३३ वर्षसम्म पाटन क्याम्पसमा प्राध्यापकको रुपमा शिक्षा क्षेत्रमा सेवा गरेका र नेपाली कांग्रेसमा पञ्चायतकालदेखि विभिन्न तहमा सक्रिय रहँदै आएका प्राध्यापक कुञ्जिलाल यादव शिक्षा सेवाबाट निबृत्त भएपछि अहिले जिल्लाको राजनीतिमा सक्रिय छन ।

उनी यतिवेला सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका छन । लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका उनी आफ्नो योग्यता, आफ्नो समाजप्रतिको योगदान र ठूला पार्टीको चरम अवसरबादी प्रबृत्तिको कारण आफ्नो पक्षमा मतदाता रहेको दावी गर्छ । उनीसँग चुनावी अभियानको क्रममा वर्णमाला दैनिकले गरेको कुराकानीः

शिक्षा क्षेत्रमा लामो समय बिताएपछि राजनीतिक क्षेत्रमा आउनुको कारण ?

म शिक्षा क्षेत्रमा लामो समय विताएर राजनीतिमा आएको होईन । २०३० सालदेखि निरन्तर राजनीति र शिक्षा क्षेत्रमा आफ्नो सक्रियतालाई समानान्तर रुपमा अगाडि बढाउँदै आएको छु ।

मैले आईएसी पठन विराटनगरको महेन्द्र मोरङ कलेज भर्ना भएदेखि नै नेपाल विद्यार्थीसंघमा आवद्ध भएर आफ्नो राजनीतिक जीवन सुरु गरेको हुँ । नेपाल विद्यार्थी संघबाट नेपाल प्राध्यापक संघ, नेपाल प्रजातान्त्रिक प्राध्यापक संघमा मैले निरन्तर रुपमा काम गर्दै आएको थिए ।

सुनसरी जिल्लाको हकमा भन्ने हो भने म २०४६ सालको जनआन्दोलनदेखि केही समयअघिसम्म नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रियतापूर्वक लाग्दै आएको ब्यक्तित्व हुँ । योसँगै नेपाली कांग्रेसको नेतृत्व तहमा, नीति निर्माण तहमा पनि काम गर्दै आएको थिए। तर अहिले म कांग्रेस छाडेर लोकतान्त्रिक समाजवादीबाटबाट सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारको रुपमा राजनीतिमै सक्रिय रहेको छु ।

कांग्रेसमा लामो समय योगदान दिएर अहिले फरक पार्टीबाट उम्मेदवार बन्नु पर्ने स्थिति कसरी बन्यो ?

२०६२÷६३ को जुन जनआन्दोलन भयो त्यसको मुल मर्म थियो पहिचान र समानुपातिक प्रतिनिधित्व । त्यो आन्दोलन सफल भएपछि तुरुन्तै संघीयताको लागि मधेस आन्दोलन सुरु भयो ।

त्यसमा सयौ मधेसी जनताले बलिदान पनि थिए । त्यसले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी ग¥यो । संघीय ब्यवस्थाको मर्म र मान्यता विपरित सुनसरी ४ नम्बर क्षेत्रमा भोजपुरबाट नेपाली कांग्रेसले उम्मेदवार ल्याउने काम ग¥यो ।

पार्टीले एक पटकका लागि भनेकोले हामीले उहाँलाई चुनाव जिताएर पठायौ । तर उहाँको कामले गर्दा हामीलाई निराश बनायौ । १ लाख १२ हजार मतदाता भएको क्षेत्रबाट जितेका ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो स्वकीय सचिवसमेत आफ्नो क्षेत्रबाट भेट्नु भएन, उहाँलाई भेट्न एक दुई जना ठेकदारहरुलाई पकडेपछि मात्रै क्षेत्रका जनताले भेट्न पाउने अवस्था रह्यो ।

तर अहिले फेरि उहाँ नै आउनु भयो , पार्टीले उहाँको नाम एक्लो रुपमा सिफारिस ग¥यो । क्षेत्रको अर्को कुनै नेताको नाम सिफारिससमेत गरिएन । यो संघीयताको मुल्य मान्यता विपरितको काम भयो । मलाई यस विषयले घोच्यो ।

टिकट पाउने नपाउने विषयभन्दा अरुको नाम नै सिफारिस नहुने अवस्था नेपाली कांग्रेस संघीयताप्रति प्रतिबद्धत छैन भन्ने निष्कर्स निकाल्दै यी सबै कुरा जनतामा राख्ने हिसावले म लोकतान्त्रिक समाजबादी पार्टीबाट उम्मेदवार बनेको हुँ ।

लोकतान्त्रिक समाजवादी पार्टी नै रोज्नुको कारण चाँही के नि ?

