नेपाली कांग्रेस इनरुवालाई १२ वर्षदेखि निरन्तर नेतृत्व गरिरहेका इनरुवा नगरपालिकाका मेयर राजन मेहताले अर्को कार्यकालको लागि पनि आफ्नो दावेदारी प्रस्तुत गरेका छन । युवा उमेरमै विद्यार्थी र युवा फाँटको उच्च तहमा रहेर नेतृत्व गरिसकेका उनी यो क्षेत्रमा नेपाली कांग्रेसभित्र सम्भावना बोकेका युवा नेताको रुपमा स्थापित भईसकेका छन । प्रदेशदेखि संघसम्म नेतृत्वको सम्भावना रहेपनि उनले पुनः माथिल्लो पदमा दावी नगरी नगर सभापतिमै दावी गर्दा उनले फेरि पनि मेयर पदमा आफूलाई दोहो¥याउन खोजेको जस्ता विभिन्न तर्कहरु सुरु भएका छन । कोही उनले नयाँ नेतृत्व विकास हुन नदिई आफूलाई मात्रै सोचेको तर्क गर्दै परम्परागत विचार समूहबाट नयाँ विचार समूहमा आवद्ध भएर उम्मेदवार नै भईसकेका छन । पार्टीभित्रको आन्तरिक प्रतिष्पर्घामा कोइराला क्याम्पको जिल्लामा नेतृत्व गर्ने पार्टी सभापति राजिब कोइराला निकटका उनी अहिले पनि सोही समूहबाट नगरसभापति पदमा दावी गरिरहेका छन । आखिर किन उनले तेस्रो कार्यकालको लागि एकै पदमा दावेदारी गरिरहने अवस्था आयो, किन उनको हिमचिम फरक विचार समूहसँग बढेको छ, उनी निकटहरुले उनको साथ छाड्ने स्थितिमा इनरुवा नगरपालिकाका मेयर समेत रहेका कांग्रेस इनरुवा नगरसभापति राजन मेहता के भन्छन ? उनको आगामि रणनीति के छ ? उनीसँग इनरुवा टाईम्स साप्ताहिकले गरेको कुराकानी ः

इनरुवा नगर अधिवेशनको तयारी कसरी भईरहेको छ ?

यो पार्टीलाई चलायमान बनाउने आन्तरिक महा उत्सव हो । यसलाई हामी भब्य र सभ्य रुपमा सम्पन्न गर्छौ । यसले कांग्रेसभित्र भोलीका दिनमा संगठन कुन स्थितिमा छ भन्ने कुराको मापन पनि गर्दछ । नेतृत्व जस्ले लिए पनि केही फरक पर्ने होईन, आखिर कांग्रेसकै जिम्मेवार नेता कार्यकर्ताहरुले नै नेतृत्व गर्ने हो । अहिले नगरअधिवेशनलाई लिएर भईरहेका प्रतिष्र्घा पार्टीको आन्तरिक जीवनको लागि हो तर स्वच्छ प्रतिष्पर्घा हुनु पर्छ । लोकतन्त्रको मुल्य मान्यता भनेकै आन्तरिक प्रतिष्पर्घाबाट राजनीतिक दलहरु चल्ने हो । त्यसैले यो अधिवेशनलाई सभ्य र भब्य रुपमा सम्पन्न गराउनु हामी सबैको कर्तब्य हो । नेपाली कांग्रेसको संगठन यहाँ राम्रो भएर नै नेतृत्वको लागि प्रतिष्पर्घाको स्थिति उत्पन्न भएको हो । यहाँ पार्टीको नेतृत्व राम्रो ढंगले नभएको भए, संगठन राम्रो नभएको भए अहिलेको अधिवेशनमा जसरी चासो र आर्कषण देखिएको छ त्यो देखिने थिएन ।

दुई कार्यकाल नगरको नेतृत्व गरिसक्नु भएको छ, अबको तपाईको राजनीतिक यात्रा कसरी अगाडि बढाउने सोचमा हुनु हुन्छ ?

हो, मैले पार्टीको नेतृत्व सफलता पूर्वक गरेको छु । जसको कारणले यहाँ नेपाली कांग्रेसले जिल्ला, प्रदेश मात्रै होईन स्थानीय तहमा नि अभुतपूर्व जीत दर्ज गराएको छ । यसलाई अझै अगाडि बढाउनलाई साथीहरुको भावनाअनुसार म पुनः उम्मेदवार बन्ने सोचमा छु ।

दुई कार्यकाल नेतृत्व गरिसकेपछि पनि तेस्रो कार्यकालको लागि दावेदारी किन नि ?

