सुनसरी । सामाजिक सञ्जाल फेसबुक ‘ह्याक’ गर्ने गिरोहका तीन जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । अरुको फेसबुक ‘ह्याक’ गरेर नक्कली ई–सेवा आईडी प्रयोग गर्दै सर्वसाधारणमाथि ठगी गर्ने धन्दामा संलग्नलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रवीण राजवंशी र भवेश राजवंशी रहेका छन् ।

लुकिछिपी बसेको अवस्थामा झापाको भद्रपुरबाट गत बुधबार पक्राउ गरी तीनै जनाविरुद्ध ठगी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी राईले बताए ।

उनका अनुसार पक्राउ परेको गिरोहले सुरुमा सुनसरीको इटहरी उप महानगरपालिका–२ का डिल्लीबहादुर राउतको फेसबुक अकाउण्ट ‘ह्याक’ गरेको थियो । आफ्नो फेसबुक ‘ह्याक’ भएको भनेर राउतले सुनसरी प्रहरीमा गत जेठ १२ गते निवेदन दिएका थिए ।

‘ह्याक’ गरेको गिरोहले आफू समस्यामा परेको भनेर फेसबुकमा जोडिएका साथीहरुलाई म्यासेन्जरमार्फत म्यासेज पठाउँदै नक्कली ई–सेवा आईडी खडा गरी रकम पठाउन लगाएर ठगी गरिरहेको उजुरी राउतले दिएका थिए ।

सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार गिरोहले नयाँ ‘सफ्टवेयर’ बनाउँदै ‘ब्युटी कन्टेस्ट’मा भोट दिनुहोस् भनेर विभिन्न व्यक्तिलाई झुक्याउँदै म्यासेज पठाएर उनीहरुका फेसबुक ‘ह्याक’ गर्ने र पासवर्ड चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पासवर्ड चोरी गरिसकेपछि म्यासेन्जरमार्फत नजिकका साथीहरुलाई आफू बिरामी परेकाले उपचारका लागि रकम पठाइदिनु भन्दै नक्कली म्यासेज पठाएर ठगी गर्ने गरेको उनको भनाइ छ।

पक्राउ परेकाहरु ‘कम्प्युटर साइन्स’का विद्यार्थीसमेत रहेको खुलेको छ । उनीहरुले ‘सफ्टवेयर डेभ्लप’ गरेर धेरै सर्वसाधारणलाई ठगी गरेको हुनसक्ने ढकालको भनाइ छ ।

नयाँ प्रविधिको प्रयोग गरेर हुने गरेका अपराध रोक्न सुनसरी प्रहरीले विशेष अभियान सञ्चालन गरिएको एसपी ढकालको भनाइ छ । यस्ता घटनाबाट पीडित भएकाहरुलाई तत्काल प्रहरीको सम्पर्कमा आउन उनको आग्रह छ ।

सुनसरी जिल्लाका हाईप्रोफाईलहरुको फेसबुक पछिल्लो केही समययता ह्याक भएको छ । इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता चौधरी, धरान उपमहानगरपालिकाकी पूर्व उपमेयर एवम एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीसहित धेरैको फेसबुक ह्याक भएको छ । उनीहरुको आईडीबाट जातीय सद्भाव भड्काउने प्रयासदेखि विभिन्न ठगीका म्यासेजहरु सम्प्रेषण गरिएका थिए ।

अघिल्लो लेखमागाँजा कारोवारीहरुको नयाँ रुट : हावा भरिएको ट्युबभित्र गाँजा भरेर सप्तकोशीको बाटोबाट भारततर्फ तस्करी
अर्को लेखमाइनरुवाका मेयर, उपमेयर र एक वडाअध्यक्षले एकसय दिन पुग्दा पनी सम्पत्ती विवरण बुझाएनन्

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्