सामाजिक न्याय र प्रजातन्त्रको लागि खडा भएको नेपाली कांग्रेस थियो । त्यसमा अटाउन नसक्ने स्थितिमा त्यस्तै दर्शनको आधारमा खडा भएका मधेसबादी दलहरु मध्ये महन्थ ठाकुर नेतृत्वको सामाजिक प्रजातन्त्रलाई दर्शन बनाएर हिडेको पार्टी लोसपा भएकोले म त्यहाँ गएको हु।

३३ वर्ष सेवा गरेको शिक्षा क्षेत्र र अहिले सुरु गर्नु भएको सक्रिय राजनीति मध्ये कुन क्षेत्र कठिन ?

दुबै क्षेत्रको काम कठिन छन । विभिन्न क्षेत्रबाट आएका विद्यार्थी, विभिन्न सामाजिक, राजनीतिक, सांस्कृतिक र स्तरपूर्ण चेत भएका विद्यार्थीलाई एउटै कोठामा राखेर समान रुपमा शिक्षा प्रदान गर्ने काम कठिन नै हो । त्यसमा म सफल भएर नै अहिलेको स्थितिमा आईपुगे ।

म जब शिक्षा क्षेत्रबाट सेवानिबृत्त भएपनि समाजसेवा गर्नु पर्छ भनेर आफ्नो क्षेत्रमा आए त्यसबेला महसुस भयो कि समाजसेवा पनि राजनीतिमार्फत नै गर्न सकिने रहेछ । त्यसैले म राजनीतिमा आए ।

एमाले र कांग्रेसको पकडमा रहेको क्षेत्रमा तपाईलाई आफ्नो चुनावी अभियान लिएर जनतामा जान कतिको कठिन स्थिति पाउनु भयो ?

कार्यकर्ताको अलि ठूलो पंक्ति भएकोले कुनै दललाई ठूलो वा सानो पार्टी भनिएको हो । तर वडागत मतदाताको स्थिति हेर्ने हो भने ठूला दलका एउटा वडामा बढीमा तीन देखि पाँच सय कार्यकर्ता हुन्छन । तीन हजार बढी मतदाता भएको वडामा दुई ठूला पार्टीका कार्यकर्ता नै हेर्ने हो भने बढीमा एक हजार जना होलान तर दुई हजार मतदाता कुनै पार्टीमा छैनन ।

अर्थात आम जनताको बहुमत संख्या पार्टीको पक्षमा छैनन त्यही नै निर्णायक मत हो । ति जनताले विकास, समृद्धि रोजगारी जस्ता कुराहरुमा ध्यान दिन्छन । तिनै विषय लिएर म अहिले तिनै बहुमत आम जनतामा गईरहेको छु । त्यसैले पार्टी ठूलो वा सानो हुनुले खासै फरक पार्दैन ।

तपाईले आफ्नो चुनावी अभियानलाई कसरी अगाडि बढाईरहनु भएको छ ?

निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पूर्ण रुपमा पालना गर्दै जनताको घरदैलोमा गएर ब्यक्तिगत रुपमा उनीहरुको कुरा सुन्ने, आफ्नो योजना सुनाउने काम गरिरहेको छु तर ठूला पार्टीहरुले ठूलो भिड जम्मा गरेर चुनावलाई प्रभावित पर्ने गरी प्रलोभनहरु बाडिरहेका छन । निर्वाचन आयोगले त्यस विषयमा ध्यान दिन सकिरहेको छैन । हामीले भन्नु भन्दा पनि आयोगले यस्ता विषयमा आफूलाई गंभिर देखाउनु पर्छ ।

तपाईको जितको आधार के के हुन ?

मेरो जितको आधार आम जनताको विश्वास हो । अहिले जति मेरो प्रतिद्धन्दीको रुपमा चुनावी मैदानमा छन ’em नेपाल सरकारको मन्त्री भईसकेका ब्यक्तित्वहरु हुन । आफूले जिताएर पठाएका प्रतिनिधिहरु मन्त्री बनिसक्दा यो क्षेत्रका जनताको मोबाईलमा नेटवर्क आउँदैन ।

हाम्रो प्रतिनिधि सञ्चारमन्त्री हुनु हुन्छ तर मोवाईलमा नेटवर्क आउँदैन । कस्तो विडम्बनापूर्ण स्थिति छ । अर्को उम्मेदवार पटक पटक मन्त्री भए तर जनताको घरदैलोमा कहिल्यै पुग्दैनन चुनाव बाहेक ।

