सुनसरी । ठेक्का हात पार्ने तर समयमा कुनैपनि काम सम्पन्न नगर्ने विषयमा बदनाम कमाएको भूमि कन्ट्रक्सन (भूमि इन्फ्रास्टक्चर प्राली) सम्पर्कबिहीन हुँदा चर्चित इनरुवा–कौवाखोच सडकसहित धेरै आयोजनाहरु अलपत्र बन्न पुगेका छन ।

भूमिले हुलाकी राजमार्ग अन्तरगत दुई वटा ठेक्का पाएको छ । हुलाकी सडक आयोजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर प्रमोद खतिवडाका अनुसार भूमी इन्फ्रास्टक्चरले दुई वटा खण्ड अन्य ठेकेदार कम्पनीसँग मिलेर ठेक्का पारेको थियो ।

भूमिले हुलाकी राजमार्गको सुनसरी खण्डमा इनरुवादेखि कप्तानगन्जसम्मको २२ किलोमिटर र जामुनगाछीदेखि पश्चिम केसलिया खोलासम्म चार किलोमिटर सडक निर्माणको ठेक्का पाएको छ । निर्माण कम्पनी नै सम्पर्कबिहीन हुँदा अहिले दुबै आयोजनाका काम रोकिएर बसेका छन ।

इनरुवादेखि कप्तानगन्जसम्मको लिंक रोडको काम गौरी पार्वतीदेव एण्ड सायर÷भूमिले संयुक्त रूपमा पाएको थियो । सो सडकको सम्झौता अवधी २०८१ साउनमा सकिँदैछ । ५७ करोड ३१ लाख रुपैँयाको सो आयोजनाको काम पनि भएको छैन । दुवै आयोजना हेर्ने जिम्मा स्थानीय साझेदारको रूपममा भूमिले लिएको थियो ।

त्यस्तै जामुनगाछी खण्डको सडक निर्माणको ठेक्का देव एण्ड सायर÷भूमी जेभीले २०७८ जेठमा पाएको थियो । सम्झौता अवधी २०८० साउन १ गतेबााट सकिँदैछ । बाँकी रहेको समयमा काम सम्पन्न हुनसक्ने अवस्था छैन । सो सडकको ठेक्का सम्झौता रकम १८ करोड ८ लाख रुपैँया छ ।

यद्यपि भूमिका सञ्चालक सम्पर्कबिहिन भएपछि जामुनगाछीमा देव एण्ड सायर र इनरुवा–कप्तानगञ्ज खण्डमा गौरी पार्वतीले काम सुरु गर्ने गरी तयारी गरेको जनाएको छ ।

पटक पटक ताकेता गर्दा काम गरिरहेको ठेकेदार भूमी सम्पर्कमा नआएपछि कार्यालयले संयुक्त रूपमा ठेक्का लिएको अर्काे कम्पनीलाई काम सुरु गर्न लगाएको हो ।

कोशी राजमार्गको ६ लेन सडक परियोजना खण्डमा पर्ने बूढीखोला पुलको ठेक्का सपना÷देव एण्ड सायर÷भूमि जेभीले पाएको थियो । ६ लेन सडक आयोजना प्रमुख दानकुमार शाक्यका अनुसार भूमिले काम नगर्दा पुलको काम रोकिएको थियो ।

कार्यालयले ताकेता गर्दा भूमि सम्पर्कमा नआएपछि अर्काे साझेदार देव एण्ड सायरलाई काम सुरु गर्न लगाइएको उनले बताए ।

सो पुल २०७४ साल फागुन २३ गते ठेक्का लागेको थियो । २४ करोड लागतमा ठेक्का लागेको पुल निर्माणको अवधी दुई पटक थप भएको छ । पछिल्लो पटक थपिएको मिति २०८० असारमा सकिँदैछ । यो अवधीमा काम पुरा हुनसक्ने अवस्था भने छैन ।

पुल निर्माणको ठेक्का लिएका जेभी(ज्वाइट भेन्चर) मध्ये भूमिले स्थानीय साझेदारको रूपमा काम सुरु गरेको थियो । तर विराटनगर महानगरपालिका– ३ मा कार्यालय रहेको कम्पनीका सञ्चालक कृष्ण बोहोरा सम्पर्क बिहिन भएपछि काम अलपत्र परेको थियो ।

भूमि बोहराको एकल कम्पनी हो । ठेक्का लिएको काम अलपत्र पारेपछि काम गर्न सरकारी निकायले पटक पटक ताकेता गरेको थियो । भूमिको तर्फबाट जवाफ नआएपछि हुलाकी र ६ लने सडक आयोजनाले साझेदार कम्पनीलाई काम गर्न लगाएको हो ।

कोशी अस्पतालको अन्डरग्राण्डसहितको मेडिकल भवन निर्माणका लागि २०७८ असार २३ गते रमन÷भूमि इन्फ्रास्टक्चर÷भूमि कन्ट्रक्सनले संयुक्त रूपमा ठेक्का लिएको थियो । तीन साझेदार मध्ये भूमि इन्फ्रास्टक्चर प्रालिले काम सुरु गरेको थियो ।

३३ करोड २२ लाख ४८ हजार रुपैयाँमा ठेक्का लिएको कम्पनीले २०८० पुस २२ गते काम सक्नुपर्ने सम्झौता छ । तर भूमि सम्पर्क बिहिन भएपछि जग उठाउने काम नै रोकिएको छ।

छु्ट्टा–छुट्टै नाममा दुई कम्पनीका सञ्चालक यसअघि साझेदार पनि हुन् । भूमि इन्फ्रास्टक्चरका सञ्चालक बोहरा आर्थिक विवादका कारण सम्पर्क बिहिन भएका थिए ।

अघिल्लो लेखमास्वास्थ्य सेवाको बजेट अनियमितता गर्न इनरुवा नगरपालिकाभित्र दुईवटा स्वास्थ्य शाखा
अर्को लेखमाइनरुवाको भू–उपयोग नीति अन्तिम चरणमा, छिट्टै कित्ताकाट खोल्ने गरी तयारी

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्