्रह गरेको छ ।

महाशाखाका प्रमुख डा. विशालकुमार देवले वर्षाको समयमा डेंगीको संक्रमण तीव्र गतिमा फैलन थालेकाले सावधानी अपनाउन महानगरवासीलाई अपिल गरिएको जनाएका छन् ।

‘पानी नजमाउन र भाँडाहरूमा पानी संरक्षित गरेर नराख्न महानगरवासीलाई सूचित गरेका छौँ । परिस्थिति अनि संक्रमणको अवस्था हेरेर थप कदम चाल्ने योजना छ,’ उनले भने ।

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुर र झापासहित केही पहाडी जिल्लाहरू समेत डेंगीको उच्च जोखिममा छन् ।

प्रदेश १ मा ३२० जनालाई डेंगु संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य निर्देशानालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार अहिलेसम्म पहाडका जिल्लामा यसको प्रभाव बढी देखिएको हो ।

तथ्यांक अनुसार सबैभन्दा बढी तेह्रथुम जिल्लामा ११० जना, संखुवासभामा ६६ जनामा देखिएको छ । यसैगरी झापा र भोजपुरमा २४÷२४ जना, मोरङमा १९ जना, ताप्लेजुङ १६, धनकुटा १८, पाँचथर र सोलु ३÷३ जना, उदयपुर ९ जना र सुनसरीमा २८ जनामा पोजेटिभ केस भेटिएको छ ।

डेंगुको संक्रमण तराईमा भन्दा पहाडमा धेरै फैलिएका कारण त्यसको नियन्त्रणका उपाय ’bout छलफल भईरहेको छ । स्वास्थ्य निर्देशानालयका निर्देशक बस्नेतका अनुसार यो नियन्त्रणका लागि लामखुट्टेबाट जोगिनु पर्ने हुन्छ । रोग नभएपनि लामखुट्टेको टोकाईबाट सर्ने र फैलने गरेका कारण सचेत हुनुपर्ने बताइएको छ ।

एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण मानिन्छ । गर्मी र वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय धेरै हुन्छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाईबाट सुरक्षित हुनुपर्ने हुन्छ । एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । कुवा, इनार, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानीमा यस्तो लामखुट्टे हुर्कने सक्छ । त्यसैले यस्तो पानी जम्ने स्थान भए पुर्नु पर्दछ ।

अघिल्लो लेखमासुनसरीमा एक दिनमै ६१ फरार प्रतिवादी पक्राउ
अर्को लेखमासुनसरीको कृषि ज्ञान केन्द्रमा आउने अनुदान र सहुलियतपूर्ण कर्जा बिचौलिया र दलका नेताको पोल्टामा

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्