आगामि दिनमा पार्टी विभिन्न तह र चरणका निर्वाचनहरुमा होमिनु पर्ने स्थिति छ । हाम्रो मुलुकमा मात्रै हो, एउटा तह र दर्जामा पुगिसकेपछि त्योभन्दा तलको पदमा जान नहुने चलन । त्योभन्दा माथि नै जानु पर्ने हाम्रो मानसिकता छ । तर जतिपनि विकसित मुलुकहरु छन त्यहाँको सिष्टम फरक छ । विश्व महाशक्ति राष्ट्र अमेरिकाका पूर्व राष्ट्रपति बराक ओवामालाई हेर्नुस, अहिले विल क्लिन्टन के गर्दैछन, जर्ज डब्लु बुस के गर्दैछन ? संसारको सबैभन्दा शक्तिशाली भईसकेको मान्छे सामान्य डिपार्टमेन्ट स्टोरमा काम गरिरहेका छन, विद्यालयमा पढाईरहेका हुन्छन । त्यो उनीहरुको महानता हो आफ्नो उर्जालाई कुनै न कुनै ठाँउमा रहेर सदुपयोग गर्ने । त्यसबाट हामीले पनि सिक्न सक्नु पर्छ । किताबमा पढ्ने, सुन्ने, सञ्चारका आधुनिक साधनको प्रयोग गरेर संसारलाई हेरिरहने तर आफूमा चाँही त्यो कुरा लागु नगर्ने ? जहिले पनि हामी गरीब मुलुकको बासिन्दा हाम्रोमा केही छैन भनेर भनि राख्ने ? अब त्यो भावनामाथि उठ्नु पर्ने बेला आएको छ । मैले १२ वर्षसम्म नगरसभापति रहेर जुन अनुभव हासिल गरेको छु त्यसलाई एकीकृत गरेर आगामि स्थानीय, प्रदेश र संघीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन, कांग्रेसको संगठनलाई अझै चुस्त, दुरुस्त, मजबुद बनाउन र कार्यकर्तालाई एक बनाएर निर्वाचनको महा अभियानमा होमेर नेपाली कांग्रेसलाई यो जिल्ला, क्षेत्र र नगरमा विजयी गराउन मेरो पुनः इनरुवा नगर सभापतिमा उम्मेदवारी हो । ओहोदा र दर्जाले म मेयर भईसके । मैले जिल्लाको कुनै पनि तह र तप्कामा उम्मेदवारी दिन सक्छु तर मैले होईन मेरो यो अनुभवलाई, मेरो जुन १२ वर्षको सिकाई छ त्यो अहिले इनरुवाको कांग्रेसको संगठनलाई आवश्यक छ भन्ने महसुससहित नेताहरु र कार्यकर्ताहरुसँग सल्लाह गरेर आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ ।

मैदानमा तपाई बाहेक पनि दुईजनाको दावेदारी देखिएको छ, त्यसलाई कसरी हेर्नु भएको छ ?

एक दमै स्वच्छ प्रतिष्पर्घा हुन्छ । दुबै जना ब्यक्तित्वहरु मेरो आदरणीय हुनु हुन्छ । कांग्रेसको संगठनलाई उहाँहरुको योग्यता, क्षमता, अनुभव र सीप आवश्यक छ । यति हुँदा हुँदै पनि प्रश्न एउटा महत्वपूर्ण हुन्छ कि नेतृत्व त एक जनाले गर्नै पर्छ । त्यसको लागि प्रतिष्पर्घा हो । पार्टीको विधानअनुसार स्वच्छ ढंगले प्रतिष्पर्घा हुन्छ । म भए ठिक, अरु भए नराम्रो भन्ने केही छैन । सबैले आ–आफ्नो दावेदारी गर्ने हो, मैले पनि गरेको छु, उहाँहरुले पनि गरेको छु । सर्वसम्मत हुन सक्दा अझै राम्रो हुन्छ । भएन भने निर्वाचनमार्फत नेतृत्व चयन गर्नु पर्छ । तर निर्वाचनमा जानेहरुले हार र जीत दुबैलाई स्विकार गर्न भने आफूलाई तयार पारेर आउनु पर्छ । तपाई कसैसँग मजाक गर्नु हुन्छ भने तपाईले अरुले गरेको मजाकलाई सहने क्षमतापनि आफूसँग विकास गरेर जानु पर्छ । आफूले गरुन्जेल राम्रो अनि अरुले गर्दा नराम्रो भन्ने मानसिकता त्याग्न सक्नु पर्छ । चुनाव लड्नेले भोली हारेको दिनमा असहयोग गर्ने, तपाई देखाई दिन्छु भन्ने जस्ता भावना राख्नु हुँदैन । त्यस्तो भावना भएकाहरुले यसरी प्रतिष्पर्घामा नउत्रिएपनि हुन्छ । चुनाव जस्ले जितेपनि इट्स ओके भन्ने उसैको नेतृत्वमा झण्डा बोक्ने हिडिहाल्ने हो ।