एउटा टुरिष्ट र अर्को अपरचुनिष्ट ब्यक्तिको रुपमा मसँग चुनावी मैदानमा रहेकोले जनताहरुले उनीहरुलाई यसपटक हटाउँछन । यी दुई खाले प्रबृत्तिको विरुद्धमा सुनसरी ४ का जनताहरु उभिएका छन । त्यसैले जनताहरुले नै मलाई तपाई शिक्षा क्षेत्रको विज्ञ, योग्य, संघीयता र सामाजिक न्यायका लागि निरन्तर लडेको स्थानीय हुनु हुन्छ तपाई आउनुस अवसरबादी र टुरिष्टलाई हटाउनु पर्छ भनेकोले म चुनावी अभियानमा छु । त्यो जनताको भावना नै मेरो जितको आधार हो ।

तपाई एउटा मधेसबादी दलको उम्मेदवार हुनु हुन्छ तर तपाईकै क्षेत्रमा अर्को मधेसबादी दल अर्को दलसँगको गठबन्धनमा छ, मधेसबादी दलहरु नै विभाजित रहेको स्थितिले तपाईलाई कत्तिको सकस छ ?

म गठबन्धनको विरोधी मान्छे हुँ । संसदीय प्रजातान्त्रिक पद्धतिमा दलहरुबीच प्रतिष्पर्घा हुनु पर्छ, गठबन्धन गर्छन भने त्यो पार्टी पद्धतिको देहावसानको स्थिति हो । यसले जनतालाई स्वस्फुर्त रुपमा मतदान गर्ने दर्शनमाथि कुठाराघात गर्छ ।

ठूला दलका ब्यवहारका कारण जनताहरु उनीहरुबाट टाढिन थालेकोले पराजित हुने डरले उनीहरु अहिले गठबन्धन बनाएर जनतालाई भ्रम छर्ने प्रयास गरिरहेका छन । अर्को कुरा हाम्रो पार्टीको नेता पहाडि मुलको शरदसिंह भण्डारी हुनु हुन्छ ।

त्यसैले यो मधेसबादीभन्दा पनि राष्ट्रिय पार्टी हो । त्यस्तै खस आर्यको कोटामा समानुपातिक सूचीमा जति हामीले अवसर दिएका छौ, त्यती सायद अरु दलले पनि दिएका छैनन । यो पार्टीको मान्यता पहिचान, सम्मान र सहभागिता सबैको हुनु पर्छ । राष्ट्रको विकासको लागि सबैको योगदान आवश्यकता महसुस गरेकोले यसलाई मधेसी पार्टी मात्रै भन्न मिल्दैन ।

मधेस आन्दोलनको लिगेसी तपाईहरुसँग छैन त ?

मधेस आन्दोलनबाट स्थापित पार्टी भएकोले त्यो लिगेसीको मतदाताको साथ र समर्थन त छदैछ । तर एमाले र कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रसहित नागरिकका अधिकारको सवालमा च्यूत हुँदै गएकोले उनीहरुको सिद्धान्त निष्ट मतहरु पनि हाम्रो पक्षमा आउने स्थिति छ ।

तपाईलाई नै किन मतदाताले मत दिने ?

मुल कुरा भनेको राष्ट्र र राष्ट्रियता हो । त्यस मान्यतामा म पूर्ण प्रतिबद्ध मान्छे हुँ भन्ने कुरा सबैले बुझ्नु भएको छ । नेपाली जनताले पहिचान खोजे तर त्यो अहिले पनि पुरा हुन सकिरहेको छैन ।

जस्तो नागरिकता, राष्ट्रिय परिचय पत्र पहिचान हो । नागरिकतामा कांग्रेस र एमालेले के के बदमासी गरेभन्ने कुरा सबैको सामु छर्लङ छ । त्यसपछि जातीय, सांस्कृति, क्षेत्रीय र स्थानीय पहिचान कुरामा पनि म प्रतिबद्ध छु ।

राष्ट्रिय पहिचानको कुरा गर्नु हुन्छ भने हिन्दु राष्ट्र नेपालको पहिचान थियो, त्यसलाई षडयन्त्रपूर्ण रुपमा हटाईयो । म हिन्दु राष्ट्रको पहिचानको पक्षमा छु । धर्म कहिल्यै निरपेक्ष हुँदैन, सबैले मान्ने धर्म उनीहरुका लागि सापेक्ष हुन्छ । क्षेत्रीय पहिचानमा प्रदेशको सीमाङ्कन न्योचित छैन यसलाई पुर्नसिमांकन गर्नु पर्छ । सामथ्र्य र पहिचानको आधारमा सिमांकन गर्नु पर्छ ।

