सुनसरी ४, स्थानीय तहको मतको आधारमा ‘नेक टु नेक’ प्रतिष्पर्घा

एमालेलाई जसपा र स्वतन्त्रको भर, कांग्रेसलाई अन्र्तघात, मत रक्षाको चुनौति

0
126
सुनसरी ४, स्थानीय तहको मतको आधारमा ‘नेक टु नेक’ प्रतिष्पर्घा
सुनसरी ४, स्थानीय तहको मतको आधारमा ‘नेक टु नेक’ प्रतिष्पर्घा

इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा स्थानीय तहको निर्वाचनमा वडागत रुपमा खसेको मतको आधारमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनबीच ‘नेक टु नेक’ को स्थिति देखिएको छ ।

सो क्षेत्रमा बराहक्षेत्र नगरपालिकाको ६, ७, ८, ९, १०, ११ नम्बर वडा, रामधुनी नगरपालिकाको ४ नम्बर वडा, इनरुवा नगरपालिकाको ३, ४ र ८ नम्बर वडा, कोशी गाउँपालिकाको सबै आठवटा वडा, भोक्राहा नरसिंह गाउँपालिकाको सबै आठ वटा वडा र हरिनगर गाउँपालिकाको १, २, ४, ५, ६, ७ नम्बर वडा पर्दछन ।

कुल ६० हजार ४ सय ३२ मतदाता रहेको सो क्षेत्र अन्र्तगत कोशीमा २६ हजार ५ सय ७५, बराहक्षेत्रमा ३६ हजार ३ सय ८४, रामधुनीमा ४हजार ६ सय ७४, इनरुवामा १३ हजार २ सय २२, भोक्राहा नरसिंह गाउँपालिकामा २४ हजार ४ सय ८४ र हरिनगर गाउँपालिकामा २२ हजार ७ सय २६ मतदाता रहेका छन ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको वडागत मतपरिणाम अनुसार बराहक्षेत्र नगरपालिकामा कांग्रेस नेतृत्वको गठबन्धनले ११ हजार ७ सय १ मत प्राप्त गर्दा एमाले नेतृत्वको गठबन्धनले ८ हजार ४ सय ४ मत प्राप्त गरेको छ । बामपन्थीको गढ भनिने सो पालिकामा यसअघिका निर्वाचनमा नेकपा एमालेले बहुमत वडासहित मेयर र उपमेयर जितेकोमा यसपटक कांग्रेसले मेयरसहित बहुमत र एमालेले उपमेयरसहित केही वडा मात्रै जित्न सकेको छ ।

त्यस्तै कोशी गाउँपालिकामा कांग्रेस नेतृत्वको गठबन्धनले ६ हजार ८ सय ४२ मत प्राप्त गर्दा नेकपा एमाले नेतृत्वको गठबन्धनले भने ७ हजार ८ सय ५१ मत प्राप्त गरेको छ । सो पालिकामा कांग्रेसले मेयर र उपमेयरसहित बहुमत वडामा जित हासिल गरेको छ । यद्यपि जसपाको त्यहाँ राम्रो संगठन रहेकोले एमाले गठबन्धन कांग्रेस गठबन्धनभन्दा अगाडि देखिएको छ ।
त्यस्तै हरिनगर गाउँपालिकामा मेयर र उपमेयर नेपाली कांग्रेसले जितेपनि त्यहाँ नेपाली कांग्रेस गठबन्धनभन्दा एमाले गठबन्धन वडागत तहमा पाएको मतको आधारमा अगाडि छ । त्यहाँ जसपाको समेत राम्रो संगठन रहेकोले एमाले गठबन्धन अगाडि देखिएको हो ।

त्यहाँ कांग्रेसको गठबन्धनले ५ हजार ३ सय ५० मत प्राप्त गर्दा एमाले गठबन्धनले ६ हजार ६ सय ९३ मत प्राप्त गरेको छ ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेसको गठबन्धनले अध्यक्ष र उपाध्यक्षसहित वहुमत वडामा जित हासिल गरेको छ । त्यहाँ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले ५ हजार ७ सय ७१ मत प्राप्त गर्दा नेकपा एमाले नेतृत्वको गठबन्धनले ५ हजार १ सय ५७ मत प्राप्त गरेको छ ।

त्यस्तै इनरुवा नगरपालिकाको तीन वटा वडामा नेकपा एमाले नेतृत्वको गठबन्धन कांग्रेस नेतृत्वको गठबन्धनभन्दा अगाडि देखिएको छ । तीन वडा मध्ये दुई वटा वडामा नेकपा एमालेले जितेको छ भने एउटा वडामा लोसपाले जितेको छ । यहाँ नेकपा एमाले नेतृत्वको गठबन्धनले ३ हजार ४ सय १३ मत प्राप्त गरेको छ भने कांग्रेस नेतृत्वको गठबन्धनले २ हजार ७ सय ७२ मत प्राप्त गरेको छ ।

