सुनसरी । सुनसरी जिल्लाका चार प्रदेशसभा सदस्य रहेका नेताहरुसहित प्रदेश १ भरीबाट विभिन्न दलका २० जना नेताहरुले प्रदेशमा नदोह¥याई प्रतिनिधिसभा सदस्य पदका लागि दाबेदारी प्रस्तुत गरेका छन ।

प्रदेश १ मा सबैभन्दा बढी यसरी दावी गर्ने विभिन्न दलका नेताहरुमा सुनसरी जिल्लामा सबै भन्दा बढी पाँच जना रहेका छन ।

प्रदेश १ सरकारमा मुख्यमन्त्री समेत भईसकेका नेकपा एमाले स्थायी कमिटी सदस्य भीम आचार्य यसपटक प्रतिनिधिसभा सदस्य पदका लागि सुनसरी २ बाट सिफारिसमा परेका छन । उनी प्रदेशसभामा जिल्ला भरीबाट कतैबाट पनि सिफारिस भएका छैनन ।

त्यस्तै प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता राजिब कोइराला पनि प्रदेशसभा छाडेर प्रतिनिधिसभामा उम्मेदवार हुने योजनासहित दावेदारी प्रस्तुत गरेका छन ।

उनको नाम निर्वाचन क्षेत्र नम्बर २ बाटै प्रतिनिधिसभा सदस्य उम्मेदवारको रुपमा सिफारिसमा परेका छन ।

सोही क्षेत्रबाट प्रदेशसभा की उपसभामुख सरस्वती पोखरेलको नाम पनि नेकपा माओवादी केन्द्रबाट सिफारिसमा परेकी छिन ।

त्यस्तै प्रदेशसभा सांसद चन्द्रप्रसाद श्रेष्ठ नेपाली कांग्रेसबाट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि पार्टीबाट सिफारिस भएका छन ।

त्यस्तै प्रदेश सरकारमा लामो समय मन्त्री रहेका जगदिशप्रसाद कुसियत पनि यसपटक सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि सर्वसम्मत रुपमा सिफारिस भएका छन ।

आगामी मंसिर ४ गतेको निर्वाचनका लागि प्रदेश १ का २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको उम्मेदवारका लागि ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट २२५ जना उम्मेदवार सिफारिसमा परेका छन् ।

त्यसमध्ये १९ नेता हाल प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका छन् । प्रदेशबाट संघमा जाने चाहना राख्ने सबैभन्दा धेरै नेता एमालेका छन् ।

प्राप्त तथ्यांक अनुसार हाल प्रदेशसभामा रहेका र संघमा जान चाहने नेताहरुमा पूर्व मुख्यमन्त्रीद्वय शेरधन राई, भीम आचार्य तथा केही मन्त्रीसहित ११ जना छन् ।

राईले भोजपुरबाट यस पटक संघमा लड्ने तयारी गरिरहेका छन् भने आचार्य सुनसरीको क्षेत्र नम्बर २ बाट उम्मेदवारमा सिफारिस भएका छन् । यस्तै माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका ताप्लेजुङका नेता टंक आङ्बुहाङको नाम पनि संघमा सिफारिस भएको छ ।
आङ्बुहाङ यसअघि प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री भइसकेका छन् । एमालेमा प्रवेश गरेसँगै माओवादी केन्द्रको कारबाहीमा परेका उनी हाल कुनै सार्वजनिक पदमा छैनन् ।

यस्तै एमालेकै प्रदेश सांसद हिराकुमार थापाले झापा ४ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने बताएका छन् । एमालेले सो क्षेत्रबाट उनको नाम पनि सिफारिस गरेको छ । थापा प्रदेश १ का पूर्वमन्त्री पनि हुन् ।

एमाले प्रदेश १ का अध्यक्ष तथा प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले पनि संखुवासभाबाट प्रतिनिधिसभामा दाबी गरेका छन् । उनी पनि प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजनामन्त्री हुन् ।

यस्तै तेह्रथुमबाट तेजमान कङ्दङ्बा, उदयपुर–१ बाट बिमल कार्की, उदयपुर–२ बाट कला घले, खोटाङबाट उषाकला राई र ओखलढुंगाबाट अम्बिरबाबु गुरुङ पनि प्रदेशबाट संघमा जान चाहने नेताहरु हुन् ।

उनीहरुको नाम पनि प्रतिनिधिसभामा उम्मेदवारीका लागि सिफारिस भएको छ ।
यता प्रदेशकै दोस्रो ठूलो पार्टी नेपाली कांग्रेसबाट भने २ जनाले मात्रै प्रदेशबाट संघमा जाने इच्छा देखाएका छन् ।

कोइरालापछि कांग्रेसका नेता तथा प्रदेश १ को उद्योग श्रम तथा रोजगार मन्त्री समेत रहेका प्रताप प्रकाश हाङ्माङ पनि प्रतिनिधिसभाको उम्मेदवारको रुपमा सिफारिसमा परेका छन् । उनलाई नेपाली कांग्रेसले ताप्लेजुङबाट सिफारिस गरेको हो ।

यता तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका ४ जना प्रदेशका नेताले संघमा जाने चाहना राखेका छन् । माओवादीले सिफारिस गरेको नामावलीहरुमा इलाम–२ बाट धिरेन्द्र शर्मा, झापा–३ बाट पूर्ण प्रसाद राजवंशी, झापा–४ बाट झलकसिंह दर्लामी र खोटाङबाट रामकुमार राई छन् ।

सिफारिसमा परेका दर्लामी हालका प्रदेश १ का कृषिमन्त्री हुन् भने राई खानेपानी तथा सिंचाई मन्त्री छन् । शर्मा र राजवंशी भने प्रदेश सांसद हुन् । माओवादी केन्द्रका सांसदहरु प्रदेश १ मा १५ जना छन् ।

यस्तै संसदको चौथो ठूलो दल नेकपा (एकीकृत समाजवादी)को तर्फबाट संघमा जान चाहने २ जना देखिएका छन् । हालका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सो पार्टीले भोजपुर निर्वाचन क्षेत्र र सुनसरीको १ नम्बर निर्वाचन क्षेत्रबाट संघमा सिफारिस गरेको छ । राईले आफू भोजपुरबाटै चुनाव लड्ने बताइसकेका छन् ।

यस्तै हालका सामाजिक विकास मन्त्री राजन राईको नाम पनि संघीय सांसदको उम्मेदवारको रुपमा सिफारिस भएको छ । उनको नाम खोटाङबाट सिफारिसमा परेको हो । १० जना सांसद रहेको नेकपा एकीकृत समाजवादीमा अन्य ८ सांसदले संघमा लड्न चासो देखाएका छैनन् ।

अघिल्लो लेखमासुनसरीको कृषि ज्ञान केन्द्रमा आउने अनुदान र सहुलियतपूर्ण कर्जा बिचौलिया र दलका नेताको पोल्टामा
अर्को लेखमाइनरुवासहित प्रदेश एकका ६ वटा शहरमा बाढी नियन्त्रणका लागि इस्टर्न अर्वान कोरिडोर परियोजना

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्