सामाजिक पहिचानमा प्रत्येक समाजमा धर्म संस्कृति स्वतन्त्र रुपमा मान्न पाउनु पर्छ । जातीय पहिचानलाई पनि कायम हुनु पर्छ र ब्यक्तिगत पहिचानको पनि सम्मान गर्नु पर्छ । यो मेरो प्रतिबद्धता भएकोले मतदाताहरुले मलाई मत दिनु हुन्छ ।

त्यसको अलावा शिक्षा, स्वास्थ्य र रोजगारीको सवालमा पनि मेरै स्पष्ट भिजन छ । समाजवाद र सर्वहाराको नेतृत्व भन्ने तर उच्च शिक्षालाई निजीकरण गरेर गरीबलाई अवसर नदिई खाडीमा पठाएर राज्यकोषबाट धनीलाई पढाउने काम भईरहेको छ ।

स्थानीय मुद्दाहरुलाई चाँही कसरी अगाडि बढाईरहनु भएको छ ?

स्थानीय रुपमा लौकहीमा एक अर्वको लागतमा सुपरमार्केट बनाईरहेका छन । लौकहीमा सुपरमार्केटले स्थानीयको जीवनमा तात्विक भिन्नता ल्याउँदैन त्यसैले म सुपर मार्केट भवनमा सुपर हस्पिटल बनाएर स्थानीयको स्वास्थ्य सुरक्षाको सवालमा काम गर्ने प्रतिबद्धता लिएर जनतामा गईरहेको छ ।

त्यस्तै कोशी टप्पुमा कायम रहेको मानव र जगंली जनावर बीचको द्धन्दमा पर्यापर्यटनको विकास र सुरक्षाको ब्यवस्था गरेर दुबैलाई आर्थिक उपार्जनको अवसर सृजना गर्ने एजेण्डा लिएर गएको छु । सरकारी विद्यालयको शिक्षा अस्तब्यस्त छ, त्यसलाई स्तरीय बनाउने एजेण्डा लिएर गईरहेको छु । म आफै शिक्षा क्षेत्रमा रहेको ब्यक्ति भएकोले सरकारी विद्यालयबाट गरीबका छोराले स्तरीय शिक्षा पाउने योजना बनाएको छु ।

रोजगारीको लागि एउटा शिक्षा र अर्को कलकारखाना ल्याएर रोजगारको वातावरण सृजना गर्ने योजना ल्याएको छु । सुनसरी खोलालाई विनासको होईन विकासको माध्यमको रुपमा अगाडि बढाउने योजना बनाएको छु ।

परम्पराकै रुपमा सो क्षेत्रमा रहेको जातीय र धार्मिक ध्रुबिकरणको सम्भावना यसपाली कस्तो देख्नु हुन्छ ?

म मतलाई जातीय र धार्मिक रुपमा ध्रुबिकरण गर्ने रणनीतिको म विरोधी हुँ । म यो क्षेत्रका समग्र जनताको हित, भुगोलको हितको हिसावमा काम हुनुपर्छ । विकास र अवसर सबैले समानरुपमा अवसर प्रदान गर्नु पर्छ भन्ने पक्षमा वा समानता र सामाजिक न्यायको सिद्धान्तमा अडिग रहेको ब्यक्ति भएकोले त्यस्तो ध्रुबिरकण र काम दुबैको भण्डाफोर गर्दै जनताको बीचमा जान्छु । यस्तो प्रयासको जनताले विरोध गर्नुपर्छ म आम मतदाताहरुलाई आग्रह गर्दछु ।

तपाईको प्रतिष्पर्घा कुन उम्मेदवारसँग हुने देख्नु भएको छ ?

यसपटकको चुनावमा मेरो प्रतिष्पर्घामा कुनैपनि उम्मेदवारहरु देखेको छुईन । कार्यकर्ताभन्दा स्वतन्त्र मतदाता बढी रहेकोले त्यो बढी मत मेरो पक्षमा रहेकोले मेरो कसैसँग प्रतिष्पर्घा देख्दिन । तर को दोस्रो बन्ने भन्नेमा कांग्रेस र एमालेका उम्मेदवारको बिचमा प्रतिष्पर्घा हुने स्थिति देखिरहेको छु ।

अघिल्लो लेखमाविकास निर्माणका काम बाँकी भएकाले पुनः उम्मेदवार बनेको हुँ ः मेहता
अर्को लेखमासुनसरी ३ का दुई धनाढ्य उम्मेदवारको प्रतिष्पर्घामा गरिब मतदातालाई सकस

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्