इनरुवा । इनरुवा नगरक्षेत्रका सार्वजनिक स्थानमा जथाभावी फोहर मैला थुपार्ने फ्याक्ने कारण सार्वजनिक स्थानहरु दुर्गन्धित हुनुका साथै स्थानीयलाई सास्ती हुने गरेको छ ।
इनरुवा नगरक्षेत्रको सखुवागाछी, महेन्द्रचौक, मालपोत चौक, जिल्ला प्रशासन क्षेत्र, बसचौक, क्याम्पस रोड, गुद्री बजारलगायतका स्थानहरुमा जथभावी फोहर फ्याक्ने र नगरपालिकाबाट नियमित फोहर नउठाउने कारणले गर्दा दुर्गन्धित भएको हो।
इनरुवा ३ स्थित सखुवागाछी चौकमा रहेको जेष्ठ नागरिक चौतारीमा दुर्गन्धित फोहर थुपारेका कारण दैनिक भेला हुने जेष्ठ नागरिक भेला जम्मा हुन छाडेका छन ।
जेष्ठ नागरिक सरोकार केन्द्रका गणेश दुलालले इनरुवाका चौक बजारलगायत सार्वजनिक स्थानहरुमा व्यापारिक क्षेत्र र घरभित्रको फोहर मैला फ्याक्ने थुपार्ने कार्यले सार्वजनिक स्थानमा मानिसहरु बस्ने भेला हुने ठाँउहरु दुर्गन्धित र फोहर भएको बताए ।
जेष्ठ नागरिक सरोकार केन्द्रका पशुपति निरौलाका अनुसार दैनिक इनरुवा ३ र इनरुवा ६ नम्बर वडाका जेष्ठ नागरिक भेला भएर आपसी अनुभव आदान प्रदान गरि जेष्ठ नागरिक बिचमा भेटघाट हुने चौतारीमा फोहरको थुपार्ने फ्याक्ने क्रम बढ्दै गएको छ ।
निरौलाले भने, ‘नगरपालिका र वडा कार्यालयले नियमित रुपमा फोहर फ्याक्नका लागि सार्वजनिक स्थलमा फोहर संकलन गर्ने डस्टविन वा अन्य सामग्री व्यवस्था नगर्दा जथाभावी फोहर फ्याक्ने कार्यले वातावरण प्रदुर्षण हुनुका साथै मानिसहरु सार्वजनिक स्थानमा एकछिन उभिएर बस्न सक्ने अवश्था छैन ।’
इनरुवा नगरपालिकाले १ नम्बर २ नम्बर ३ नम्बर ४ र ५ नम्बर वडाको फोहरमैला सम्बन्धित वडा कार्यालयमार्फत संकलन गरी विर्सजन गर्दै आएको छ ।