त्यसैगरी सोही क्षेत्रमा पर्ने रामधुनी नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा नेकपा एमालेले जित हासिल गरेको छ । सो वडामा नेकपा एमालेको गठबन्धनले १ हजार ६ सय १८ मत प्राप्त गर्दा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले १ हजार ४ सय ६१ मत प्राप्त गरेको छ ।

सो निर्वाचन क्षेत्रमा कुल खसेको मत मध्ये वडागत रुपमा कांग्रेस नेतृत्वको गठबन्धन ७ सय ३७ मतले अगाडि रहेको छ । कांग्रेस नेतृत्वको गठबन्धनले ३३ हजार ८ सय ९७ मत प्राप्त गर्दा एमाले नेतृत्वको गठबन्धनले ३३ हजार १ सय ३६ मत प्राप्त गरेको छ ।

एमालेलाई चुनौति

स्थानीय तहको मतको परिणाममा खासै ठूलो अन्तर नदेखिएपनि त्यहाँ जितका लागि नेकपा एमालेले मुख्य रुपमा गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपालमाथि पूर्ण रुपमा भर पर्नु पर्ने स्थिति छ । दुई दलको गठबन्धन रहेकोले जसपाको सबै भोट गठबन्धनका उम्मेदवार जगदिश प्रसाद कुसियैतको पक्षमा नखसे त्यहाँ समस्या हुने देखिन्छ ।

अघिल्लो निर्वाचनमा झण्डै ८ हजार मत भएको जनता समाजवादी पार्टीले नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई समर्थन गरेकोले उनले नेकपा एमालेका उम्मेदवारलाई आठ हजार बढी मतान्तरले पराजित गर्न सकेका थिए । अहिले जसपा एमाले गठबन्धनमा रहेकोले त्यो मत एमालेको पक्षमा आउँदा एमाले गठबन्धनका उम्मेदवार कुसियत बलियो हुन्छन।

कांग्रेसलाई चुनौति

अघिल्लो पटक जसपाको साथ पाएका कार्कीलाई यसपटक सो क्षेत्रको तेस्रो ठूलो दल जसपाको साथ नरहँदा उनले केवल कांग्रेसको परम्परागत भोटको भर पर्नु पर्ने स्थिति छ । जसपाको मतको विकल्पमा उनले बराहक्षेत्र नगरपालिकामा एमालेको गलत उम्मेदवारीका कारण कांग्रेसको पक्षमा खसेको मतको रक्षा गर्न सक्नु पर्छ भने थप मतदातालाई आफ्नो पक्षमा ल्याउनु पर्ने हुन्छ ।

अन्य उम्मेदवारीको प्रभाव

सो क्षेत्रका मतदातामा राम्रो प्रभाव पार्ने गरी लोकतान्त्रिक समाजवादी पार्टीबाट कुञ्जिलाल यादव र स्वतन्त्र रुपमा डा. खालिद हुसैन हकको उम्मेदवारी परेको छ । लोसपाले त्यहाँ अघिल्लो निर्वाचनमा पनि पाँच हजार बढी मत प्राप्त गरेकोले उसको परम्परागत मतदाताहरु सो क्षेत्रमा रहेकोले उसले त्यहाँ जातीय ध्रुबिकरण गरेर कार्की र कुसियत दुबै पक्षको मत चारेर आफू बलियो बन्ने हिसावमा आफ्नो रणनीति बनाएको छ । बहुसंख्यक यादव समुदाय मतदाता रहेको सो क्षेत्रमा कुञ्जिलाले जातीय धु्रबिकरण गरेको स्थितिमा त्यसको प्रत्यक्ष असर एमाले गठबन्धनका कुसियतलाई पर्ने देखिन्छ । सानो रुपमा त्यसको प्रभाव कार्कीलाई पनि पर्ने सम्भावना छ ।

जसपाका नेतासमेत रहेको स्वतन्त्र उम्मेदवार डा. खालिद यो क्षेत्रका मुस्लिम समुदायका प्रतिष्ठित ब्यक्तित्व भएकोले उनले मुसलमान समुदाय र जसपाका विद्रोहीहरुको भोटको रक्षा गर्ने स्थिति छ । त्यो स्थितिमा बहुसंख्यक मुस्लिम समुदाय कांग्रेसको परम्परागत भोट बैंकको रुपमा रहँदै आएकोले उनले ल्याउने अधिकांश मतको असर कांग्रेसका उम्मेदवार कार्कीलाई पर्छ भने जसपाको रुष्ट मत प्राप्त गर्दा त्यसले एमाले गठबन्धनका उम्मेदवार कुसियैतलाई पनि धेरथोर असर पार्छ ।