नगर सभापति पदको लागि देखिएको प्रतिष्पर्घा कुन स्तरसम्म पुग्ने अनुमान गर्नु भएको छ ?

त्यस्तो जटिलता केही होईन, सामान्य ढंगको प्रतिष्पर्घा हुने हो । यहाँका जति नेता कार्यकर्ताहरु हुनु हुन्छ सबैले चिनेकै छन । यहाँको मेयर पनि हुँ रातदिन यहाँका जनता, नेता कार्यकर्ताहरुसँग हुन्छु नै । सबैसँग छलफल भईनै रहेको हुन्छ । अब रुख चढ्ने मानिस नै लड्ने हो, नचढ्ने कहिल्यै लड्दैन ।

तपाईले आफ्नो जितलाई कति नजिक देख्नु भएको छ ?

म पुनः नगर सभापति पदमा निर्वाचित हुन्छु । यसमा सतप्रतिसत विश्वस्त छु ।

पार्टीभित्रको आन्तरिक प्रतिष्पर्घामा तपाई कुन विचार समूहको ?

म बाहिर देखिए जस्तो यो कुनै विचार समूह वा क्याम्पको मानिस होईन । म जिल्ला सभापति राजिब कोइरालाको मान्छे हुँ ।

तर तपाईको हिमचिम पछिल्लो समयमा धेरै सभापति शेरबहादुर देउवा निकटकाहरुसँग छ भनेर आशंका गर्न थालिएको छ नि ?

ठूला बडाले जे गर्दा पनि हुने हामीले गर्दा नहुने हो र । मेरो सबैसँग राम्रो सम्बन्ध छ । सबैसँग मेरो हिमचिम छ । म विगतमा पनि यसरी हिडेको ब्यक्ति हु, अहिले पनि त्यसरी नै हिडिरहेको छु । मेरो स्वभावमा परिवर्तन छैन ।

राजिब कोइरालाको मान्छे, देउवासँगको बढ्दो हिमचिमलाई के भन्ने ?

मैले पहिला पनि भने म राजिब कोइरालाको मान्छे हुँ, उहाँको निर्देशनअनुसार अगाडि बढाउँछु । जहाँसम्म आफ्नो विचार समूहका साथीहरुलाई अगाडि बढाउने कुरा छ, सबैलाई मिलाएर अगाडि बढ्ने हो । मैले पार्टीभित्र आन्तरिक गुट र गुटबन्दी बनाएको होईन । जसले गुट बनायो त्यसले त्यसको जिम्मेवारी लिनु पर्छ । म इनरुवामा नेपाली कांग्रेस आवद्ध साथीहरुलाई मिलाएर हिड्छु । इनरुवामा यो गुट, उपगुट भन्ने हुँदैन । यहाँ नेपाली कांग्रेसले सधै जित्नु पर्छ भन्ने मान्यता हो । त्यसरी नै अगाडि बढ्छु ।

तपाईसँग राजिब कोइरालासँग निकट रहेकाहरु अहिले अर्को समूहबाट उम्मेदवारी बनिरहेका छन नि ?

त्यस्तो केही छैन । कत्तिले कुरा नबुझेका होलान । यदि त्यस्तो छ भने हामी मिलाउँछौ । त्यस्तो हुन दिदैनौ । राजनीतिमा यस्तो भईरहन्छ । कतिपय अवस्थामा यो आन्तरिक रणनीति पनि हुन सक्छ । जुन समूहमा भएपनि हाम्रा सक्रिय साथीहरुले जित्नु पर्छ भन्ने नै हो ।

अघिल्लो लेखमाप्रदेश एकका चौध जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु गर्ने तयारी
अर्को लेखमासुनसरी कांग्रेसमा क्याम्प फेरबदल तिब्र, कोइराला क्याम्पको ऐतिहासिक विरासत धरमरमा