जातीय ध्रुबिकरणको सम्भावना

सो निर्वाचन क्षेत्रमा हरेक पटक जातीय रुपमा मतदाताहरु धु्रबिकृत हुँदै आएको विगत छ । २०५३ सालको उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनेका कुसियैत कांग्रेसको परम्परागत गढमा जातीय मत उनको पक्षमा धु्रबिकृत हुँदा उनी विजयी बनेका थिए ।

यसपटक पनि उनी बलियो एमाले गठबन्धनबाट उम्मेदवार बनेकोले झण्डै २२ हजारको हाराहारीमा रहेको यादव मतदाता धु्रबिकृत हुने सम्भावना छ । त्यहाँभित्रभित्रै त्यस्ता अभियानहरु चलिरहेका छन । जसको नेतृत्व सबै पार्टीमा रहेका नेता कार्यकर्ताहरुले गरिरहेका छन । तर लोसपाका कुञ्जिलालको उम्मेदवारीले धु्रबीकरणको प्रयास पूर्ण रुपमा सफल हुन नसक्ने स्थिति पनि छ ।

अर्को ठूलो समुदाय मुस्लिम समुदायमा कार्कींको चुनावी अभियान हाकीरहेका कोशी गाउँपालिकाका अध्यक्ष ऐयूब अन्सारी र हरिनगर गाउँपालिकाका गफार अन्सारीका कारण मुस्लिम समुदायको अधिकांश मत कांग्रेसकै पक्षमा जाने स्थिति रहेपनि स्वतन्त्र उम्मेदवार डा. खालिदले मुस्लिम मतदातामा राखेको पुरानै प्रभाव र कांग्रेस छाडेर नेकपा एमालेबाट प्रदेश ४ खमा उम्मेदवार बनेका अब्बास अन्सारी त्यस्तै नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका पूर्व राज्यमन्त्री जाकिर हुसैन लगायतको कारण यसपटक मुस्लिम मतदाता पूर्ण रुपमा कांग्रेसको पक्षमा संगठित हुन सक्ने स्थिति कमजोर बन्दै गएको छ । त्यहाँको परम्परागत कांग्रेसको मुस्लिम भोट बैंकमा एमाले र स्वतन्त्र उम्मेदवारले पनि प्रभाव राख्न सक्ने स्थितिले मुस्लिम भोट कांग्रेसको पक्षमा केही कम हुन सक्ने स्थिति छ ।

पार्टीहरुभित्रको अन्र्तसंघर्ष

सुनसरी ४ मा कांग्रेस र एमाले गठबन्धनभित्र अन्र्तसंघर्ष ठूलो समस्याको रुपमा देखिएको छ । कांग्रेसभित्र संस्थापन पक्षले संस्थापन इतर पक्षलाई पेलेर सम्पूर्ण अवसरबाट बञ्चित गर्दै आएको गुनासो ब्यापक छ । जसकै कारण भन्दौ अब्बास अन्सारी कांग्रेस छाडेर एमालेबाट प्रदेशसभा ख मा उम्मेदवार बनेका छन । उनलाई एमालेभित्रको कांग्रेस संस्थापन पक्षको उम्मेदवार भनिन्छ । कांग्रेसभित्रको अन्र्तसंघर्षको प्रभावको चुनौति पनि कार्कीले सामना गर्नु पर्ने स्थिति छ । अहिले कांग्रेसकै स्थानीय नेताहरु खुलेर आफ्नो पार्टीको उम्मेदवारको विपक्षमा उभिएर स्थानीय नेतृत्व विकासको नारा लगाईरहेका छन ।

अर्कोतर्फ नेकपा एमाले गठबन्धनभित्र रहेको जसपाका विद्रोहीहरुले स्वतन्त्र रुपमा डा. खालिदलाई उम्मेदवारको रुपमा अगाडि बढाएकोले जसपाको भरमा रहेको एमालेलाई पनि जसपाभित्रको अन्र्तसंघर्षले प्रभाव पार्ने देखिन्छ । जसपाभित्रको अन्र्तसंघर्षको चुनौति कुसियतले सामना गर्नु पर्ने स्थिति छ ।

अघिल्लो लेखमामेरो विज्ञता, मैले समाजमा गरेको योगदान नै मेरो जितको आधार हो
अर्को लेखमासुनसरी २ ख ः पुराना प्रतिष्पर्धी बिच दोस्रो पटकको भिडन्त सवैको चासो